इटहरीबाट नक्कली सुन देखाएर ठगी गर्ने छ जना पक्राउ
मोरङ : जिल्ला प्रहरी कार्यालय मोरङले नक्कली सुन देखाइ ठगी गर्ने छ जनालाई पक्राउ गरेको छ। प्रहरीले नक्कली सुन देखाइ मोरङ, सुनसरी र झापाका विभिन्न १० जनालाई ठगी गर्ने छ जनालाई पक्राउ गरी सार्वजनिक गरेको हो।
झापाको तोपगाछी गाउँपालिका-१ का ५२ वर्षीय अशोक तामाङ, अर्जुनधारा नगरपालिका-११ का ५४ वर्षीय प्रविन तामाङ, हल्दीबारी नगरपालिका-३ बाघडाँडाका ६६ वर्षीय रामबहादुर कन्दङ्गवा, कन्काई नगरपालिकाका-९ का ५९ वर्षीय धकलबहादुर थिङ, भारत पश्चिम बङ्गाल दार्जेलिङ जिल्ला नक्सलबारीका ५१ वर्षीय नारायण गुरुङ, सोही स्थानका ३४ वर्षीय सञ्जय शर्मालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी नारायणप्रसाद चिमरियाले जानकारी दिए।
उनका अनुसार उनीहरूको साथबाट नगद दुई लाख ७२ हजार चार सय ३०, भारतीय रुपैयाँ दुई हजार छ सय ३०, सुनजस्तो देखिने बिस्कुट आठ थान, विभिन्न पहेँलो धातुको तिलहरी चार थान र अन्य सुनका गरगहना बरामद भएको छ।
आरोपीहरूलाई प्रदेश प्रहरी कार्यालयको प्रादेशिक अनुसन्धान समूह, मोरङ र सुनसरी प्रहरीको सहयोगमा सुनसरीस्थित इटहरीको विभिन्न स्थानबाट पक्राउ गरिएको हो।
मंसिर १८, २०८१ मंगलबार १६:१८:३३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।