रविको समर्थनमा खुलेर बोले प्रचण्ड, सरकारले अमानवीय र प्रतिशोधपूर्ण व्यवहार गरेको आरोप लगाए
काठमाडौं : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेमाथि सरकारले अमानवीय व्यवहार गरेको भनेका छन्।
प्रचण्डले सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत रविमाथि निरंकुश, अलोकतान्त्रिक, अमानवीय र प्रतिशोधपूर्ण व्यवहार गरिएको दाबी गरे।
'अदालतबाट दोषी ठहर नभएका, अत्यधिक जनमतद्वारा निर्वाचित रास्वपा सभापति माननीय रवि लामिछानेमाथि सरकारले जुन निरंकुश, अलोकतान्त्रिक, अमानवीय र प्रतिशोधपूर्ण व्यवहार गरिरहेको छ, त्यसको निन्दा गर्दछु र त्यसप्रकारको व्यवहार रोक्न गम्भीर आग्रह गर्दछु, उनले लेखेका छन्।
सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा रविमाथि कास्की प्रहरीको हिरासतमा राखेर अनुसन्धान भइरहेको छ।
गएको बुधबार चितवनबाट उनलाई रातारात पोखरा पुर्याएर मानवअधिकार उल्लंघन गरिएको भन्दै रास्वपा नेताहरूले सरकारको आलोचना गरिरहेका छन्। त्यसबारे रास्वपाले माधव अधिकार आयोगकोसमेत ध्यानाकर्षण गराएको छ।
प्रचण्डले यसअघि रविको बारेमा खुलेर बोलेका थिएनन्। रवि पक्राउ पर्दासमेत उनले विरोध गरेनन्। तर, यसपटक भने खुलेर समर्थन गरेका हुन्।
मंसिर २४, २०८१ सोमबार १६:५२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।