५ युवतीलाई वैदेशिक रोजगारीमा पठाउने बहानामा भारत पुर्याई बेच्न खोजेका थिए, बस चढ्नै लाग्दा पक्राउ परे

५ युवतीलाई वैदेशिक रोजगारीमा पठाउने बहानामा भारत पुर्याई बेच्न खोजेका थिए, बस चढ्नै लाग्दा पक्राउ परे

चितवन : मानव बेचबिखनको आरोपमा जिल्ला प्रहरी कार्यालय चितवनले एक जनालाई पक्राउ गरेको छ। 

पाँच जना युवतीलाई वैदेशिक रोजगारीमा पठाइदिन्छु भनी भारत पठाउन लागेको अवस्थामा प्रहरीले मकवानपुरको हेटौंडा उपमहानगरपालिका-१४ का ४४ वर्षीय राजु तामाङ भनिने राजकुमार थिङलाई पक्राउ गरेको हो।
 
जिल्ला प्रहरी कार्यालयले उनलाई नारायणगढबाट बुधबार पक्राउ गरी शुक्रबार सार्वजनिक गरेको कार्यालयका प्रमुख गौतम मिश्रले जानकारी दिए। 

उनका अनुसार विभिन्न स्थानका युवतीहरूलाई नारायणगढमा भेला पारी सुनौली जाने बसमा चढाउन लागेको अवस्थामा थिङ्लाई पक्राउ गरिएको हो।
 
एसपी मिश्रले भने, 'थिङले युवतीहरूको पासपोर्ट सङ्कलन गरी भिसा लगाउनका लागि भारत पठाउन लागिएको थियो। भारतबाटै विदेश जानुपर्छ भनी युवतीहरूलाई लैजान लागेको सूचना पाएपछि पक्राउ गरिएको हो।'

उनका अनुसार मानव बेचबिखनको यो नयाँ स्वरूप भएको हो। थिङको नियत खराब भएको थाहा पाएपछि युवतीहरूले आफन्तमार्फत प्रहरीलाई खबर गरेका थिए।

थिङलाई मानव बेचबिखन तथा ओसारपसार मुद्दामा जिल्ला अदालत चितवनबाट चार दिनको म्याद थप गरी थप अनुसन्धान सुरू गरिएको र युवतीहरूको संरक्षणका लागि सुरक्षित गृहमा पठाइएको एसपी मिश्रले बताए।

मंसिर ८, २०८१ शनिबार १४:४०:०९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।