सुप्रिम सहकारी ठगी प्रकरणमा रवि लामिछानेविरूद्ध जिल्ला अदालत रूपन्देहीले पक्राउ पुर्जी जारी गर्यो
काठमाडौं : रूपन्देही जिल्ला अदालतले बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरूद्ध पक्राउ गर्न अनुमति दिएको छ।
अदालतले बिहीबार रविसँगै पूर्वडीआईजी छविलाल बन्जाडे जोशीसहित १२ जनालाई संगठित अपराधमा पक्राउ गर्न अनुमति दिएको अदालतका सूचना अधिकारी अनन्तराज मरासिनीले जानकारी दिए।
सूर्यदर्शन सहकारी ठगि प्रकरणमा कास्की जिल्ला अदालतमा मुद्दा चलिरहेको छ। उनीविरूद्ध आजै अदालतले थप ७ दिन हिरासतमा राख्न अनुमति दिएको छ।
अब भने रविविरूद्ध सुप्रिम सहकारी ठगी प्रकरणमा पनि अनुसन्धान हुने भएको छ।
सुप्रिम सहकारीको रकम पनि लामिछाने प्रबन्ध निर्देशक रहेको गोर्खा मिडिया प्रालिमा अपचलन भएको सहकारीसम्बन्धी संसदीय छानबिन समितिले ठहर गर्दै कारबाही सिफारिस गरेको थियो।
नेपाल प्रहरीबाट अवकाश पाएपछि जोशी गितेन्द्रबाबु राई जीबीसँग मिलेर उनको व्यवसायमा संलग्न रहेका थिए। हर्बो लगायतका कारोबारमा पाट्नर भएका उनी जीबीले गोर्खा मिडिया प्रालिबाट ग्यालेक्सी टेलिभिजन खोलेपछि त्यसमा साझेदार बनेका थिए।
सूर्यदर्शन सहकारी र सुप्रिम सहकारीको रकम अपचलनबारे प्रहरीले अनुसन्धान सुरू गरे पनि उनलाई प्रतिवादी बनाइएको थिएन। संसदीय समितिले उनको समेत नाम किटान गरेपछि प्रहरीले असोज ६ गते उनलाई पक्राउ गरेर पोखरा पठाएको थियो।
सूर्यदर्शनको अनुसन्धान सुरू भएलगत्तै पक्राउ परेका कुमार रम्तेललाईसमेत बुटवल लगिएको थियो। गोर्खा मिडियाका अध्यक्ष जीबी राई भने फरार छन्।
कात्तिक ८, २०८१ बिहीबार १९:४२:०६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।