पर्यटक सहकारीका पूर्व अध्यक्षद्वारा श्रीमतीलाई विना धितो र छोरा-बुहारीलाई नियम विपरीत ऋण, तिरेका छैनन् कसैले

पर्यटक सहकारीका पूर्व अध्यक्षद्वारा श्रीमतीलाई विना धितो र छोरा-बुहारीलाई नियम विपरीत ऋण, तिरेका छैनन् कसैले

काठमाडौं : काठमाडौं महानगरपालिका-१ मा रहेको पर्यटक व्यवसायी विकास बचत तथा ऋण सहकारी संस्थाले कृत्रिम व्यक्ति तथा निकायलाई सदस्य बनाएको खुलेको छ। महानगरपालिकाले अनुगमन गरेर तयार बनाएको प्रतिवेदन अनुसार सहकारीले कृत्रिम सदस्य बनाएको खुलेको हो।

सहकारी ऐन २०७४ को दफा २० बमोजिम १६ वर्ष उमेर पुगेका नेपाली नागरिक, नेपाल सरकार, प्रदेश सरकारका निकायहरू, स्थानीय सरकारका निकायहरू, साथै विद्यालय, गुथि, स्थानीय क्लब, उपभोक्ता समितिहरू सहकारीको सदस्य बन्न सक्ने उल्लेख छ। तर पर्यटक सहकारीले कृत्रिम निकायलाई सहकारीको सदस्य बनाएको खुलेको हो।

कृत्रिम सदस्य बन्नेहरूमा काठमाडौं ग्रिल रेस्टुरेन्ट प्रालि, ओलिभ गार्डेन बुटिक, बिउल्डर्स बाराही, हेल्पफुल भेइकल सर्भिस प्रालि, ड्राइभ एडभेन्चर प्रालि, बज्र टुर सर्भिसेस प्रालि, नेपाल प्राइभेट टुरिस्ट भेइकल एसोसिएसन र आदित्य अग्रवाल केडिया सिद्धिमेटल छन्।

शून्य प्रतिशत ब्याजमा कर्जा प्रवाह
कुनै पनि वित्तीय संस्थामा बचतकर्ताले ठूलो भरोसाले रकम जम्मा गरेका हुन्छन्। वित्तीय संस्थाले बचतकर्ताको रकम  ऋण अथवा कम्पनीको प्रकृति हेरेर लगानी नै गरेर आम्दानी गर्ने हो। शून्य प्रतिशत ब्याजदरमा ऋण दिन पाइँदैन। तर, पर्यटक सहकारीले शून्य प्रतिशतमा रकम जम्मा गरेको खुलेको छ।

उकेरालाई प्राप्त प्रतिवेदन अनुसार हर्षमानंद बज्राचार्यले विना ब्याज पाँच लाख ऋण लिएका हुन्। उनले हालसम्म सो ऋण तिरेका छैनन्। प्रतिवेदन अनुसार उनले ४ लाख ७६  हजार ६ सय ९५ रुपैयाँ ऋण तिर्नै बाँकी छ।

प्रतिवेदनमा उल्लेख भएअनुसार सहकारी संघसंस्था सुशासन प्रवर्द्धनका लागि एकीकृत निर्देशिका २०७९ को बुँदा १८ अनुसार तत्काल कायम रहेको पुँजी कोषको अधिकतम १० प्रतिशत नबढ्ने गरिमात्रै प्रति सदस्य कर्जा लिनुपर्छ। तर यहाँ १० प्रतिशत भन्दा बढी हुने गरी कर्जा लिएको पाइएको छ।

त्यस्तै सहकारी ऐन विपरीत अध्यक्ष रामशरण कार्कीले १६ प्रतिशत ब्याजदरमा २८ लाख ८० हजार ३ सय ४२ रुपैयाँ ऋण लिएको खुलेको  छ। जबकी शेयर पुँजी अनुगमन गर्दाको बखत नै १ करोड २० लाख २७ हजार ८ सय थियो। यो हिसाब अनुसार उनले १२ लाख २ हजार ७ सय ८० रुपैयाँ मात्रै लिनुपर्ने भए पनि त्यसको दोब्बरभन्दा बढी रकम ऋण लिएका हुन्।

यसैगरी सैली कार्कीले १७ लाख २४ हजार ६ सय ६३ रुपैयाँ, इजी टुर सर्भिसेसले १८ लाख ५४ हजार ७ सय ७१ रुपैयाँ, एक्टिभ हिमालय टुर सर्भिसेसले १९ लाख २८ हजार १ सय ७८ रुपैयाँ र दिपक कुमार थापाले २० लाख रुपैयाँ ऋण नियम विपरीत लिएको देखिन्छ। सैली कार्की सहकारी संस्थाकी पूर्व अध्यक्ष रामशरण कार्कीकी श्रीमती हुन्। उनलाई विना धितो ऋण दिएको देखिएको छ।

अध्यक्षको परिवारलाई २६ प्रतिशत ऋण
सहकारीको सदस्य भएको खण्डमा नियम अनुसार जसले पनि ऋण झिक्न र तिर्न पाउँछ। तर, आफैँ अध्यक्ष रहेको संस्थामा विना धितो ऋण श्रीमतीलाई दिन र भाखा नाघिसक्दा समेत ऋण नतिर्न भने पाइँदैन।

तर, पर्यटक सहकारीका पूर्व अध्यक्ष रामशरण कार्कीले भने श्रीमती सैली कार्कीलाई झण्डै १८ लाख ऋण बिना धितो त दिएका छन् नै छोरा पर्वत कार्कीलाई २ लाख ५२ हजार ५ सय २३ रुपैयाँ ऋण बुहारीलाई एक लाख ५० हजार रुपैयाँ ऋण प्रवाह गरेको देखिन्छ।

उनीहरूको परिवारको भाखा नाघेको ऋण मात्रै ५० लाख ३५ हजार २ सय २६ रुपैयाँ देखिएको छ। उनीहरूले अहिलेसम्म यो ऋण तिरेका छैनन्।

पर्यटक सहकारीको बदमासी यतिमै रोकिँदैन, सहकारी ऐन अनुसार सेवा शुल्क एक प्रतिशत र नविकरण शुल्क ०.२५ प्रतिशत मात्रै लिनुपर्नेमा कर्जा लगानी गर्दा २ प्रतिशत सेवा शुल्क र कर्जा फारमको ५ सय लिने गरेको देखिन्छ।

त्यस्तै नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालय युवा तथा साना व्यवसायी स्वरोजगार कोषबाट वार्षिक ४ प्रतिशतमा ९० लाख कर्जा लिएको थियो। कर्जा लिएर अन्यत्र लगानी गर्नुपर्नेमा ४५ लाख मात्रै लगानी गरी बाँकी रकम हिनामिना गरेको प्रतिवेदनम उल्लेख छ।

सहकारी घाटामा हुँदा पनि बोनस
पर्यटक सहकारीले संस्था घाटामा गएको देखाएको छ तर सञ्चालक समितिको बैठकले २०८० असोज २५ गते निर्णय नै गराएर १० प्रतिशतका दरले बोनस बाँडेको देखिएको छ।

संस्थामा दुई जना मात्रै कर्मचारी भए तापनि अस्वाभाविक रूपमा आर्थिक वर्ष २०७९/८० मा ४५ लाख ४४ हजार २ सय ६९ र आर्थिक वर्ष २०८०/०८१ मा १५ लाख ६७ हजार ४ सय ५० रुपैयाँ तलबी खर्च राखेर बोनस वितरण गरेको देखिन्छ।

त्यस्तै सहकारी ऐन अनुसार संस्थाले नगद व्यवस्थापन अन्तर्गत काउन्टर भल्टको रकमको साथै मार्गस्थलमा नगद रकमको बीमा नगरेको पाइएको हो।

कार्यक्षेत्र बाहिर पनि कारोबार 
२०६६ सालमा स्थापना भएको पर्यटक सहकारीको नाम शुरूवातमा ‘पर्यटक यातायात व्यवसायी विकास बचत तथा ऋण सहकारी संस्था लिमिटेड‘ थियो। २०७८ सालमा नाम परिवर्तन गरियो। ८० जना महिला ३ सय ५७ जना पुरुष रहेको सहकारीमा अन्य समुदायको ८ जना सदस्य थिए। दर्ता गर्दा काठमाडौं महानगरपालिका-१ मा केन्द्रीत हुने भनिए तापनि काठमाडौं महानगरपालिकाभर काम गरेको देखिएको छ।

महानगरले अनुगमनपछि तयार पारेको प्रतिवेदनको पूर्णपाठ:

त्यस्तै व्यवस्थापक नियुक्ति गर्दा नियुक्ति पत्र समेत नदिएको देखिएको छ। संस्थामा भएको कर्जा लगानी अनुसार अनुगमन गर्दाको दिन सम्म दुई करोड ५७ लाख ३४ हजार ४ सय ९१ रुपैयाँ बराबरको कर्जा नोक्सानी व्यवस्था भए पनि हिसाबकिताबमा देखिएको छैन। त्यस्तै बिपन्न वर्गको महिला वा पुरुष सदस्य छुट्टाउने गरेको समेत देखिएन। संस्थामा ८ वटा कृत्रिम व्यक्ति समेत समेत शेयर सदस्य रही उनीहरूलाई  समेत कर्जा प्रवाह गर्ने गरेको देखिएको छ।

ऋण उठाउन महानगरको सुझाव 
पर्यटक सहकारीबारे ८२ बुँदामा प्रतिवेदन बनाएको महानगरले सहकारीलाई सुझाव समेत दिएको छ। कृत्रिम सदस्यलाई तत्काल खारेज गर्नुपर्ने, पुँजी कोषको १० प्रतिशत भन्दा बढी रकम लगानी गरेकाले सो ऋण सीमाभित्र ल्याउनुपर्ने, लेखासमिति तीन सदस्यीय गठन गर्नुपर्ने अनि सहकारीले कर्जा नोक्सानी चुस्त दुरुस्त तबरले लेखाङ्कन गर्नुपर्ने महानगरको सुझाव छ।

साधारण सभाबाट मात्र लेखापरीक्षक नियुक्ति गर्नुपर्ने, संस्थाले नियमसंगत रूपमा व्यवस्थापक तथा कर्मचारी नियुक्ति गर्नुपर्ने, बिना व्याज दिएको ऋण ब्याजसहित असुलउपर गर्ने, बिना धितो ऋण दिएकाहरूलाई धितो राख्न लगाउनु र अस्वभाविक रूपमा वितरण गरेको बोनस रकम असुल उपर गर्न समेत महानगरले सहकारीलाई सुझाव दिएको छ।

सम्बन्धित समाचार:-

मंसिर ८, २०८१ शनिबार १०:५०:२१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।