सुप्रिम सहकारीको बचत अपचलनमा अनुसन्धान गर्न रवि लामिछानेलाई रूपन्देही ल्याउने तयारी

सुप्रिम सहकारीको बचत अपचलनमा अनुसन्धान गर्न रवि लामिछानेलाई रूपन्देही ल्याउने तयारी

बुटवल : बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई अनुसन्धान गर्न रूपन्देही ल्याउने तयारी गरिएको छ।

सहकारीको रकम अपचलन गरेको आरोपमा सभापति लामिछानेसँगै, पूर्वडीआईजी छविलाल जोशीसहित १२ जनाविरुद्ध गत बिहीबार रूपन्देही जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको छ। 

सहकारी ठगीको आरोपमा पक्राउ परेका तत्कालीन गोरखा मिडियाका सञ्चालक पूर्वडीआईजी जोशीलाई अनुसन्धानका लागि गत सोमबार रूपन्देही ल्याइएको थियो। त्यसपछि कात्तिक ५ र ६ मा अनुसन्धान गरी उनलाई पुनः पोखरा नै पठाइएको छ।

रूपन्देहीमा छविलाल जोशीको बयान सकिएर पोखरा पठाइएसँगै अब अनुसन्धानका लागि सभापति लामिछानेलाई यहाँ ल्याउने तयारी भएको जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रमुख एसपी रञ्जितसिंह राठौरले जानाकारी दिए।

‘पक्राउ पुर्जी जारी भएकाहरु क्रमश: अनुसन्धानको दायरमा आउँछन्। लामिछानेसहित सबै पक्राउ पर्नुहुन्छ,’ उनले भने।

बुटवलको सुप्रिम सहकारीबाट छविलाल जोशीको नाममा २ करोड ५० लाख र रवि लामिछानेको नाममा १ करोड ९६ लाख रूपैयाँ गोर्खा मिडिया नेटवर्क प्रालिमा गएको संसदीय विशेष छानबिन समितिको प्रतिवेदनमा उल्लेख छ। 

छानबिन समितिको प्रतिवेदनअनुसार जोशी र लामिछानेसहित गितेन्द्रबाबु राई (जीबी), भूपेन्द्रबाबु राई, कुमार रम्तेल र गोर्खा मिडिया नेटवर्कका नाममा गरी सुप्रिम सहकारीबाट १४ करोड २९ लाख ३६ हजार रूपैयाँ रकम पठाइएको छ।

सुप्रिम सहकारीका बचतकर्ता नारायणबहादुर पहराईसहितले गएको असोज ५ मा दिएको जाहेरीका आधारमा जिल्ला न्यायाधीश श्यामप्रसाद श्रेष्ठले रवि र छविसहित दीपक लामा, अनन्तबाबु राई, श्रीबल्भव नेपाल, विशाल तामाङ, रविना रिमाल, भगवती बम्जन, विज्ञान राई, सुरक्षा अधिकारी, नरेश जिसी र शिवबहादुर गुरूङलाई सहकारी ठगीसम्बन्धी फौजदारी कसूरमा मुलुकी फौजदारी कार्यविधिसंहिता २०७४ को दफा ९ उपदफा ३ बमोजिम पक्राउ गर्न अनुमति दिएको छ।

इलाका प्रहरी कार्यालयले यसअघि गरेको छानबिनमा सुप्रिम सहकारीका अध्यक्ष ओमप्रकाश गुरूङ, संरक्षक जीबी राई, भूपेन्द्रबाबु राई, छविलाल जोशी, सहकारीका पूर्वसचिव दीपेश पुन, कुमार रम्तेल, सहकारीका व्यवस्थापक सागर केसी, दुर्गा पाण्डे, रोशनी गुरूङसहित २८ जनालाई प्रतिवादी बनाएर जिल्ला अदालत रुपन्देहीमा मुद्दा दायर गरिएको थियो।

तीमध्ये अध्यक्ष गुरूङ पुर्पक्षका लागि कारागार चलान भएका छन्। सहकारीका पूर्वसचिव दीपेश पुनसहित ६ जना धरौटीमा छुटेका छन्। 

तत्कालीन अध्यक्ष जीबी राईसहित अन्य व्यक्ति फरार छन्। 

कात्तिक १०, २०८१ आइतबार ०९:४७:२५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।