कथा चोरीको विवादपछि पनि पूर्णबहादुरको सारङगीको रेकर्ड कायम : १० दिनमा ग्रस कलेक्सन २० करोड
काठमाडौँ : कात्तिक १५ मा रिलिज भएको फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’ले १० दिनमा २० करोड हाराहारीको ग्रस कलेक्सन गरेको निर्माण टिमले दाबी गरेको छ।
अहिले चलचित्र विकास बोर्डले कुन फिल्मले कति व्यापार गर्यो भन्ने तथ्याङ्क सार्वजनिक गर्दैन। निर्माताहरूकै विरोधका कारण बोर्डले फिल्मको व्यापारिक आँकडा सार्वजनिक नगरे पनि निर्माण टिमले भने दाबी सार्वजनिक गर्ने गरेका छन्।
निर्माण टिमले सार्वजनिक गरेको दाबी अनुसार आइतबारसम्ममा फिल्मले २० करोडको हारहारीमा ग्रस कलेक्सन गरेको छ। २० करोड ग्रस कलेक्सन गर्दा सबै ट्याक्स र कमिसनहरू छुट्टाउँदा यो फिल्मका लगानीकर्ताहरूको हातमा करिब सात करोड पर्ने पक्का भएको छ।
निर्माण टिमको दाबी अनुसार फिल्मले शनिवार एकै दिन ३ करोड ८९ लाखको ग्रस कलेक्सन गरेको थियो। यो हालसम्म रिलिज नेपाली फिल्मले एकै दिन गरेको व्यापारको सबैभन्दा ठुलो आँकडा हो।
यसअघि ‘कबड्डी ४’ ले एकै दिनमा २ करोड ९० लाखको ग्रस कलेक्सन गरेर रेकर्ड राखेको थियो। पूर्णबहादुरको सारङगीले भने यो रेकर्ड ब्रेक गरेको छ।
सरोज पौडेलको निर्देशनमा तयार भएको फिल्म रिलिजको दिन सुस्त ओपनिङ गरे पनि सकारात्मक समीक्षा र फिल्म हेर्ने दर्शकहरूको माउथ पब्लिसिटीका कारण बम्पर व्यापार गरिरहेको छ।
प्रारम्भमा गीतको लय कपी गरेको विवादमा परेको फिल्म पछिल्लो समय कथा एक उपन्यासबाट चोरेको आरोपमा मुछिएको छ। यसबारे निर्माण टिमले प्रमाणसहित खण्डन भने गर्न सकेका छैनन्।
महेश दवाडीको पटकथा तथा संवाद रहेको फिल्ममा विजय बराल, मुकुन भुसाल, प्रकाश सपुत, अन्जना बराइली लगायतका कलाकारहरूको अभिनय छ।
सम्बन्धित समाचार
कात्तिक २६, २०८१ सोमबार १४:२६:११ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।