गिरीबन्धु टि-स्टेट र देउवाको घर अगाडि बम राखेर आतंक फैल्याए, आफूलाई माओवादीको महासचिव बताउँथे

गिरीबन्धु टि-स्टेट र देउवाको घर अगाडि बम राखेर आतंक फैल्याए, आफूलाई माओवादीको महासचिव बताउँथे

काठमाडौं : भूमिगत रूपमा नेकपा (माओवादी) नामको पार्टी गठन गरी विस्फोटक पदार्थ राखेर चन्दा असुल गर्ने धन्दा चलाएको आरोपमा अमृत सापकोटा ‘गौरव’ पक्राउ परेका छन्। 

विष्फोटक पदार्थ राखेर आतङ्क मच्चाएको अनि चन्दा सङ्कलन गरेको भेटेपछि सापकोटालाई पक्राउ गरिएको पर्साका एसपी कुमोध ढुंगेलले बताए। 

उनले भने, ‘चन्दा उठाउने रसिद र चन्दाको विवरण पनि बरामद गरेका छौं।’

उनले आफूलाई नेकपा (माओवादी)को महासचिव बताउने गरेका छन्। गत भदौ २८ मा झापाको बिर्तामोड-६ स्यालडागीस्थित, गिरीबन्धु टि-स्टेट प्रालिभित्र रहेको शमशेर एण्ड गंगादेवी टि-स्टेटको कम्पाउन्डको पर्खालबाहिर विस्फोट भएको कुकर फेला परेको थियो। 

छत्रबाबु गिरीले सञ्चालन गर्दै आएको सो टि-स्टेटको  कम्पाउन्ड पर्खाल बाहिर माओवादी पूर्वी केन्द्रीय कमाण्डको पर्चा भेटिएको थियो। त्यस घटनामा संलग्न मिक्लाजुङ गाउँपालिका-९ मधुमल्ला घर भएका राजकुमार माझी र कानेपोखरी गाउँपालिका-६ शिवालय घर भएका धिरज माझीलाई झापा प्रहरीले पक्राउ गरेको छ।

तर, त्यस घटनाको मुख्य योजनाकार गौरव भएको खुलेको प्रहरी बताउँछ। 

त्यसैगरी गत भदौ ९ मा धनगढीमा रहेको नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाको निवास शंकास्पद वस्तु फेला परेको थियो। झोला भित्र चिया पकाउने विद्युतीय भाँडो र उक्त भाँडो भित्र माटो भरेर त्यहाँ राखिएको थियो। त्यस घटनामा पनि सापकोटाकै नेतृत्व रहेको प्रहरीको अनुसन्धान निष्कर्ष छ।

गोरखाको छेकम्पार घर भएका ३६ वर्षीय सापकोटा अहिले जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा छन्।  

मंसिर १९, २०८१ बुधबार १८:०६:५४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।