जब बिपनाले राजेश हमाल बराबर पाँच लाख पारिश्रमिक पाइन् फिल्म क्षेत्रमा हङ्गामै भयो

जब बिपनाले राजेश हमाल बराबर पाँच लाख पारिश्रमिक पाइन् फिल्म क्षेत्रमा हङ्गामै भयो

काठमाडौँ : ‘नेपाली कांग्रेसको सक्रिय राजनीतिमा रहेका अभिनेत्री बिपना थापाका बाबु आफ्नी राम्री छोरीलाई पनि मनीषा कोइराला जस्तै नायिका बनाउँछु’, भन्थे।

सायद राजनीतिक विरासत बोकेको परिवारमा जन्मिएकी अभिनेत्री मनीषाको छाया उनले आफ्नी छोरीमा पनि देखेको हुनुपर्छ।

तर विडम्बना थापाका बाबुले छोरीलाई नायिकाका रूपमा सिनेमाको पर्दामा कहिल्यै देख्न पाएनन्। बिपना छ वर्षको हुँदा उनको निधन भयो। त्यसैले उनलाई बुबाको त्यति धेरै सम्झना पनि छैन।

आफ्ना बाबुको सपना सुनेकी अभिनेत्री बिपना सानै उमेरदेखि नाच्नमा पारङ्गत थिइन्। काठमाडौँ स्युचाटारमा जन्मिएकी बिपनासँग स्कुले जीवनमा के हुने र के गर्ने कुनै लक्ष्य थिएन।

चर्चित नृत्याङ्गना विमला श्रेष्ठ उनको छिमेकी थिए। नाच्न सिपालु बिपना विमलालाई हेर्दै आफूलाई त्यस्तै बनाउने कल्पना गर्थिन्। आफैँलाई भन्थिन् ‘कुनै दिन म यी विमला फुपूजस्तै नाच्ने हुन्छु।’

उनी कक्षा ९ मा पढ्दै गर्दा स्कुलको वार्षिकोत्सवका लागि अरूलाई नृत्य सिकाइसक्ने भइसकेकी थिइन्। आफ्ना बाबुको मनीषा जस्तै बनाउने सपना र अर्कोतर्फ विमला फुपू झैँ नृत्याङ्गना हुने चाहनाका बिच १३ वर्षको उमेरमा नै उनका लागि अभिनयको ढोका खुल्यो। त्यो मौका उनलाई निर्देशक रेसराज आचार्यले दिएका थिए।

‘उहाँ मेरो बाबाको साथी हो। उहाँले मलाई ‘आमा’ भन्ने टेलिशृङ्खलामा छोरीको भूमिकामा पहिलो पटक अभिनय गराउनुभएको थियो। मेरो अभिनय यात्रा सोही टेलिशृङ्खलाबाट बाल कलाकारका रूपमा भएको हो। त्यो टेलिशृङ्खलाको सुटिङ सकिँदासम्म म १४ वर्षको भइसकेकी थिएँ। त्यो टेलिशृङ्खला छायाङ्कन भए पनि कहिले पनि ‘रिलिज’ भने हुन पाएन।’

टेलिशृङ्खला प्रसारणमा आएन तर उनको अभिनयको लामो यात्रा कोरिदिने काम भने त्यसैले गर्यो। २०५१ सालतिर आचार्यले त्योसँगै बिपनालाई शक्ति साबुनको विज्ञापनमा अभिनय गर्ने मौका पाइन्।

‘आमा’ टेलिशृङ्खलाको सुटिङका दौरानमा कलाकार तथा निर्देशक मोहन निरौला सुटिङस्थल थिए। दुवै जनाको पुरानै मित्रताको चिनाजानी थियो । उनले सुटिङमा बिपनालाई सिनेमामा अभिनय गर्ने प्रस्ताव गरे।

त्यतिबेला मोहन एउटा सिनेमा निर्देशनको तयारी गरिरहेका थिए। भर्खर १४ वर्ष लागेकी बिपनाले टेलिशृङ्खलालाई नै सिनेमा जस्तो लाग्थ्यो। उनले मोहनलाई ‘मैले त खेलिसकेँ’ भन्ने जवाफ दिइन्।

निरौलाले बिपनालाई पुनः ‘ठुलो पर्दाको फिल्म खेल्ने हो’ भनेर सोधेपछि बिपनाले ‘मेरो घरमा आएर सोध्नुस्’, भन्ने जवाफ दिइन्। त्यसपछि निर्माता छविराज ओझा, राजकुमार शर्मा, निरौलालगायतका बिपनाको घरमै पुगेर परिवारसँग कुरा गरे।

‘एसएलसी दिएको पर्सिपल्टको कुरा हो यो’, उनले भनिन्। परिवारले बिपना थापालाई सिनेमा गर्ने अनुमति दियो । यसरी ‘जन्मभूमि’ फिल्मबाट उनको नेपाली फिल्म क्षेत्रमा प्रवेश भयो। नायिका हुने पक्का भएको दिन उनले आफ्नो पिताजीले भनेको कुरा स्मरण गरिन्। ‘ओहो ! म त कत्रो ठुलो के–के भइछु’ भन्ने लाग्यो रे।

बिपनाले आफ्नो पहिलो सिनेमाका लागि पारिश्रमिक पाँच हजार रुपैयाँ र मुट्ठीभरि त्यति बेलाको लोकप्रिय ह्वाइट र्याबिट चकलेट पाइन्।

‘ओहो ! पाँच हजार रुपैयाँ भयो। त्यो पनि आजभन्दा करिब २८–२९ वर्ष अगाडि, आजको पाँच लाख सरहको पैसा होला त्यो सायद’ उनले भनिन्।

पाँच हजारमा पहिलो सिनेमा खेलेकी बिपनालाई त्यस वर्ष सिनेमाको ओइरो नै लाग्यो। त्यो वर्ष डेब्यू सिनेमा ‘जन्मभूमि’सहित सात वटा सिनेमामा काम गरिन्।

पाँच हजार र एक मुठ्ठी ह्वाइट र्याबिट चकलेटबाट सुरु भएको उनको पारिश्रमिक बाँकी छ सिनेमामा कुनैमा २० त कुनैमा २५ हजार रुपैयाँ पारिश्रमिक पुग्यो। ठ्याक्कै सम्झना नभए पनि उनले सोही वर्ष ३५ हजारसम्म पैसा पाएको सम्झना छ।
सिनेमा उद्योगबाट बिदा नहुँदासम्म अधिकतम पाँच लाख रुपैयाँसम्म पारिश्रमिक बुझेको सम्झना छ उनलाई। यो रकम लिँदा नेपाली रजतपट वृत्तमा ठुलै हल्लाखल्ला भएको बिपनाले बताइन्।

‘त्यो बेलामा राजेश हमाल–बिपना थापाले त एउटै सिनेमाको पाँच लाख रुपैयाँ लिन्छन् भनेर ठुलै हल्लाखल्ला भएको याद छ। यो पैसा मैले ‘वरमाला’ र ‘बहादुर’ भन्ने दुई वटाका लागि मात्र लिएकी थिएँ’, थापाले भनिन्।

२०५१ सालमा सुरु भएको उनको त्यो अभिनय यात्रा २०६५ सालसम्म करिब १५ वर्ष लगातार व्यस्ततामै बित्यो। उनी आफूलाई अभिनेत्रीका हिसाबले डेब्यू सिनेमा ‘जन्मभूमि’ले नै परिपक्व बनाएको बताउँछिन्।

यसो हुनुको पछाडि उनीसँग सो सिनेमामा सँगै काम गरेका त्यति बेलाका चर्चित र प्रतिभाशाली कलाकारलाई दिन्छिन्। त्यो सिनेमामा त्यति बेलाका चर्चित अनुहारहरू सरोज खनाल, शिव श्रेष्ठ, मौसमी मल्ल, गीताञ्जली अनि सुनिल थापालगायतका कलाकारको पल्टन नै थियो।

‘चर्चित कलाकारहरूको भिडमा म १४ वर्षकी सानी केटी पहिलो पटक सिनेमा खेल्दै थिएँ। उहाँहरुबीच म पहिलो पटक ठुलो पर्दाको सिनेमा खेल्दै गरेकी केटीलाई अभिनय सिकाउने प्रतिस्पर्धाजस्तो हुन्थ्यो’, उनले भनिन् ‘सरोज दाइसँग सिन पर्दा वसुन्धरा भुसाल दिदी आएर सरोजले आफ्नो मात्र अनुहार देखाउला नि नानी भन्नुहुन्थ्यो, मौसमी दिदीले त्यस्तै भनेर गाइड गर्ने, सरोज दाइले त्यस्तै भन्ने। सब मेरो गुरुजस्तो हुनुभयो र सिकाउनुभयो।’

उनले एक वर्षमा लगातार सात सिनेमामा अभिनय गरिन्। बिपनाले डेब्यू वर्षमा नै सर्वोत्कृष्ट नवअभिनेत्री अवार्ड पाउन सफल भइन्।

उनले डेब्यू सिनेमा ‘जन्मभूमि’सँगै, गोठालो, अपहरण, चुनौती गरी सात सिनेमा खेलिन्।

त्यो समयमा भूमिका अनि कथा विषयवस्तु नहेरी प्रस्ताव आएका र समयले भ्याएसम्मको सबै सिनेमामा अभिनय गर्ने गरेको उनले सम्झिइन्।

करिब एक सय १४ वटा सिनेमामा अभिनय गर्दा बिपनाले धेरै सिनेमामा उस्तै खालको भूमिका गरिन्। तर ‘तँ त साह्रै नै बिग्रिस् नि बद्री !’ सिनेमामा निर्वाह गरेको चरित्रलाई कहिल्यै बिर्सन नसक्ने उनले बताइन्।

सुरुमा उनलाई नायिकाको सकारात्मक भूमिकामा काम गराउने सहमति भए पनि परिस्थितिवश नकारात्मक भूमिका गर्नुपर्यो। उनले त्यो भूमिकालाई टार्न खोजिन् तर सकिनन्।

पछि उनको बिहेमा कन्यादानसमेत दिएका निर्माता किरण केसीले सम्झाएपछि उनी तयार भइन्। सिनेमामा उनी ‘ह्विस्की’ नामको पात्रको चरित्रमा थिइन्।

‘अर्काको श्रीमानसँग लाग्ने र घरमा श्रीमती हुँदाहुँदै अर्की श्रीमती पनि बनाउन खोज्ने मान्छे मलाई पहिलोदेखि नै मन नपर्ने। मेरो पात्र ठ्याक्कै त्यस्तै छ सिनेमामा,’ उनले सम्झिइन्  ‘त्यो पात्र मलाई पटक्कै गर्न मन लागेको थिएन। तर हरिवंश आचार्य र किरण केसीले यो एउटा चरित्र हो, कलाकार भएपछि हरेक किसिमको भूमिका गर्नुपर्छ, यसले तिम्रो फिल्मी ‘करियर’मा कुनै पनि नकारात्मक असर गर्दैन भनेर कर गरेपछि मैले अभिनय गरेँ।’

सिनेमा ‘रिलिज’ भयो। उनलाई जे डर लागेको थियो त्यस्तो भएन।

विवाहपछि उनी नेपाली फिल्मबाट अलि टाढा भइन्। उनको बसाई भारतमा सुरु भयो। उनी पारिवारिक जिम्मेवारीमै अलमलिइन्। बिपना १७ वर्ष पछि फिल्म ‘ह्रस्व दीर्घ’ बाट पुन नेपाली फिल्ममा फर्किएकी छिन्।

अशेष अधिकारी / रासस    

कात्तिक २८, २०८१ बुधबार १७:४२:३१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।