बैंकिङ कसूर मुद्दाका अदालतले जरिवानासहित कैद सजाय सुनाएपछि भागेका श्रेष्ठ पक्राउ
काठमाडौं : बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी दिव्य श्रेष्ठ ललितपुरको जावलाखेलबाट पक्राउ परेका छन्। धनुषाको जनकपुर उपमहानगरपालिका-९ का ३७ वर्षीय श्रेष्ठलाई उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले पक्राउ गरेको हो।
उच्च अदालत पाटनले अघिल्लो असार ३ मा उनलाई बैंकिङ कसूर मुद्दामा दुई महिना कैद, बिगो दुई करोड ५० लाख रूपैयाँ जरिवाना र क्षतिपूर्तिबापत पीडित राहतकोषमा १० लाख रूपैयाँ जम्मा गराउने ठहर गरेको थियो।
फैसलालगत्तै उनी फरार भएका थिए।
प्रतिवादी श्रेष्ठलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत ललितपुर लगनखेल पठाइएको केन्द्रीय प्रहरी प्रवक्ता डिआइजी दानबहादुर कार्कीले जानकारी दिए।
कात्तिक २८, २०८१ बुधबार २०:५७:३८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।