छ वर्षअघि निर्माण भएको फिल्म ‘अग्निदहन’लाई बल्ल जुर्याे प्रदर्शनको साइत
काठमाडौं : ६ वर्षअघि निर्माण भएको घनश्याम लामिछाने निर्देशित फिल्म ‘अग्निदहन’लाई विभिन्न जिल्लामा विशेष शो देखाएपछि निर्माण टिमले हलमा पनि प्रदर्शन गर्न लागेको छ। यही मंसिर ७ बाट प्रदर्शनमा आउन लागेको यो फिल्ममा बोक्सीको आरोपमा ज्युँदै जलाइएका महिलाको कथामा आधारित रहेको छ।
सोमबार बिहान हात्तिसारस्थित नेपालमा हाउसमा आयोजित पत्रकार सम्मेलनमा निर्देशक लामिछानेले भने, ‘यो फिल्म ६ वर्षअघि नै बनेको भएता पनि बल्ल यो फिल्मको प्रदर्शनका लागि राइट समय आएको छ।’
पटक-पटक यो फिल्मको प्रदर्शन मिति तोकिए पनि प्रदर्शन हुन सकेको थिएन।
साहित्यकार लोकमणि पौडेलको सोही नामको उपन्यासमा आधारित ‘अग्निदहन’का प्रस्तुतकर्ता कोविदशरण उपाध्याय हुन्। उनले बोक्सी कुप्रथा उन्मूलन गराउन आफूहरूले फिल्मलाई माध्यम बनाएको दाबी गरे।
उनले भने, ‘हामी फिल्ममार्फत बोक्सी हुँदैन र महिलालाई बोक्सीका नाममा अत्याचार गरिनुहुन्न भन्ने सन्देश दिन चाहन्छौं। त्यस कारण यो आधा आकाश ढाकेका महिलाहरूको आवाज बोल्न चाहेका हौँ।’
यो फिल्ममा बोक्सीको भुमिकामा अभिनय गरेकी अभिनेत्री प्रमिला तुलाचनले यो फिल्मको पात्रलाई न्याय दिनका लागि सुकुम्बासी बस्तीमा पुगेको बताइन्। उनी यो फिल्ममा‘बोक्सी’को आरोप लागेकी माइली दमिनीको पात्रमा छिन्।
उनी भन्छिन्, ‘मैले निर्वाह गरेको चरित्र चुनौतीपूर्ण थियो। समाजको दुःखी, गरिब महिलाप्रति गरिने व्यवहार, एकल महिलालाई गरिने दुर्व्यवहार, असहाय महिलालाई लगाइने लाञ्छनाजस्ता दृश्य देखेर यही चरित्रलाई पर्दामा उतार्ने प्रयास गरेकी छु।’
पत्रकार सम्मेलनमा फिल्मका मुख्य कलाकार प्रकाश घिमिरे, माओत्से गुरुङ भने उपस्थित भएनन्। यस फिल्ममा फिल्ममा प्रकाश र माओत्सेका अलवा प्रमिला तुलाचन, अनुपमा भण्डारी, तुलसी क्षेत्री, विष्णु बास्तोला, ताराबहादुर गुरुङको अभिनय रहेको छ।
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समेत हेरेको यो फिल्ममा लोकमणि पौडेलको पटकथा तथा संवाद, कोविदशरण उपाध्यायको परिकल्पना, परिच्छेद सेनको सहायक निर्देशन, दीर्घ गुरुङको छायांकन, दीर्घ खड्काको सम्पादन, शंकर पाण्डेको प्रोडक्सन डिजाइन छ।
यो फिल्मले चलचित्र विकास बोर्डबाट ‘विशेष चलचित्र अवार्ड’ समेत पाइसकेको छ। यो फिल्मसँगै शंकर घिमिरे र ऋचा घिमिरेले निर्माण गरेको फिल्म ‘तेलभिसा’पनि प्रदर्शनमा आउँदैछ। फिल्मको प्रमोसनको कुरा गर्ने हो भने ‘अग्निदहन’भन्दा तेलभिसा अगाडि देखिन्छ।
मंसिर २, २०८१ सोमबार १५:५९:२२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।