सधैँ साइड रोलमात्रै खेलिरहने हो बुद्धि तामाङ?

सधैँ साइड रोलमात्रै खेलिरहने हो बुद्धि तामाङ?
तस्बिर- बद्री थापा

काठमाडौं : दश वर्ष यता दयाहाङ राईका अधिकांश फिल्ममा नछुट्ने पात्र हुन् बिजय बराल, बुद्धि तामाङ। अनि कमेडियन फिल्ममा दीपकराज गिरी लगायतको फिल्ममा सहायक पात्रमै रमाइरहेका कलाकार थिए जितु नेपाल।

फिल्मका मुख्य पात्रको सहायक भूमिका गर्दै आएका कलाकार जितु नेपाल, बिजय बरालले यतिबेला नेपाली फिल्मलाई जुरुक्कै बोकेका छन्।

जितु नेपालले ‘ज्वाइँ साब’लाई सफल बनाए भने बिजय बरालले प्रदर्शनरत फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’जुरुक्कै काँधमा बोकेका छन्।

२० करोड भन्दामाथिको व्यापार गरिसकेको ‘पूर्णबहादुरको सारङ्गी’का हाउसफूल नभएका शोहरू कमैमात्र छन्। उनीसँगै सहायक भूमिकामा निर्वाह गर्दै आएका कलाकार बुद्धि तामाङ पनि फिल्मको भार बोक्न तम्सिएका छन्।

सोमबार उनी अभिनित फिल्म ‘तेलभिसा’को पत्रकार सम्मेलनमा बुद्धिले यसबारे जवाफ दिए।

‘म सहायक भूमिकामा जुनसुकै खालको प्यारालाल हिसाबमा काम गर्न सक्छु,’ उनले भने, ‘तर आफैँ काँध थापेर हिड्नलाई चाहिँ अलिक गाह्रै लाग्छ। अलिकति रिक्स लाग्छ र अर्को कुरो म थोरै फिल्म किन खेल्नु त मनग्गे खेलौं भन्ने हो। जति छोटो सिनेमामा काम गर्न पाइयो त्यतिकै मात्रामा फिल्मको संख्या बढाउन पाइयो। धेरै फिल्म गरेको भनेर आरोप पनि आउँछ, मलाई यस्तो आरोप आउँदा खुशी पनि लाग्छ।’

यसका अलावामा आफूलाई लामै क्यारेक्टर गर्न इच्छा भए पनि त्यस्तो नपाएको आशय व्यक्त गरे।

‘एउटै क्यारेक्टरमा मजाले त्यसमा टाइप दिएर त्यो क्यारेक्टरमा गहिराईसम्म पुगेर काम गरौ भन्ने इच्छा त हुन्छ,ममा पनि छ। मलाई मिल्ने कुनै क्यारेक्टर बन्छ होला। कुनै बेला हुन्छ होला भन्ने आश त छ। तर पनि छोटो समयमा फरक-फरक क्यारेक्टर पाउँदाको मजा पनि हुन्छ।’

सबै साथीहरूले लिड रोल गर्दा आफूले पनि त्यही वा त्यस्तै भूमिका निर्वाह गर्नुपर्छ भन्ने धारणा भने नभएको उनले स्पष्ट पारे।

कात्तिक २८, २०८१ बुधबार १०:५३:२७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।