कास्की प्रहरीले भन्यो 'इजलासमा रवि लामिछानेमाथि दुर्व्यवहार भएको छैन, टिकटकमा भ्रमपूर्ण सामाग्री नराख्नू'

कास्की प्रहरीले भन्यो 'इजलासमा रवि लामिछानेमाथि दुर्व्यवहार भएको छैन, टिकटकमा भ्रमपूर्ण सामाग्री नराख्नू'

काठमाडौं : जिल्ला प्रहरी कार्यालय कास्कीले सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि इजलासमा कुनै किसिमको दुर्व्यवहार नभएको दाबी गरेको छ। 

जिल्ला प्रहरी कार्यालय, कास्कीका प्रवक्ता डिएसपी प्रहरी वसन्त कुमार शर्माले जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानमा रहेका रवि लामिछानेलाई म्याद थपका क्रममा अदालत लैजाँदा इजलासमा प्रहरीले दुर्व्यवहार गरेको, हातहतियारसहित इजलासमा प्रवेश गरेकोलगायत आरोपको खण्डन गरिएको छ।

डिएसपी शर्माले टिकटक लगायत सामाजिक सञ्जालमा भ्रामक एवं झुट्टा समाचार, गलत सूचना सम्प्रेषण नगर्नसमेत अनुरोध गरेका छन्। 

‘तथ्यहीन, भ्रामक एवं झुट्टा समाचारहरूबाट जनमानसमा गलत सूचनाको सम्प्रेषण र सन्देश प्रवाह हुने र मुद्दाको तथ्यपूर्ण अनुसन्धानमा समेत नकारात्मक प्रभाव पर्ने हुनाले तथ्यमा आधारित रहेर मात्र सूचना सम्प्रेषण गर्न, गराउनु हुन सम्पूर्णमा अनुरोध गरिएको छ,’ विज्ञप्तिमा भनिएको छ।

कास्की प्रहरीले कसैले अनुमानका आधारमा भनेको, सुनेको तथ्यहीन कुरालाई सम्प्रेषण नगरी, सही, सत्य र तथ्यमा आधारित सूचना, समाचार, सन्देशमात्र सम्प्रेषण गर्न पनि अनुरोध गरेको छ।

पोखराको सूर्यदर्शन सहकारी ठगी आरोपमा कात्तिक २ मा काठमाडौं पार्टीको केन्द्रीय कार्यालयबाट पक्राउ परेका रविलाई त्यही दिन राति स्थलमार्गबाट पोखरा लगिएको थियो। 

त्यसपछि कात्तिक ४ मा उनलाई ६ दिनको म्याद लिएर प्रहरीले अनुसन्धान गरेको थियो भने दोस्रोपटक अनुसन्धानका लागि अदालतले थप ७ दिनको म्याद दिएको छ। 

कात्तिक १०, २०८१ आइतबार १२:१२:२२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।