विजय बरालको अनुभव : 'बा' लाई बुझ्न 'बा' नै हुनुपर्ने रहेछ

विजय बरालको अनुभव : 'बा' लाई बुझ्न 'बा' नै हुनुपर्ने रहेछ

काठमाडौँ : सर्लाहीको लालबन्दीका विजय बराल आफ्नो स्कुले जीवनमै चर्चित नेताहरूको आवाजको नक्कल गर्न थालिसकेका थिए। आठ कक्षामा पहिलो पटक आफ्नो क्षमता देखाए स्कुलमै।  

त्यतिबेला उनले आवाजहरूको नक्कलसँगै आफ्नै गाउँ ठाउँका चर्चित हास्य कलाकार नारद खतिवडाको हास्यरस मिश्रित ‘ढोका खोल न पोस्टेकी आमा ढोका खोल न हो’ बोलको गीतमा हास्यप्रधान नृत्य समेत गरे। चर्चित नेताको आवाजको नक्कल र साथमा हास्यप्रधान नृत्य हेरेपछि शिक्षक र साथीभाइमाझ उनी चर्चित भए।

‘मेरो नाच र आवाजको नक्कल देखेर साथीहरूले ओहो ! राम्रो गरिस् भनेर हौस्याए। त्यसैलाई मैले अभिनय ठानेँ,’ उनी पुरानो स्मृतिमा फर्किए ‘गाउँतिर यसैलाई अभिनय मानिन्थ्यो। साथीहरूको तारिफले मलाई अभिनयतर्फ थप आकर्षित बनाइदियो। मलाई ती तारिफहरूले गर्न सक्ने रहेछु भन्ने आत्मविश्वास बढायो।’

उनी क्यारिकेचर छाडेर रङ्गमञ्चतिर गए। अनि थाहा पाए अभिनय त महासागर रहेछ।

उनी अभिनयको भोक मेटाउन भारत गए अनि ४५ दिनको अभिनय कार्यशालामा सहभागी भए। त्यो कार्यशाला उनका लागि जीवनको कोशेढुङ्गा हुन पुग्यो। त्यहाँ भारतको राम्रा नाटक निर्देशकमा पर्ने एमके रैनाबाट प्रशिक्षण लिन पाए।

‘मैले अभिनयलाई सामान्य हिसाबले लिइराखेको थिएँ। तर अभिनय त अलग चिज रहेछ,’ उनले भारतमा प्रशिक्षणलिँदाको अनुभव भने ‘सबै दृष्टिकोणबाट अभिनयलाई देखाइरहिएको छ, पढाइरहिएको छ। समाजको दृष्टिकोणबाट पनि हेरिरहिएको छ। सबै प्रकारबाट दृष्टिगोचर गर्दा त अर्कै चिज रहेछ अभिनय। त्यहाँबाट बल्ल मेरो चेत खुल्यो।’

बिचमा उनको कलाकार हुने सपना हल्लिएजस्तो पनि भयो। उनको बुबा बैङ्कको जागिरे। कुनै दिन बैङ्कमा जागिर खानुपर्छ भनेर विजयले व्यवस्थापन पढेका थिए।

तर बुबाले उनलाई यही बन्नुपर्छ भनेर दबाब दिएका थिएनन्। हजुरबुबाले भने सहज जीवनयापनका लागि घरको जेठो नातिले बाबुले झैँ बैङ्कको जागिर खानुपर्छ भनेर हौस्याइरहे।

‘जागिर गर है जागिर गर, पछि गार्हो हुन्छ’ हजुर बा भन्थे।

उनले व्यवस्थापन सङ्कायको पढाइलाई निरन्तरता दिदैं आफ्नो अभिनयलाई रङ्गमञ्चमा निरन्तरता दिइराखे।

OOO

उनी अभिनयमा सक्रिय भए। काठमाडौँ आएर नाटक प्रशिक्षण लिन थाले। उनले कयौँ नाटकमा अभिनय गरिसक्दा पनि बाबुले छोरा कलाकार बनेको भने चालै पाएनन्।

पहिलो फिल्म ‘छड्के’ मा अभिनयको अवसर पाए उनले। उनको डेब्यु फिल्म यही नै हो। जब उनले ‘कबड्डी’ फिल्ममा अभिनय गरे बल्ल बाबुले थाहा पाए, छोरा त कलाकार भएछ भने। खुसी हुनुभयो।

‘नाटक गरिरहँदा बुबाले थाहा पाउनुभएन। पहिलो चलचित्र छड्केमा अभिनय गर्दा पनि उहाँलाई पत्तो भएन,’उनले भने ‘कबड्डीमा अभिनय गरेपछि मात्र उहाँले म कलाकार बनेको थाहा पाउनुभयो।’

‘कबड्डी’ पछि उनले त्यसैका तीन शृङ्खलासहित दर्जनौँ फिल्ममा अभिनय गरिसकेका छन्। उनी परिचित कलाकार भइसके।  ‘कबड्डी’ फिल्मको शृङ्खलामा उनले गरेको अभिनयको निकै प्रशंसा भयो। यसमा उनी ‘बिके’ पात्रबाट नेपाली दर्शकमाझ परिचित भए।

‘कबड्डी’ शृङ्खलाको क्यारेक्टरको प्रभावले उनलाई प्राय हास्यप्रधान भूमिकाको अफर आउन थाल्यो। सहायक भूमिका भए पनि उनको अभिनय दर्शकले मन पराइरहेका थिए।

OOO

झन्डै छ महिनाअघि बराललाई फोनमा फिल्मको प्रस्ताव आयो।  उनलाई अभिनय प्रस्ताव आउनु नयाँ कुरा भएन। तर त्यो फोन सामान्य थिएन।

जति अफर आए ती सहायक भूमिकाकै थिए। सहायक भूमिकामा अभिनय गर्न त उनलाई भ्याईनभ्याइ नै थियो नि। तर त्यो फोनमा सहायक भूमिकाको हैन मुख्य कलाकारकै प्रस्ताव थियो। अनि फिल्मको नाम थियो पूर्ण बहादुरको सारङ्गी।    

प्रस्ताव सुनेपछि पहिला त विजय अलमलमा परे। दुई सातासम्म निर्णय नै गर्न सकेनन्, मुख्य पात्रको भूमिकामा अभिनय गर्न सकिएला? अलमलमा परे।

‘साइड रोलकै लागि मात्र रोजाइमा पर्ने मलाई यस्तो प्रस्ताव बिरलै हुने गर्छ। त्यसैले चलचित्रको प्रस्ताव आएको दिन म ठ्याक्कै अन्योलमा परेँ’ उनले भने ‘दुई सातासम्म कुनै निर्णय गरिन। यो प्रस्तावले एक किसिमको ऊर्जा पनि दियो। अब अनुभवले पनि यस्ता भूमिका गर्न सक्छु भन्ने आँट जुटाएँ। त्यो बेलाको अवस्था शून्य थियो तर खुसीसहितको शून्यता।’

OOO

फिल्मको पात्र ‘पूर्ण बहादुर गन्धर्व’ पात्र बन्न झन्डै १० दिन तयारी गरे उनले। यो १० दिनमा उनले गन्धर्वको हाउभाउ, अनुहारको भाव र बोल्ने शैली अध्ययन गरे। सारङ्गी बजाउन, हातको हर्कत र सारङ्गी बजाउने शैली सिके।

‘हामीजस्ता दोस्रो रोजाइका कलाकारकाका लागि यो आयतनको भूमिका बिरलै प्राप्त हुन्छ। यसलाई म जतिसक्दो उत्कृष्ट बनाउन चाहन्थेँ’ उनले भने ‘त्यसैले मैले यसका लागि पर्दामा जतिसक्दो आफूलाई गन्धर्वका रूपमा स्वीकार्य गराउने गरी मिहेनत गरेको छु। उनले भने।

उनी कसैको छोरा त हुन् नै आफू पनि एक सन्तानको बाबु बनिसकेका छन्। यसको अनुभवलाई पनि उनले पर्दामा प्रयोग गरे। अनुभव पनि अभिनयका लागि एकदमै महत्त्वपूर्ण हुन्छ नै। अनुभवले पात्रको मनोदशा, अवस्था बुझ्न धेरै सजिलो पर्छ।

आफू बाबु भएपछि उनको सोचको आयतन बढेछ।

‘अहिले म बुबाको भाव बुझ्छु। एक समय मेरो बुबा मेरा लागि हिरो हुनुहुन्थ्यो। अहिले पनि हिरो नै हो। कहिले कहिले कुनै परिस्थितिमा केही भन्दा तनाव दिनुभयो कि जस्तो नि लाग्थ्यो। अहिले मेरो छोरो भयो। उसले मेरो छातीमा ढुक्ढुकाउँदै बाबा–बाबा भन्छ र आफ्नी आमालाई देखाउँछ। उसका लागि म आज हिरो जस्तै भएको छु। म पुग्ने बित्तिकै मेरो बाबा आयो भनेर पुलकित हुने गर्छ। मेरो बुबाको सवालमा पनि त्यही नै थियो’ उनले भने।

पूर्णबहादुरको सारङ्गीमा उनले त्यही गम्भीर बाबुको भूमिकामा अभिनय गरेका छन्। छोराका लागि जस्तोसुकै हन्डर खान तयार बाबु। व्यवहारमै आज बुबाको सबै भावना उनलाई महसुस हुन्छ रे।

‘बाबु बाबु नै हुने रहेछन्, जसले आफ्ना भावनाहरू व्यक्त गर्दैन तर उसको भित्र केही न केही हुन्छ–हुन्छ’ उनले भने ‘छोराको लागि बाबुले सपना देखेको हुन्छन् र छोराले पनि बाबुका लागि सपना देख्नुपर्छ।’      
    
बुबालाई आजकल गहिरिएर बुझ्न थालेदेखि विजयले बाबुहरूले सन्तानसँग आफ्ना व्यक्तिगत रहरहरू मुख खोलेर भनिहाल्ने गरेको थाहा पाउनु भएको छ।

‘मैले केही समय उहाँका रहरहरू सोध्दा उहाँले यस्तो जवाफ दिनुभयो, तँलाई हामीले बच्चामा सोध्थ्यौँ र ?’

बाबुको जवाफले आफ्नो सन्तानले नसोधी केही दिओस् भन्ने चाहना हुने रहेछ भन्ने बुझे। बाबुहरूले कहिले पनि म दुःखी छु नभने पनि  अपेक्षा चाहिँ भइराख्ने रहेछ भन्ने बुझे।

‘यो कुरा हामीले बुझ्ने हो भने बडा गज्जब हुने रहेछ। नबुझ्दा दुःख मान्नुहुँदो रहेछ। तर दुःख लागेको कुरा पनि व्यक्त नगर्ने बानी हुँदो रहेछ,’ उनले भने ‘अब चाहिँ बुबाका इच्छालाई सोचेर सम्झेर पूरा गर्ने बाटोमा लागेको छु। बाबुको भावनाहरू कस्तो हुन्छ मैले बुझ्न थालिसकेको छु।’

पूर्णबहादुरको सारङ्गीमा निभाएको आफ्नो चरित्रबाट छोराहरूमा यही भावना जागृत होस् भन्ने चाहन्छन् उनी।

(राससका लागिअशेष अधिकारीले लेखेको फिचर पुन सम्पादन गरी प्रकाशित गरिएको हो)

कात्तिक १७, २०८१ शनिबार २२:४२:१४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।