दोस्रो दिन पनि सकिएन रविको बयान, भोलि फेरि लिने तयारी
बुटवल : सुप्रिम सहकारीको रकम अपचलन गरेको आरोपमा बयानका लागि रूपन्देही ल्याइएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँगको बयान दोस्रो दिन पनि सकिएन। मंगलबार दिउँसो १ बजेबाट सुरू भएको उनको बयान नसकिएपछि त्यस दिन स्थगित गरिएको थियो।
त्यसपछि आज जिल्ला सरकारी वकिलको कार्यालय रूपन्देहीमा बिहान सवा दश बजेबाट पुनः बयान लिन थालिएको थियो। तर, दोस्रो दिन पनि नसकिएको प्रहरीले जनाएको छ।
मंगलबार र बुधबार दिनभर अनुसन्धान अधिकृतहरूले बयान लिए पनि बयान नसकिएपछि बिहीबार पनि थप बयान लिने गरी जिल्ला प्रहरी कार्यालय रूपन्देहीमा लगिएको प्रहरीले जनाएको छ।
सरकारी वकिलको कार्यालयमा भइरहेको बयानमासमेत उपस्थित रहेका इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डिएसपी विजयराज पण्डितले बुधबार साँझ साढे ६ बजेसम्म बयान लिँदा पनि नसकिएको बताए।
बयान नसकिएपछि बुधबार पनि लामिछानेलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको पण्डितले जानकारी दिए।
हिजो पत्रकारसँग 'बाघ र स्याल'को कुरा गरेपछि रविलाई आज कडा सुरक्षा निगरानीमा घेरेर बाहिर निकालिएको थियो। त्यसपछि उनलाई निकाल्ने समयमा रास्वपाका समर्थकहरूले नाराबाजी गरेका थिए।
कात्तिक २८, २०८१ बुधबार २१:५०:३३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।