प्रचण्डले भने ‘रविलाई कुनै पनि हालतमा बचाउनै पर्छ भन्ने केपी ओली हो, म हैन’

प्रचण्डले भने ‘रविलाई कुनै पनि हालतमा बचाउनै पर्छ भन्ने केपी ओली हो, म हैन’

काठमाडौँ : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारको गतिविधिमाथि खबरदारी गर्न आयोजित सभालाई ‘रविलाई बचाउन आयोजना गरेको’ भनेर अफवाह फैलाउने काम गरेको बताएका छन्।

उनले काठमाडौँमा आयोजित खबरदारी सभामा बोल्दै सभा रविलाई जोगाउन आयोजना नगरेको र माओवादी सबै सहकारी पीडितले न्याय पाउनु पर्छ भन्ने पक्षमा रहेको बताए।

‘मैले सरकारको नेतृत्व गर्दा सहकारी पीडितलाई न्याय दिन पचासौँ बैठक सिंहदरबारमा राखेको छु। सहकारी ठगहरूलाई सजाय दिनुपर्छ भन्नेमा कुनै द्विधा छैन’ उनले भने।

उनले सहकारीको रकम अपचलनमा रविको कुरा चलिरहेको बेलामा आफैँले रविलाई छानबिन समिति गठन गरेर छानबिन गराउनु पर्छ भनेर सम्झाएको र रवि पनि छानबिन समितिको पक्षमा रहेको भन्दै ‘रविलाई कुनै पनि हालतमा बचाउनै पर्छ भन्ने केपी ओली भएको दाबी गरे।

उनले सहकारीको रकम अपचलनको विषयमा सरकारले अहिले जस्तो रवैया अपनाएको छ त्यसमा माओवादीको आपत्ति रहेको बताए। संसदीय छानबिन समितिको प्रतिवेदनमा रहेको नेपाली कांग्रेस र एमालेसँग जोडिएकालाई केही नगर्ने तर राजनीतिक पूर्वाग्रहको आधारमा प्रतिपक्षीलाई पक्राउ गर्ने काम गलत भएको उनले बताए।

‘यो खबरदारी सभा कसैलाई बचाउन आयोजना गरेको हैन। माओवादीलाई बचाउनु पर्दैन। सिआइबीका प्रहरीलाई अपराधमा प्रचण्ड देखिए पनि पक्राउ गरे हुन्छ भनेको हो। त्यस्तो भन्ने दलले कसैलाई बचाउन सभा गर्छ? यी सबै अफवाह हो’ उनले भने।

कात्तिक ९, २०८१ शनिबार १५:५३:५२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।