सराफी सहकारीका अध्यक्षद्वारा शेयर सदस्यबाट लिएको सेवा शुल्क श्रीमतीको नाममा जम्मा, यसरी गरिन्थ्यो ऋणीमाथि नै ठगी

सराफी सहकारीका अध्यक्षद्वारा शेयर सदस्यबाट लिएको सेवा शुल्क श्रीमतीको नाममा जम्मा, यसरी गरिन्थ्यो ऋणीमाथि नै ठगी

काठमाडौं : काठमाडौं महानगरपालिका-१४ कुलेश्वरमा रहेको सराफी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्षले ऋणीबाट लिएको सेवा शुल्कको रकम आफ्नी श्रीमतीको नाममा बचत गर्ने गरेको खुलेको छ।

सहकारीबाट कारोबार गर्नेले ०.२५ प्रतिशत सेवा शुल्क बुझाउनुपर्ने भए पनि १ प्रतिशत लिएको पाइएको छ भने सेवा शुल्कको रूपमा लिएको रकम गैरकानूनी रूपमा व्यक्तिको खातामा जम्मा गरेको देखिएको छ। सहकारी ऐनको दफा ३ अनुसार सो पैसा सहकारीको हुन्छ, व्यक्तिको हुँदैन।

तर, अध्यक्ष प्रभातकुमार श्रेष्ठले श्रीमती शान्ति प्रधानको नाममा ऋणीको खाताबाट ऋण प्रवाह गरे पश्चात सेवा शुल्क बापत आउने १ प्रतिशत भन्दा बढी रकम जम्मा गरेको पाइएको काठमाडौं महानगरपालिकाले गरेको अनुगमनमा भेटिएको हो।

त्यसैगरी सहकारीले सदस्य भगवती बस्नेतको १२ लाखको कर्जा रकमलाई ब्याज पुँजीकरण गरी विभिन्न शिर्षकमा रकम लिएर १६ लाख १४ हजार ५ सयको कर्जा फाइल बनाएको भेटिएको छ। जसमा पुरानो कर्जा चुक्ता गर्न १२ लाख, पुरानो कर्जाको ब्याज चुक्ता गर्न १ लाख ८५ हजार ४ सय ७१, नयाँ कर्जाको सेवा शुल्कबापत १६ हजार १ सय ४५ र ३५ दिने सूचना लागि ११ हजार ७ सय ३९ रुपैयाँ असुल गरेको देखिन्छ।

यसरी असुल गरिएको रकम भने अध्यक्ष श्रेष्ठले श्रीमतीको नाममा जम्मा गरेका छन्। उनले श्रीमतीको नाममा पहिलो पटक एक लाख ७६ हजार ९ सय २६, दोस्रोपटक २४ हजार २ सय १७ रुपैयाँ पठाएर बस्नेतको नयाँ कर्जा १६ लाख १४ हजार पाँच सय रुपैयाँ बनाएको खुलेको हो। सहकारी ऐनअनुसार ऋणीसँग गैरकानूनी रूपमा लिएको अवैध शुल्क फिर्ता गर्नुपर्छ।

विना धितो ऋण प्रवाह
सराफी सहकारीले विना धितो र क्षमता भन्दा बढी ऋण प्रवाह गरेको भेटिएको छ। १० लाख भन्दा माथिको कर्जा प्रवाहमा अनिवार्य धितो राख्नुपर्नेमा कल्पना राजभण्डारीलाई ३८ लाख ६२ हजार ऋण प्रवाह रकम प्रवाह हुँदा सेवा शुल्क र धितो समेत नराखिएको देखिएको प्रतिवेदनमा उल्लेख छ।

त्यस्तै अपूर्व कुमार श्रेष्ठको नाममा पनि विना धितो ३८ लाख रुपैयाँ कर्जा प्रवाह भएको देखिन्छ। धितो राखेर ऋण प्रवाह गरिएकाहरूको पनि सम्पत्तिको उचित मूल्याङ्कन नगरिएको महानगरको प्रतिवेदनमा उल्लेख छ।

जति कर्जा लिएको हो सो भन्दा बढी देखाउनेलाई लेखाको भाषामा पुँजीकृत गरेको भनिन्छ। सराफी सहकारीले तीन जनाको रकम थपेर (पुँजीकृत) गरेको देखिएको छ। जसमा बसन्ती पण्डितको १७ लाखको कर्जालाई २१ लाख, बाबुराजा महर्जनको तीन लाखको कर्जालाई तीन लाख २१ हजार र भगवती बस्नेतको १५ लाखको कर्जामा ब्याज पुँजीकृत गरी नयाँ कर्जा फाइल बनाएर १६ लाख १४ हजार बनाएको देखिन्छ।

अन्य सहकारी जस्तै सराफी सहकारीले पनि शून्य ब्याजदरमा कर्जा लगानी गरेको पाइएको छ । सुनिल प्रधान, सरिता मानन्धर, अन्जुला  श्रेष्ठ, निलरत्न शाक्य, पेरु पचाई, सुनिला प्रधान, विश्वनारायण डंगोल र महेन्द्रलाल प्रधान गरी आठ जनाले २० लाख ५९ हजार ५ सय ६९ रुपैयाँ विना ब्याज ऋण लिएको देखिन्छ।

ब्याजदरभन्दा बढी ब्याज असुलियो
ब्याजदर एकथरी तोकेर सोभन्दा बढी रकम असुल्नु भनेको ऋणीलाई सरासर ठग्नु हो। सराफी सहकारीले १६ जना ऋणीबाट ब्याजदरभन्दा बढी ब्याज असुलेर ठगी गरेको देखिन्छ।

महाप्रसाद पण्डित र बसन्ती पण्डितसँग २१ लाख, मनोज बहादुर कार्कीसँग दुई लाख ८ सय ९४, अन्जु भण्डारीसँग ४० हजार ६ सय ६८, सोजी अमात्यसँग २ लाख ९० हजार, विष्णु महर्जनसँग २ लाख ९२ हजार, भगवती बस्नेतसँग १६ लाख १४ हजार ५ सय, निरन्जन तुलाधारसँग आठ लाख २७ हजार रकम असुलेको प्रतिवेदनमा उल्लेख छ।

यसका अलवा सम्भु गाहासँग ४ लाख ८८ हजार, राम चन्द्र महर्जनसँग १ लाख ९२ हजार, श्री कृष्ण गोपालीसँग ४ लाख ३४ हजार, कृष्ण सापकोटासँग ९४ हजार १ सय १५, विशाल मलहोत्रासँग ६९ हजार ४ सय ९६, अपूर्वा कुमार श्रेष्ठसँग ३८ लाख, रवि कुमार गुप्त रौनियारसँग ९ लाख १८ हजार ९ सय ६३ अनि कल्पना राजभण्डारीले ३८ लाख ६२ हजार गरी १ करोड ५४ लाख २१ हजार ५ सय २६ रुपैँया असुली गरेको पाइएको हो।

महानगरको अनुगमनपछि तयार पारेको प्रतिवेदनको पूर्णपाठ:-

यति मात्र होइन, सराफी सहकारीले सहकारी विभागमा २०६५ सालमा दर्ता भएपनि नियमित रूपमा प्रतिवेदन भने नबुझाएको पाइएको छ। संस्थाको शेयर पुँजी ६२ लाख ४५ हजार रहेको सहकारीको १ करोड ९९ लाख १९ हजार ३ सय २८ रुपैयाँ बचत दायित्व देखिएको छ भने सञ्चित घाटा ६१ लाख २४ हजार ५ सय ६८ रुपैयाँ देखिन्छ।

सहकारीले १ करोड ९८ लाख ५७ हजार २ सय ५८ रुपैयाँ ऋण लगानी गरेको छ। भाखा ननाघेको ऋणको रकम एक करोड ३० लाख ७२ हजार ५ सय ४६ रुपैयाँ छ भने भाखा नाघेको ऋण ५८ लाख ९६ हजार ३ सय २४ रुपैयाँ देखिन्छ।

महानगरले ऐन विपरीत चलेका सहकारीलाई ऐन अनुसार ल्याउन सकिने भए कोसिस गर्ने र नसके थप अनुसन्धान गर्नुपर्ने सुझाव दिएको छ।

सम्बन्धित समाचार:-

मंसिर १४, २०८१ शुक्रबार ०८:२८:४४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।