यलुङ सहकारीको बदमासी : कृत्रिम निकायलाई शेयरधनी, बचतभन्दा ५६ लाख बढी ऋण प्रवाह

यलुङ सहकारीको बदमासी : कृत्रिम निकायलाई शेयरधनी, बचतभन्दा ५६ लाख बढी ऋण प्रवाह

काठमाडौं : काठमाडौं महानगरपालिका-६ बौद्धस्थित रामहिटीमा रहेको यलुङ बचत तथा ऋण सहकारीले पनि पर्यटक व्यवसायी विकास बचत तथा ऋण सहकारी संस्थाले जसैगरी कृत्रिम व्यक्ति तथा निकायलाई सदस्य बनाएको खुलेको छ।

सहकारी ऐन २०७४ को दफा २० बमोजिम १६ वर्ष उमेर पुगेका नेपाली नागरिक, नेपाल सरकार, प्रदेश सरकारका निकायहरू, स्थानीय सरकारका निकायहरू, साथै विद्यालय, गुथि, स्थानीय क्लब, उपभोक्ता समितिहरू सहकारीको सदस्य बनाउन सकिन्छ तर कृत्रिम निकाय खडा गरी सहकारीको शेयर सदस्य बनाउन पाइँदैन।

ऐन विपरीत कृत्रिम सदस्य बन्नेमा हाइ नेपाल प्रालि र एस निर्माण व्यवसायी एण्ड सप्लायर्स रहेको देखिएको हो। यी सदस्यहरूसँग सहकारीले कारोबार गरिरहेको काठमाडौं महानगरपालिकाले गरेको अनुगमनमा भेटिएको हो।

अनुगमनमा सहकारीले सहकारीले कार्यक्षेत्र भन्दा बाहिर रहेका व्यक्ति तथा संस्थासँग कारोबार गरेको पाइएको हो।

पूर्व कोषाध्यक्ष र व्यवस्थापक मिलेर रकम अपचलन
सहकारीमा संस्थापक तथा साधरण सदस्य गरी दुई प्रकारले सदस्य बनाइ कारोबार गरेको देखिएको छ। शेयर सदस्य करिव १ हजार ६ सयको आसपासमा हुँदा हुँदै २०८० साल कार्तिक २२ गते बसेको वार्षिक साधरण सभाले कुल सेयर सदस्य १ सय ९९ मानि १ सय ७७ शेयर सदस्य मात्रै उपस्थित रहेको निर्णय देखाएको थियो।

आर्थिक वर्ष २०७८/७९ मा समेत यही प्रक्रियाबाट साधारणसभा गरेको हुँदा सभा संस्थाको वैधानिकता पनि महानगरले प्रश्न उठाएको छ। त्यस्तै सहकारीले सहकारी नियामावली २०७५ को दफा २७ बमोजिम घाटा पूर्ति कोष तथा सामुदायिक विकास कोषमा ५ प्रतिशतका दरले रकम छुट्याउनुपर्नेमा सहकारीले छुट्याएको देखिएको छैन।

बदमासी यतिमा मात्र रोकिँदैन। यलुङ सहकारीका कोषाध्यक्ष कर्मा शेर्पा तथा व्यवस्थापक दिपिका थापाले १ करोड २३ लाख ४२ हजार ६ सय २० रुपैयाँ रकम अपचलन गरेको खुलेको छ। जसमा शेर्पाले ३६ लाख ११ हजार १ सय २४ अनि दिपिका थापाले ४५ लाख ५३ हजार ४ सय ७८ रुपैयाँको कर्जा बनाइ रकम अपचलन गरेका हुन्। अवैध तरिकाले कर्जा बनाएको लाइ महानगरले गम्भीर रूपमा लिएको छ।

कर्जा बनाइ दुरूपयोग सम्बन्धी कसुर अन्तर्गत मुद्दा गरी असुरउपर गर्नुपर्ने प्रतिवेदनमा उल्लेख छ। उनीहरूले हालसम्म कर्जा नतिरेपछि उनीहरूविरुद्ध सञ्चालक समितिले काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता समेत भएको छ। संस्थाले अपुष्ट बचत शिर्षकमा १ करोड ९ लाख ३५ हजार ६ सय ७६ रुपैयाँ हिसाब राखी मिलान गरेको देखिएको छ।

गैरकानूनी रुपमा ऋण प्रवाह
२०७९ सालमा जारी गरेको सहकारी निर्देशिका बमोजिम पुँजीकोषको १० प्रतिशत भन्दा बढि कर्जा प्रवाह गर्न पाइँदैन। तर, यलुङ सहकारीले पुँजीकोषको १० प्रतिशत भन्दा बढी कर्जा असुल गरेको देखिएको छ। साथै ऋणीहरूलाई ब्याजदर पनि एकैनास देखिँदैन।

व्यवस्थापक दिपिका मगरलाई ४ लाख ८७ हजार रकममा १४. ७५ प्रतिशत र बिनिता लामालाई २४ लाख ७१ हजार ७ सय २९ रुपैयाँको लागि १४.७५ प्रतिशत ब्याज लिएको देखिएको छ। तर, दिपिकाको ४५ लाख ५३ हजार ४८७ रुपैयाँ ऋणमा भने १६ प्रतिशत नै ब्याज लिएको देखिन्छ।

१० प्रतिशत भन्दा बढि गैरकानूनी रूपमा कर्जा लिनेहरूमा कर्मा शेर्पा, लालमाया तामाङ र पेमादिकी शेर्पा रहेका छन्। उनीहरूले क्रमश: ३६ लाख  ११ हजार १ सय २४ रुपैयाँ, २५ लाख ६९ हजार ५ सय १५ रुपैयाँ र ३४ लाख ९७ हजार १ सय ३१ रुपैयाँ ऋण लिएको देखिन्छ।

पेमादिकी शेर्पाले दोस्रोपटक ३४ लाख ८८ हजार ६ सय १० रुपैयाँ ऋण लिएको देखिन्छ। त्यसैगरी भुपे दमैले पनि पहिलो पटक २४ लाख ९८ हजार ३ सय ९७ दोस्रो पटक ३४ लाख रुपैयाँ ऋण लिएको देखिन्छ।

त्यस्तै काले तामाङले २४ लाख, पासाङ शेर्पाले ३३ लाख ७१ हजार ६ सय १६, श्याम कृष्ण श्रेष्ठले २३ लाख ५६ हजार ४ सय ७४, चित्रकुमारी दमैले ३२ लाख ६६ हजार ८ सय ९४ रुपैयाँ ऋण लिएका छन्। यसरी गैरकानूनी रूपमा लगानी भएको रकम ३ करोड ७५ लाख ७२ हजार ९ सय ४५ रुपैयाँ छ।

सहकारीले ऋणीलाई पनि बदमासी गरेको देखिन्छ। लालमाया तामाङले लिएको ऋण रकम २५ लाख ६९ हजार ५ सय १५ हो। तर, २४ लाख कर्जामा पुँजीकृत गरी कर्जा बनाएको देखिन्छ। यो भनेको बक्यौता ब्याज रकमको अर्को कर्जा बनाइ वा पुरानो कर्जामा नै बख्यौता ब्याज बराबरको रकम थप गरिएको हो। सहकारी ऐन अनुसार ब्याज पुँजीकरण गर्न पाइँदैन।

त्यस्तै सहकारीको सदस्य बनेको तीन महिना पूरा नभइ ऋण प्रवाह गर्न  पाइँदैन। यलुङ सहकारीका सात सदस्यहरू कान्छी लामा, कमल ज्ञवाली, शवित्रा राई, सारदा लामा, फूलमाया लामा, भामेश्वर बुढाथोकी र भुपे दमै सहकारीको सदस्य बनेको तीन महिना पनि पूरा नभई ७४ लाख १६ हजार ८ सय ६१ रुपैयाँ ऋण प्रवाह भएको देखिन्छ।

महानगरको अनुगमनपछि तयार पारेको प्रतिवेदन:-

कर्जा प्रवाहको अर्को विकृत रूप शून्य ब्याजदरमा २०७३ सालमा नै आठ जनालाई ऋण प्रवाह गर्नु हो। सो समयमा नरबहादुर जिरेललाई ५५ हजार, घनश्याम चुडारीलाई ६४ हजार ८ सय, राजन कुमार गुप्तालाई ७३ हजार ५ सय ५९, प्रविणमान श्रेष्ठलाई १ लाख ८१ हजार, कृष्ण कुमार राउतलाई १ लाख २५ हजार, निशा श्रेष्ठलाई ९७ हजार, बमबहादुर दर्जीलाई ७९ हजार, मिठु नगरकोटीलाई २७ हजार, लालमोती तामाङलाई १ लाख ५१ हजार र सिर्जना लामालाई १ लाख २० हजार गरी ९ लाख ७७ हजार ऋण प्रवाह गरेको देखिन्छ।

केही ऋणीलाई ब्याज नै नलिएको सहकरीले पाँच जनालाई भने बढी ब्याजदर लगाएको देखिन्छ। ठूलो रकमलाई ब्याजदर नै नलिएको सहकारीले सानो ऋणीलाई भने १७ देखि १८ प्रतिशतसम्म ब्याज लिएका छन्। अलिना मोक्तान, विजय लाल थापा, दिपिका शेर्पा, उर्मिला तामाङ र कुमार सिंह गरी ५ जनालाई १ लाख ६९ हजार ९ सय ७७ रुपैयाँ ऋण प्रवाह गर्दा चर्को ब्याज लिएको देखिएको हो।

सहकारी ऐन अनुसार साधारण सभाको निर्णयपछि मात्रै ऋणीलाई ब्याज तथा हर्जना छुट गर्नुपर्नेमा साधारण सभा नै नगरी ५ लाख ३२ हजार ब्याज तथा हर्जना छुट समेत देखिएको छ। सहकारीले कर्जा नोक्सानीको राम्रोसँग हिसाबकिताब नै राखेको  छैन भने नियम विपरीत सेवा शुल्क लिने गरेको पनि देखिएको हो।

धान्न सक्ने भन्दा बढी कारोबार
काठमाडौं महानगरपालिका-६, बौद्धमा रहेको सहकारीका पूर्व अध्यक्ष पेमा शेर्पा थिए भने हाल छिरि ओङ्दी शेर्पा रहेका छन्। जम्मा शेयरपुँजी १ करोड  ४१ लाख ९६ हजार रुपैयाँ रहेको सहकारीको बचत १० करोड ४ लाख ४८ हजार देखिन्छ भने ऋण लगानी १० करोड ५० लाख भएको छ।

सहकारीले समयमै ऋण समेत उठाउन सकेको देखिँदैन। १२ महिना भाखा नाघेको ऋण २ करोड ३५ लाख ५७ हजार रहेको देखिन्छ। संस्थाको सम्पत्ति भने १२ करोड ८० लाख ६१ हजार बराबरको देखिन्छ।

अन्य सहकारीले जस्तै यो सहकारीले पनि कर्जा लगानी गर्दा धितो मूल्याङ्कन नै नगरी प्रवाह गरेको देखिन्छ। सहकारीले क्षमता भन्दा बढी लगानी गरेको, रकम सुरक्षा गर्न कुनै गम्भिरता नदेखिएको महानगरको प्रतिवेदनमा उल्लेख छ।

सम्बन्धित समाचार:-

मंसिर १२, २०८१ बुधबार १०:१४:१६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।