एनपीएल टिम परिचय : ‘प्यासनेट’ फ्यानको साथ पाएको ‘टाइगर’को सुदूरपश्चिम

एनपीएल टिम परिचय : ‘प्यासनेट’ फ्यानको साथ पाएको ‘टाइगर’को सुदूरपश्चिम

काठमाडौं : नेपाल क्रिकेट संघ (क्यान)ले आयोजना गर्न लागेको ‘सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग’ हुने मिति नजिकिँदै छ। मंसिर १५ गतेदेखि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने प्रतियोगितामा सहभागी टोलीहरूबारे उकेराले नियमित रूपमा जानकारी गराइरहेको छ।

यसअघि सबैभन्दा कम मूल्यमा बिक्री भएको कर्णाली याक्स र विराटनगर रोयल्सबारे हामीले जानकारी गराइसकेका छौं। आज हामी सबैभन्दा तेस्रो कम मूल्यमा बिक्री भएको टोली सुदूरपश्चिम रोयल्सबारे यहाँहरूलाई जानकारी दिनेछौँ।

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिगका टिमहरूमध्ये कर्णाली र विराटनगरपछिको बढी मूल्य तिर्ने टिम हो- सुदूरपश्चिम रोयल्स। इम्पायर स्पोर्ट्सका स्वतन्त्र प्रताप शाहले टिमलाई एक करोड ६८ लाख ८८ हजार आठ सय ८८ रूपैयाँमा खरिद गरेका हुन्।

टिम खरिदसँगै मालिक शाहले प्रमु्ख कार्यकारी अधिकृत (सीईओ)मा प्रकाश खड्कालाई नियुक्त गरे। भने मुख्य प्रशिक्षकमा जगत टमाटालाई समेटे। खड्का लामो समयदेखि क्रिकेट व्यवस्थापनमा र टमाटा क्रिकेट कोचिङमा सक्रिय छन्।

यसका अलावा शाहले टिमको कन्सल्टेन्टमा अष्ट्रेलियाका ४९ वर्षीया ब्राड हगलाई नियुक्त गरेको छ। उनी अष्ट्रेलियाका पूर्वखेलाडी समेत हुन्। उनले अष्ट्रेलियाका लागि छ टेस्ट, २५ ओडिआई र १५ टी-२० अन्तर्राष्ट्रिय खेल खेलेका छन्।

मार्की प्लेयरको रूपमा ‘टाइगर’ नामले परिचित दीपेन्द्रसिंह ऐरी पाएको यो टोलीले अन्य नेपाली घरेलु खेलाडीहरूलाई अक्सनमार्फत टिममा समेट्यो। टिमले मोहम्मद आरिफ शेखलाई १५ लाख रूपैयाँमा टोलीमा अनुबन्ध गर्दा अबिनाश बोहरालाई १२ र विनोद भण्डारीलाई १० लाख रूपैयाँमा समेट्यो।

यसका अलावा अक्सनमार्फत नै टिमले इशान पाण्डेलाई नौ लाख ५० हजार, अर्जुन कुमाललाई सात लाख ५० हजार, खडक बहादुर बोहरा र नरेश बुढायरलाई समान पाँच-पाँच लाख रूपैयाँमा किने।

त्यसैगरी भोजराज भट्टलाई साढे चार लाख, अमित श्रेष्ठलाई साढे तीन लाख र नरेन साउदलाई टोलीले दुई लाख रूपैयाँमा टोलीमा समावेश गर्यो।

साथसाथै सुदूरपश्चिम रोयल्सले विदेशी खेलाडीको रूपमा स्कटल्यान्डका ब्याटिङ अलराउन्डर ब्रान्डन म्याकमुलम, इंग्ल्यान्डका अलराउन्डर सैफ जैब, न्यूजिल्यान्डका बलिङ अलराउन्डर स्टक कगेलेन र युएईका रोहन मुस्तफालाई टोलीमा समेट्यो।

टिमले आफ्नो ब्रान्ड एम्बेसडरको रूपमा ओलम्पियन दीपक बिष्टलाई नियुक्त गर्दा चक्र बम, अनिता चलाउने र टंक तिमिल्सिनाको स्वरमा ‘मैदानमा तुफान, सुदूरको शान’ बोलको एन्थेम समेत सार्वजनिक गरेको छ।

पहेँलो रङको जर्सी सार्वजनिक गरेको टिमले आफ्नो मुख्य प्रायोजकमा नेपाल टेलिकम हुँदै करिअर पार्टनरको रूपमा कुमारी जब र सुदूरपश्चिम क्रिकेट एकेडेमी (एसपीए)लाई पनि साझेदारको रूपमा पाएको छ। मेरियट होटल सुदूरपश्चिमको हस्पिटालिटी पार्टनरको रूपमा आबद्ध भएको छ।

टोलीले धनगढी क्रिकेट एकेडेमीमा ट्यालेन्ट हन्टसमेत गरेको छ। त्यसबाट एक जना खेलाडीले एनपीएलमा सहभागी हुने अवसर पाउनेछन्। ट्यालेन्ट हन्टमा एक सयभन्दा बढी युवाहरू सहभागी भएका थिए।

खेलतालिका सार्वजनिक भएसँगै सुदूरले पहिलो खेल ३ डिसेम्बरमा विराटनगरसँग भिड्दैछ भने अन्तिम खेल १६ डिसेम्बरमा कर्णाली याक्ससँग खेल्दैछ।

सामाजिक सञ्जालतर्फ कुरा गर्दा सुदूरपश्चिम रोयल्स सबैभन्दा बढी फलोअर्स पाउने टिम हो। यसको फेसबुकमा एक लाख २१ हजार फलोअर्स छन्। यसका अलावा टोलीलाई इन्स्टाग्राममा आठ हजार पाँच सय, एक्समा आठ सय र टिकटकमा २० हजारभन्दा बढीले पछ्याएका छन्।

सामाजिक सञ्जालमा अत्यधिक फलोअर्स भएका कारण यो टिमको हाइप पनि बढेको छ। सुदूरपश्चिमका फ्यानहरूले यसको सानो अनाउन्समेन्टलाई पनि ठूलो रूपमा लिएर सेयर गर्ने गरेका छन्। जसकारण पनि प्रतियोगितामा सुदूरपश्चिमको फ्यान एकदमै धेरै हुने अपेक्षा गर्न सकिन्छ।

एनपीएलका लागि नेपाल क्रिकेट संघ(क्यान)ले सिद्धार्थ बैंकलाई मुख्य प्रायोजकको रूपमा अनुबन्ध गरिसकेको छ भने एनसेल यसको ‘पावर्ड बाइ’ साझेदारको रूपमा अगाडि आइसकेको छ। साथै यसको टिकेटिङ पार्टनरको रूपमा खल्तीसँग क्यानले सम्झौता गरेको छ।

प्रतियोगिताकै लागि भनेर त्रिवि क्रिकेट मैदानलाई स्तरोन्नति गरिएको छ। यसको बाउन्ड्री बढाइएको छ भने दर्शकलाई जोन अनुसार बस्ने व्यवस्था मिलाएर अस्थायी रूपमा खानेपानी र शौचालयको व्यवस्था मिलाएको छ।

यसको अलावा क्यानले बढी मूल्य तिरेर राम्रैसँग खेल हेर्छु भन्ने दर्शकका लागि भीआईपी र भीभीआईपी सिटको समेत व्यवस्था गरेको छ। जसका लागि त्रिवि क्रिकेट मैदानमा अस्थायी प्याराफिट बनाएर त्यहाँ कुर्सीहरू राख्ने क्रम जारी छ।

प्रतियोगिताका सबै खेलहरू भारतीय चर्चित च्यानल स्टार स्पोर्ट्सबाट प्रत्यक्ष प्रसारण हुने क्यानले जनाएको छ।

एनपीएल टिम परिचय:-

मंसिर ६, २०८१ बिहीबार ११:२२:१३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।