छक्कापञ्जा टिम छुट्दा नाफामा जितु, कमेडियनबाट भए लिड एक्टर !
काठमाडौँ : टिम छुट्दा व्यक्ति कमजोर हुनु स्वाभाविकै हो। एकत्रित रूपमा हुने काम एक्लै गर्दा कमजोर हुन सकिन्छ। तर कलामा यो लागु हुन्न रैछ।
नत्र त्यत्रो प्रभावशाली अनि साम, दाम, दण्ड अनि भेद सबै विद्यामा पारङ्गत रहेका सदस्यहरूले भरिएको छक्कापञ्जा टिम छाड्दा जितु नेपाल त अहिलेसम्म नेपाली फिल्म क्षेत्रबाट पलायनै भइसक्नु पर्ने हो नि!
उता छक्कापञ्जा टिमै भिडिरहँदा यता जितु नेपाल एक्लै पर्दामा आइरहेका छन्। उनको कला यात्राको ग्राफ बढिरहेकै छ।
छक्कापञ्जामा दीपक अनि दीपाले छाडेको केही सिनमा अटाउने जितु अहिले पुरै फिल्मको मुख्य भूमिकामा देखिन थालिसकेका छन्। देखिन थालेका मात्रै हैन, उनकै भरमा फिल्मको लगानी समेत उठ्न सम्भव भइसक्यो। अर्थात् अब जितु सहायक कलाकार हैनन्, मुख्य कलाकारको भूमिकामा उक्लिसकेका छन्।
उनी मुख्य भुमिकामा रहेको फिल्म 'ह्यारीकी प्यारी' त्यति जमेन। साम्राज्ञी आरएल राणाको जोडि रहेका उनको यो फिल्म त फ्लपै भयो। तर सहायक त्यो पनि कमेडियनको भुमिकाबाट मेनरोलमा उनको प्रवेश यही फिल्मबाट भयो।
त्यसपछि फिल्म 'ज्वाइँ साब'मा मौका पाए। उनले आफ्नो अभिनय कला मज्जाले देखाउन सके। फिल्म चलाउन आँसुदेखि साइवर सेनासम्म परिचालन गर्न पछि नपर्ने दुई ‘साँढे’हरुको बिचमा पर्यो फिल्म। तै पनि जितुको अभिनय रहेको ‘ बाछो’ समान फिल्म 'ज्वाइँ साब' डुबेन, लगानी उठायो।
ज्वाईँ साबमा देखिएको जितुको अभिनयको सबैले तारिफ गरे। कथा अनि पटकथामा पनि फिल्म बलियो हुँदाहुँदै स्टोरी ल्याण्ड गर्न निर्देशक चुकेका थिए यसमा।
उनै जितु अब फिल्म ‘कार्साङ’ मा देखिँदै छन्। फिल्म निर्माण टिमका अनुसार उनले कार्साङमा दलित पात्रको भूमिका निर्वाह गरेका छन्। उनी यो फिल्मको मुख्य कलाकार त हैनन्, यसमा दयाहाङ राई छन्। सहायक कलाकारको भूमिका रहे पनि उनको चरित्र निर्माण बलियो रहेको निर्माण टिमले दाबी गरेको छ।
मङ्गलवार निर्माण टिमले नेपाको क्यारेक्टर लुक्स समेत सार्वजनिक गरेको छ। सार्वजनिक भएको क्यारेक्टर निकै भिन्न देखिन्छ। कालो टोपी, चेक सर्ट, स्टकोट, कालो पाइन्ट र लेकमा लगाउने गमबुट लगाएका जितुले झोला घुँडामा अड्याएका छन्। हातमा कचौरा बोकेका छन्।
शेर्पा समुदायको संस्कृतिमा आधारित फिल्ममा अभिनेता दयाहाङ, जितुसँगै डेब्यु अभिनेत्री सिर्जना निङलेखु पनि छिन्। जितुको अपोजिट भूमिकामा दिया मास्के छिन्।
फिल्ममा बुद्धि तामाङ, सृष्टि गौतम, डोल्मा ह्योल्मो, प्रेम लोप्चन, सुरवीर पण्डितलगायत कलाकारहरू छन्। यो फिल्म यम शेर्पाको डेव्यु लेखन तथा निर्देशनमा निर्माण भएको हो। ‘कार्साङ्’ ले पुस २६ लाई रिलिज डेट तोकेको छ।
कात्तिक २७, २०८१ मंगलबार १०:१९:१३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।