‘पूर्णबहादुरको सारङ्गी’ निर्माण कम्पनीको फिल्म नचलाउने संघको निर्णय, आत्तिँदै सेभेन सिजले सच्यायो विज्ञप्ति

‘पूर्णबहादुरको सारङ्गी’ निर्माण कम्पनीको फिल्म नचलाउने संघको निर्णय, आत्तिँदै सेभेन सिजले सच्यायो विज्ञप्ति

काठमाडौँ : फिल्म पूर्णबहादुरको सारङ्गीले एकै दिनमा सबैभन्दा धेरै व्यापार गरेकोदेखि अहिलेसम्मको नेपाली फिल्ममध्ये सबैभन्दा धेरै व्यापार गरेकोसम्म रेकर्ड मात्र राखेन, दर्शकले फिल्मप्रति देखाएको मायालाई ब्ल्याकमेलको रूपमा प्रयोग गर्दै हल सञ्चालक र वितरकसँग पटक-पटक ल्याङ गरिराख्ने रेकर्ड समेत बनायो।

फिल्मको कथा नै चोरेको आरोपको अर्को रेकर्ड त छँदै छ। रेकर्ड नै कायम हुनेगरी उपन्यासकारदेखि सर्ट फिल्म मेकरहुँदै स्क्रिप्ट राइटरसम्मले पूर्णबहादुरको सारङ्गीले आफ्नो कथा चोरेको आरोप लगाएका थिए। तर कानुनी प्रक्रियामा स्क्रिप्ट राइटर मात्रै गए।

रिलिज भएको तीन दिन फिल्मले गतिलो शो पाएको हैन। तर त्यसपछि नेपाली फिल्मले पाएका शोहरुमध्ये सर्वाधिक शो पनि पाएकै हो। कात्तिक १५ गते रिलिज भएको फिल्म निर्बाध हाउस फुल चल्यो। त्यो बिचमा रिलिज भएका अन्य नेपाली फिल्म खुम्चियो। तर उनीहरूले गुनासो गरेनन् हल सञ्चालक र वितरकलाई।

तर जब पुष्पा २ रिलिज भयो पूर्णबहादुरको सारङ्गीको शो सङ्ख्या पनि कटौतीमा पर्यो। त्यसपछि निर्माण कम्पनी सेभेनसिजले विज्ञप्ति नै जारी गरेर सोमबार हलहरूबाट फिल्म उतार्ने धम्की दियो। यस अगाडि निर्माण कम्पनीले केही हलहरूको नाम सार्वजनिक गरेर उनीहरूले व्यापारको नक्कली विवरण दिएको आरोप लगाउँदै ती हलहरूमा फिल्म नलगाउने निर्णय गरेको थियो। त्यसमा पनि विरोधै भएको थियो।

एकाएक शनिवार हलबाट फिल्म उतार्ने निर्णय गरेपछि त्यही फिल्मका वितरक प्रतिवादमा उत्रिँदै हलहरूलाई फिल्म नउतार्न र प्रदर्शन गर्न इमेल पठाए। फिल्म चलाउने र नचलाउने विषयमा सामाजिक सञ्जालमा निर्माता र वितरकको जुहारी नै चल्यो।

फिल्मका निर्मातामध्ये एक विनोद पौडेलले सामाजिक सञ्जालमा जुहारीमा उत्रिएका थिए। अनि फिल्म हल सञ्चालकहरूको छाता सङ्गठन नेपाल चलचित्र सङ्घ नै मैदानमा उत्रिएर ‘हलमा फिल्म चलाउने नचलाउने अधिकार वितरकसँग रहेको भन्दै निर्मातासँग आफूहरूको कुनै कारोबार नहुने उल्लेख मात्र गरेन अब पूर्णबहादुरको सारङ्गी निर्माण गरेको कम्पनीले बनाउने कुनै पनि फिल्म हलमा नचलाउने निर्णय नै सार्वजनिक गर्यो।

सोमबार सङ्घले जारी गरेको विज्ञप्तिमा ‘पूर्ण बहादुरको सारङ्गी’को निर्माण कम्पनी सेभेन सिजले बनाएका कुनै पनि फिल्म रिलिज नगर्ने’ उल्लेख गरेपछि भने निर्माताको चेत खुल्यो।

अनि सेभेन सिजले विज्ञप्ति निकालेर सार्वजनिक रूपमा माफी माग्दै आफ्नो फिल्म प्रदर्शन जारी राख्ने उल्लेख गर्न बाध्य भयो। सोमबार जारी गरेको विज्ञप्तिमा ‘पूर्ण बहादुरको सारङ्गी’लाई आम दर्शक र सिनेमा घरहरूले देखाउनु भएको मायाका लागि आभारी रहेको भन्दै मंसिर २२ को विज्ञप्ति मार्फत जारी सूचनालाई सच्याउँदै चलचित्र प्रदर्शन अधिकार वितरक कम्पनीसँग रहेकोले वितरकहरूसँग छलफल गरी चलचित्रलाई निरन्तर प्रदर्शन गर्ने/गराउने निर्णय भएको उल्लेख गर्यो।

सेभेन सिज आफैँमा वितरक कम्पनी हो। यो कम्पनीले नेपाली फिल्मको विदेशमा वितरण र प्रदर्शनको अधिकार लिएर फिल्म देखाउँदै आएको थियो। उनीहरूले निर्माण गरेको पहिलो फिल्म यही पूर्णबहादुरको सारङ्गी नै हो। नयाँ ब्यानरलाई नपत्याउलान् भनेर उनीहरूले बाँसुरी फिल्मलाई समेत जोडेका थिए।

मंसिर २४, २०८१ सोमबार १७:५२:२३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।