भैरहवामा रविको बयान जारी, ‘स्याल र बाघ’को बोलीपछि प्रहरीले घेरा हालेर सरकारी वकीलको कार्यालय पुर्यायो
बुटवल : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको दोस्रो दिनको बयान जारी छ।
बुधबार बिहान सवा १० बजेबाट भैरहवास्थित जिल्ला सरकारी वकिल कार्यालयमा लामिछानेको बयान शुरू भएको हो। लामिछानेलाई प्रहरीको घेराबाट सरकारी वकिल कार्यालय प्रवेश गराइएको थियो।
मंगलबार बयानपछि कार्यालयबाट बाहिरिने क्रममा ‘खोरमा बाघलाई थुन्दैमा स्याल हुँदैन’ भन्ने प्रक्रिया दिएका थिए।
सञ्चारकर्मी देख्नासाथ बोलिहाल्ने भएकाले बुधबार दोस्रो दिनको बयानका लागि उनलाई प्रहरी उनलाई घेरा हालेर सरकारी वकिल कार्यालय प्रवेश गराएको हो।
मंगलबार कास्कीबाट रुपन्देही ल्याइएका लामिछानेसँग बयान नसकिएपछि बुधबार बिहान १०:१० बजे सरकारी वकिलकको कार्यालय रुपन्देही लगिएको हो।
जिल्ला न्यायाधिवक्ता प्रेमराज पौडेल, इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी विजयराज पण्डित, प्रहरीका अनुसन्धान अधिकारीहरू लगायतको उपस्थितिमा सवा १० बजेबाट बयान शुरू भएको हो।
इलाका प्रहरी कार्यालयमार्फत अभियोजन गरिएको मुद्दाका सन्दर्भमा सरकारी वकिल कार्यालयमा लामिछानेले इन्कारी बयान दिएका छन्। लामिछानेले आफू सदस्यनै नरहेको सहकारीबाट आफ्नो नाममा ऋण प्रवाह भएको बताउँदै यसबारेमा कुनै जानकारी नरहेको बताएको प्रहरी स्रोतले बताएको छ।
मंगलबार लामिछानेलाई जिल्ला प्रहरी कार्यालय रुपन्देहीको हिरासत कक्षमा राखिएको रुपन्देहीका प्रहरी प्रमुख रञ्जितसिंह राठौरले जानकारी दिए।
लामिछानेलाई बयानका लागि रुपन्देही ल्याएसँगै रास्वपाका कार्यकर्तादेखि प्रर्दशन गरेका छन्। बुधबार पनि साढे ११ बजे लुम्बिनी गेटमा रास्वपाले प्रदर्शन गरेको थियो।
सुप्रिमबाट लामिछानेले दुई करोड र जीबी राई सम्बद्धहरूको नामबाट १४ करोड २९ लाख रुपैयाँ विभिन्न व्यक्तिमार्फत् गोर्खा मिडिया नेटवर्कमा पुगेको संसदीय छानबिन विशेष समिति र प्रहरीको प्रतिवेदनमा उल्लेख छ।
कात्तिक २८, २०८१ बुधबार १४:०१:५६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।