रविको म्याद थप रोक्ने रास्वपा नेताहरूको रणनीति दोस्रोपटक पनि 'फेल'

रविको म्याद थप रोक्ने रास्वपा नेताहरूको रणनीति दोस्रोपटक पनि 'फेल'

काठमाडौं : कास्की जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई थप सात दिन हिरासतमा राख्न अनुमति दिएको छ।

बिहीबार न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले अनुसन्धानका लागि रविसहित छविलाल जोशी र लिला पछाईलाई  पनि थप सात दिनको समय दिएको हो। 

सहकारी ठगी प्रकरणमा पूर्व गृहमन्त्रीसमेत रहेका लामिछाने कात्तिक २ मा काठमाडौंबाट पक्राउ परेका थिए। उनलाई त्यही दिन राति स्थलमार्गबाट पोखरा लगिएको थियो। 

यसअघि, अदालतले लामिछानेमाथि अनुसन्धान गर्न प्रहरीलाई ६ दिनको म्याद दिएको थियो। 

रवि पक्राउ परेपछि रास्वपा कार्यकर्ताले पोखरासहित देशका विभिन्न ठाउँमा विरोध प्रदर्शन गर्दै आइरहेका छन्। सरकारले प्रतिशोध साँधेर उनलाई पक्राउ गरेको र बयानमा पनि ढिलो गरिएको भन्दै उनीहरूले प्रदर्शन जारी राखेका छन्। 

त्यसपछि रास्वपा नेता तथा कार्यकर्ता रविलाई हिरासतमा राख्ने म्यादको सट्टा तारेखमा छुटाउने रणनीतिमा लागे। त्यसका उनीहरूले अदालतलाई प्रभावमा पार्न देशैभरबाट कार्यकर्ता बोलाएर पोखरामा प्रदर्शन गरे। तर, पहिलोपटकको उनीहरूको प्रयास असफल भयो। 

फेरिपनि उनीहरू बिहिबार म्याद थप रोक्ने रणनीतिमा लागे। सहकारी ठगीमा संलग्नताको आधारमा भन्दा पनि राजनीतिक प्रतिशोध रहेको सन्देश दिन सक्रिय रहेका उनीहरूले त्यही रणनीति अनुसार बिहीबार बिहानै पोखरामा पत्रकार सम्मेलन गरे भने दिउँसो म्याद थप गर्न लैजाँदा विरोध प्रदर्शनको गरेका छन्।

तर, उनीहरूको दोस्रो प्रयास पनि विफल भएको छ।  

कात्तिक ७, २०८१ बिहीबार १५:२१:५८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।