बराहक्षेत्रमा जुवाको खालबाट प्रहरी असईसहित १५ जना पक्राउ, नौ लाख बरामद

बराहक्षेत्रमा जुवाको खालबाट प्रहरी असईसहित १५ जना पक्राउ, नौ लाख बरामद

काठमाडौं : सुनसरीको बराहक्षेत्र नगरपालिका-३ नडाहास्थित स्थानीय जीवन कार्कीको घरमा जुवा खेलिरहेका १५ जना जुवाडे पक्राउ परेका छन्। जुवा खेलाइरहेको सूचना प्राप्त भएपछि धरानबाट खटिएको प्रहरीको टोलीले नेपाल प्रहरीका प्रहरी असईसहित १५ जनालाई पक्राउ गरेको हो। 

पक्राउ पर्नेहरूमा ललितपुर सातदोबाटो बस्ने ४४ वर्षीय नवराज राई, इटहरी उपमहानगरपालिका वडा नम्बर १ बस्ने ५१ वर्षीय प्रदीप तामाङ, बराहक्षेत्र ५ बस्ने २७ वर्षीय नारायण कार्की, भोजपुर आमचोक बस्ने ४१ वर्षीय दुर्गाराज राई वराहक्षेत्र ३ बस्ने ३२ वर्षीय विदुर कार्की छन्।

त्यसैगरी बराहक्षेत्र ८ का खड्गबहादुर विष्ट, भोजपुरको अरूण गाउँपालिका ३ का जीवन कार्की, बराहक्षेत्रकै दिनराज राई, उत्तम मगर, रामधुनी नगरपालिकाका शङ्कर लुइँटेल, हतुवागढिका ज्ञानबहादुर राई, बराहक्षेत्रकै रेवत थापा, खगेन्द्र कार्की, दीपेन्द्र कार्कीलाई पक्राउ नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डिएसपी राम तिम्सिनाले बताए।

पक्राउ परेका रेवत थापा नेपाल प्रहरीका असई हुन्। 

जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी सुमनकुमार तिमिल्सिनाका अनुसार जुवाको खालबाट नौ लाख ६८ हजार नगदसहित १२ थान मोबाइलसमेत बरामद गरिएको छ। 

पक्राउ परेकाहरूलाई महेन्द्रनगरस्थित इलाका प्रहरी कार्यालयमा राखेर अनुसन्धान थालिएको छ। 

उनीहरूबाट केही सार्वजनिक (अपराध र सजाय) ऐन, २०२७ को वर्खिलाप कसूर भएकाले सोही ऐनअनुसार कारबाही प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ।  

कात्तिक १८, २०८१ आइतबार १४:५१:४२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।