‘जन्ते बाख्रो’मा लिड गर्दै गरिमा, चार सय जनाबाट छानिएको निर्माताको दाबी
काठमाडौं : टिकटकमार्फत म्युजिक भिडियो हुँदै फिल्ममा प्रवेश गरेकी हुन् गरिमा शर्मा पछिल्लो समयकी व्यस्त मोडल हुन्। पछिल्लो तीन वर्षमा दुई सयभन्दा बढी म्युजिक भिडियोमा अभिनय गरिसकेकी उनी अभिनित ‘नबोली नबोली’, ‘पर्दैन फकाउन’, ‘एउटा सपना छ’, ‘बस्यौ अलग्गै’ लगायतका म्युजिक भिडियो हिट पनि भए।
टिकटकमा नाच्दा नाच्दै म्युजिक भिडियोमा आएकी उनले लगातार तीन वर्ष म्युजिक भिडियोमै अभिनय गरिन्। ‘चिलगाडी’, ‘लण्डन टु पेरिस’, ‘ह्रस्व दीर्घ’ लगायतका फिल्ममा काम गरे पनि दर्शकले अझै पनि उनलाई टिकटकरकै रुपमा चिन्छन्।
म्युजिक भिडियोपछि उनी फिल्म ‘चिलगाडी’मा अनुबन्ध भएकी थिइन्। यो फिल्मका उनको जोडीका रूपमा नाजिर हुसेन थिए। फिल्ममा अनुबन्ध भएको चार वर्ष भइसक्दा पनि निर्माता रघुनाथ सापकोटाले फिल्मको काम काम अघि बढाउन सकेका छैनन्।
पहिलो अफर आएर अनुबन्ध भइसकेको फिल्म नबनेपछि उनलाई अर्को फिल्म ‘लण्डट टु पेरिस’बाट अफर आयो। कतिबेला फिल्म खेलौं भइरहेकी उनले ‘नाइँ’ भन्ने कुरै भएन। साम्राज्ञी राज्यलक्ष्मी शाह मुख्य भूमिका रहेको फिल्ममा उनले साइड रोल पाइन्।
सायद उनलाई फिल्ममा काम गर्नु मात्र थियो, त्यसैले स्क्रिप्ट र आफ्नो भूमिकालाई खासै मतलब दिइनन्। न फिल्मले हलमा दर्शक पायो, न त उनको अभिनयले तारिफ नै! त्यसको सट्टा अलि–अलि गाली खाइन् बरु।
अनुबन्ध भएको पहिलो फिल्म बनेन, दोस्रो फिल्म सुपरफ्लप भयो। तेस्रो फिल्म ‘ह्रस्व दीर्घ’ यतिबेला जेनतेन हलमा टिकिरहेको छ। सोमबार उनी अभिनित फिल्मले देशभर मुस्किलले ४० शो पाएको छ।
फिल्म सोचे अनुरुपको नभए पनि यो फिल्ममा गरिमाले आफ्नो अभिनय सुधार गरेकी छन्। अभिनेत्री नीता ढुंगानाको बहिनीको भूमिकामा देखिएकी उनले आफ्नो भूमिकालाई न्याय गरेकी छन्। जसकारण उनले अहिलेसम्म गाली खानु परेको छैन।
दोस्रो फिल्ममा काम गरेर आफ्नो अभिनय केही सुधारेकी गरिमा अब भने सुपरफ्लप फिल्म ‘लण्डन टु पेरिस’ फिल्मका लेखक प्रदिप भारद्धाजको फिल्म ‘जन्ते बाख्रो’मा मुख्य भूमिका अनुबन्ध भएकी छन्।
शुक्रबार निर्माण पक्षले उनलाई फिल्मको मुख्य नायिकाको रूपमा अनुबन्ध गर्यो। यो फिल्ममा उनको जोडीको रूपमा सौगात मल्ल रहने छन्। चार सय जनाको अडिसनबाट गरिमालाई छानिएको निर्माण पक्षको दाबी छ।
कमेडी जनराको यो फिल्मलाई सिमोस सुनुवारले निर्देशन गर्दैछन्।
मंसिर १६, २०८१ आइतबार १८:२६:०९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।