हिरोइनको अफर नआएपछि आमाको भूमिकामा चित्त बुझाउँदै अभिनेत्री वर्षा
काठमाडौँ : अभिनेत्री वर्षा राउतले विवाह गरेको लामै समय भयो। तर उनी व्यवहारिक रूपमा आमा बनेकी छैनन्। तर पर्दाहरूमा भने उनले आमाको अनुभव टन्नै बटुलिसकेकी छिन्।
मंसिर ७ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म‘तेल भिसा’को पोस्टरमा पनि उनलाई गर्भवती नै देख्न सकिन्छ। उनले यसअघि ‘छक्का पन्जा’,’जात्रा’,’महाजात्रा’लगायतका फिल्ममा आमाको भूमिकामा अभिनय गरिसकिन्।
विकासराज आचार्यको फिल्म ‘नाइँ नभन्नु ल ४’बाट अभिनेत्रीमा डेब्यु गरेकी वर्षाले दोस्रो फिल्म ‘छक्का पन्जा’बाट नै आमाको भूमिकामा अभिनय गर्न थालेकी हुन्।
वास्तविक जीवनमा आमाको भूमिका निर्वाह गर्न तत्काल तयार नदेखिएकी उनले पर्दामा भने लगालग आमा बन्दै आएकी छिन्।
फिल्म ‘नाइँ नभन्नु ल४’बाहेक उनका फिल्म‘छक्का पन्जा’,‘जात्रा’,‘महाजात्रा’हुँदै प्रदर्शनको तयारीमा रहेको फिल्म ‘तेल भिसा’मा पनि आमाकै भूमिकामा देखिदैछिन्।
त्यसमा उनको रोजाइको मात्र विषय रहेको देखिएन। उनी नै ‘छक्का पन्जा’मा जे भूमिका दिइयो त्यो दर्शकले रुचाएका कारण निर्माताहरुले उस्तै रोल अफर गर्दा पर्दामा आमाको भूमिकामा धेरै देखिएको तर्क गरिन्।
प्रदर्शनको तयारीमा रहेको फिल्म ‘तेल भिसा’ को टिमले सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा उनले आफूलाई उस्तै खाल्का भूमिकाको लागि अफर आउन थालेको बताइन्।
‘सबैको आ–आफ्नै विचार हुन्छ। कोही कलाकारलाई म हिरोइन भएर अगाडि बढ्छु भन्ने मन लाग्छ होला,’उनले भनिन्,‘मेरो सवालमा दोस्रो फिल्मबाट नै आमाको क्यारेक्टर भयो,’ उनले भनिन् ‘तेस्रो फिल्म जात्रा भयो। छक्का पन्जामा धेरै दर्शकहरूले त्यही क्यारेक्टरमा मलाई रुचाइदिनुभयो। जात्रा पनि आमाकै भूमिकामा रुचाइदिनुभयो। अनि मलाई फिल्मको अफर पनि त्यही हिसाबले आउन थाल्यो।’
उनले कार्यक्रममा आफूलाई हिरोइन बन्नुपर्ने तर किन आमाको भूमिका मात्र आएको होला भन्ने पनि लागेको अनुभव बाँडिन्।
‘मलाई यस्तो मात्र भूमिकाको अफर किन आएको होला भनेर एक पटक सोचे पनि,‘उनले आफ्नो अनुभव सुनाउँदै भनिन्,‘मलाई मात्र किन यस्तो आएको होला भन्ने लागेको थियो। तर अहिले राम्रै भएछ भन्ने लाग्छ। म यहाँ कलाकार भएर आएको हो। मलाई पहिलेदेखि नै हिरोइन बन्नुपर्छ, बारीमा गएर सल उडाउनुपर्छ भन्ने लोभ लागेको थिएन।’
उनले एकातिर किन आमाको मात्र भूमिकाको अफर आएको होला भनेर सोच्ने गरेको पनि सुनाइन अनि अर्कोतिर स्क्रिप्ट चित्त बुझेको भएर हिरोइन नभएर जुनसुकै क्यारेक्टरमा अभिनय गर्न आफू राजी भएको तर्क पनि गरिन्।
हिरोइनको भूमिकामा कायम रहन यस्तै अनुहार अनि शारीरिक बनावट हुनु पर्छ भन्ने त छैन। तै पनि विशेष गरेर नेपालमा स्लिम ज्यान अनि कलिलो अनुहार हिरोइनका लागि बढी प्राथमिकतामा पर्ने गरेका छन्। जसले आफूलाई मेन्टेन गर्न सकेका छैनन् ती बिस्तारै कि अभिनयबाटै हराउँदै गएका छन् कि चरित्र बदलिएको छ। आमाको भूमिकाको अफर बढ्नुको पछाडि कतै यी पनि कारण हुन् कि?
यो फिल्ममा विपिन कार्की वर्षासँगै पूजा चन्दको समेत अपोजिटमा दोहोरो भूमिकामा छन्। शङ्कर घिमिरेको निर्देशनमा बनेको फिल्ममा वर्षा ,विपिनसँगै बुद्धि तामाङ,ऋचा घिमिरे, सुशील क्षेत्री लगायतका कलाकारहरूले अभिनय गरेका छन्।
अमेरिकामा रहेका सन्तानले आफ्नो सन्तान जन्मिएपछि हेरचाह गर्न बाबु-आमालाई नेपालबाट बोलाउँदा ‘तेल भिसा’ नामकरण भएको विषयमा बनेको फिल्मको ट्रेलर र गीतहरू सार्वजनिक भइसके पनि हाइप निर्माण गर्न भने सकेको छैन।
कात्तिक २६, २०८१ सोमबार १८:००:४४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।