नक्कली फेसबुक आइडिबाट केटी साथी बनाएर सिङ्गापुरको लाहुरे हुँ भन्दै २७ लाख ठगी गरेको आरोपमा पक्राउ

नक्कली फेसबुक आइडिबाट केटी साथी बनाएर सिङ्गापुरको लाहुरे हुँ भन्दै २७ लाख ठगी गरेको आरोपमा पक्राउ

काठमाडौं : नक्कली फेसबुक आइडिको प्रयोग गरी २७ लाख रूपैयाँ बढी ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा तनहुँ आँबुखैरेनी गाउँपालिका-५ घर भई हाल काठमाडौंको चन्द्रागिरि नगरपालिका-७ बस्ने रुद्रबहादुर गुरूङलाई रहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकु सूचना अधिकारी एसपी काजीकुमार आचार्यले जानकारी दिए।

उनका अनुसार पक्राउ परेका रुद्रले फेसबुकलगायत सामाजिक सञ्जालमा नक्कली एकाउन्ट निर्माण गरी करिब २७ लाख ८३ हजार दुई सय ठगी गरेको उजुरीका आधारमा पक्राउ गरिएको हो।

पक्राउ परेका गुरूङले त्यही आइडिको दुरूपयोग गर्दै केटी साथी बनाइ आफू फ्रान्स, सिङ्गापुरको लाहुरे हुँ, सिङ्गापुर लैजान्छु, सिङ्गापुर लैजानको लागि कागजात बनाउनुपर्छ, त्यसबापत पैसा लाग्छ भनी काठमाडौं, चितवनको विभिन्न स्थानमा आफ्नो हुलिया एवं परिचय परिवर्तन गरी भेट्न बोलाई ठगी गरेको अनुसन्धानको क्रममा खुल्न आएको छ।

उनलाई ठगीसम्बन्धी कसूरमा आवश्यक अनुसन्धान एवं कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं भद्रकाली पठाइएको काठमाडौ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले जनाएको छ। 

मंसिर ३, २०८१ सोमबार २१:३४:१४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।