एनपीएल टिम परिचय : पाँच विदेशी खेलाडी समेटेर समग्र मधेशलाई प्रतिनिधित्व गर्दै आशिफको जनकपुर

एनपीएल टिम परिचय : पाँच विदेशी खेलाडी समेटेर समग्र मधेशलाई प्रतिनिधित्व गर्दै आशिफको जनकपुर

काठमाडौं : नेपाल क्रिकेट संघ (क्यान)ले आयोजना गर्न लागेको ‘सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग’ हुने मिति नजिकिँदै छ। मंसिर १५ गतेदेखि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने प्रतियोगितामा सहभागी टोलीहरूबारे उकेराले नियमित रूपमा जानकारी गराइरहेको छ।

यसअघि कर्णाली याक्स, विराटनगर किंग्स, सुदूरपश्चिम रोयल्स, चितवन राइनोज र लुम्बिनी लाइन्सबारे जानकारी गराइसकेका आज हामी तपाईंहरूलाई जनकपुर बोल्ट्सबारे जानकारी दिनेछौँ।

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिगका टिमहरूमध्ये कर्णाली, विराटनगर, सदूरपश्चिम,चितवन र लुम्बिनीपछिको बढी मूल्य तिर्ने टिम हो जनकपुर बोल्ट्स। ड्रिम्स स्पोर्ट्स प्रालिका उत्सव सिग्देलले टिमलाई दुई करोड पाँच लाख रुपैयाँमा खरिद गरेका हुन्।

मार्की खेलाडीको रूपमा राष्ट्रिय टोलीका विकेटकिपर आशिफ शेख पाएको टोलीले मुख्य प्रशिक्षकमा नन्दन पुबुदु दासानायके नियुक्त गरिसकेको छ। पुबुदु नेपाली राष्ट्रिय टोलीका पूर्वप्रशिक्षक समेत हुन्।

यसका अलावा टोलीले डिरेक्टर अफ क्रिकेटमा बरदान चालिसे र प्रशिक्षकमा मनोज कटुवाललई नियुक्त गरेको छ।

हालै सम्पन्न अमेरिका र स्कटल्यान्डविरुद्धको विश्वकप लिग-२ का खेलहरूमा पुबुदुले नेपाली राष्ट्रिय टोलीको मेन्टरको रूपमा काम गरेका थिए।

टोलीले आफ्ना लागि अक्सनमार्फत १० खेलाडी छनोट गरेको थियो। अक्सनबाट टोलीले स्पिनर ललित नारायण राजवंशी र विकेटकिपर ब्याट्सम्यान अनिल कुमार शाहलाई समान १५-१५ लाख रुपैयाँमा खरिद गर्यो।

यसका अलावा टोलीले मिडियम पेश बलर किशोर महतो, यू१९ टोलीका ब्याटर आकाश त्रिपाठी र अर्का खेलाडी रुपेश कुमार सिंहलाई १०-१० लाख रुपैयाँमा टोलीमा समेट्यो।

त्यसैगरी शुभ कंशाकार, शेर मल्ल र हेमन्त धामीलाई समान पाँच-पाँच लाख रुपैयाँमा टोलीमा भित्र्याएको टोलीले अरनिको प्रसाद यादवलाई साढे दुई लाख र तुल बहादुर थापा मगरलाई दुई लाख रुपैयाँमा किन्यो।

टोलीले न्युजिल्यान्डका अलराउन्डर जिम्मी निसम, पाकिस्तानका सोहैब मक्सुद र मोहम्मद माहसिन तथा अमेरिकाका जोसुवा ट्रोम्प र लाहिरी मिलान्था गरी पाँच विदेशी खेलाडीहरूलाई भित्र्याएको छ। न्युजिल्यान्डका निसम जनकपुरका चर्चित विदेशी खेलाडी हुन्।

नेपाली १९ वर्षमुनिको महिला टोलीकी कप्तान पूजा महतोलाई ब्रान्ड एम्बेसडरका रूपमा नियुक्त गरेको टोलीले जनकपुरमै एक कार्यक्रमका बीच आफ्नो जर्सी सार्वजनिक गरेको थियो। निलो, गुलाबी र पहेँलो रङ मिसिएको जर्सी निक्कै आकर्षक देखिन्छ।

जनकपुर र वीरगञ्जमा भएको  ट्यालेन्ट हन्टमार्फत ओमकार यादव, विशाल सुस्लिन, सिमोन रोय र नवीन यादवलाई छनोट गरेको छ। यीमध्ये एक जनाले टिमको आइकनिक प्लेयर भएर लिग खेल्ने मौका पाउनेछन्।

त्यसबाहेक टोलीले आफ्नो एजुकेशन पार्टनरको रूपमा हेटौंडा स्कुल अफ म्यानेजमेन्टसँग सम्झाैता गरेको छ।

सामाजिक सञ्जालमा पछ्याउनेहरूको कुरा गर्ने हो भने जनकपुर टीम मध्यममा पर्छ। टोलीको फेसबुकमा ४० हजार, एक्समा एक हजार एक सय, इस्टाग्राममा नौ हजार आठ सय र टिकटकमा १३ हजार फलोअर्स छन्।

एनपीएलका लागि नेपाल क्रिकेट संघ(क्यान)ले सिद्धार्थ बैंकलाई मुख्य प्रायोजकको रूपमा अनुबन्ध गरिसकेको छ भने एनसेल यसको ‘पावर्ड बाइ’ साझेदारको रूपमा अगाडि आइसकेको छ। साथै यसको टिकेटिङ पार्टनरको रूपमा खल्तीसँग क्यानले सम्झौता गरेको छ।

प्रतियोगिताकै लागि भनेर त्रिवि क्रिकेट मैदानलाई स्तरोन्नति गरिएको छ। यसको बाउन्ड्री बढाइएको छ भने दर्शकलाई जोन अनुसार बस्ने व्यवस्था मिलाएर अस्थायी रूपमा खानेपानी र शौचालयको व्यवस्था मिलाएको छ।

यसको अलावा क्यानले बढी मूल्य तिरेर राम्रैसँग खेल हेर्छु भन्ने दर्शकका लागि भीआईपी र भीभीआईपी सिटको समेत व्यवस्था गरेको छ। जसका लागि त्रिवि क्रिकेट मैदानमा अस्थायी प्याराफिट बनाएर त्यहाँ कुर्सीहरू राख्ने क्रम जारी छ।

प्रतियोगिताका सबै खेलहरू भारतीय चर्चित च्यानल स्टार स्पोट्र्सबाट प्रत्यक्ष प्रसारण हुनेछ। क्यानले प्रधानमन्त्रीमार्फत प्रतियोगिताको ट्रफी समेत अनावरण गरिसकेका छन्।

एनपीएल टिम परिचय:-

मंसिर १०, २०८१ सोमबार ११:३०:५६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।