संगीतकार राजु सिंहको हिजोको कुरा : मेरा लागि रेडियो नेपाल र नेपाल टेलिभिजन संगीतको आमा, ०४६ स्वर्णिमकाल

संगीतकार राजु सिंहको हिजोको कुरा : मेरा लागि रेडियो नेपाल र नेपाल टेलिभिजन संगीतको आमा, ०४६ स्वर्णिमकाल

संगीतकार राजु सिंह संंगीत क्षेत्रमा साढे तीन दशक बिताइसके। सानैबाट गाउन र बजाउन सिपालु थिए उनी। बुवा भगत सिंह रेडियो नेपालको वरिष्ठ वाध्यवादकमा रूपमा जागिरे भएकाले सांगीतिक जीवनको शुरूमै नाम चलेका गायक गायिका तथा संगीतकारहरूसँग समेत सहकार्यको मौका पाए।

बुबाको प्रेरणाले पनि उनी संगीतमा लागेका रहेछन्। पारिवारिक माहोल नै सांगीतिक भएपछि उनमा पनि रुचि बढ्दै गयो। विद्यालय जीवनमा नै गीत गाउने र भ्वाइलेन बजाएर साथीभाइ र विद्यालयका शिक्षकहरूलाई मोहित बनाउँथे उनी।

राम्रो भ्वाइलेन बजाउन जानेकैले बुवाकै सिफारिसमा २०४६ सालमा रेडियो नेपालमा वाद्यवाधकका रूपमा प्रवेश गरे। रेडियो नेपालमै झण्डै १० वर्ष काम गर्ने क्रममा नाम चलेका गायक-गायिकाहरू नारायण गोपाल, तारादेवी, नातिकाजीहरूसँग उनको संगत बढ्यो।

पहिला बुवाको नामले चिनिने उनी पछि आफ्नै परिचय बन्यो। रेडियो नेपालमा रेकर्ड हुने अधिकांश चर्चित गायक गायिकाहरूको गीतमा धुन भर्ने काम गरे उनले। त्यसपछि एरेन्जरको रूपमा आफूलाई उभ्याएका उनले पछि नातिकाजीको संगतले संगीत भर्ने काम गरे।

नातिकाजी, शम्भुजित बास्कोटा, सिके रसाइली, नारायण गोपाल, अरुणा लामा लगायतका गीतमा उनले म्युजिक भर्नेदेखि संगीत गर्नेसम्मका काममा सहकार्य गर्ने मौका पाए। उनी पछिल्लो समय पनि गीत संगीतमा सक्रिय छन्।

करिब तीन पुस्ताका गायक-गायिकासँग काम गरेका उनै राजु सिंहले उकेराको नियमित स्तम्भ ‘हिजोका कुरा’मा आफ्ना अनुभव यसरी साटेका छन्।

स्कुल पढ्दा शिक्षिकाले गीत गाउनेले पढ्नुपर्दैन भनेपछि...
काठमाडौंको पुतली सडकमा जन्मिएको हुँ म। बाल्यकाल पुतलीसडक र बागबजारको माटोमा लडिबढी गदै बित्यो। मैले शहीद शुक्रराज र भानुभक्त मेमोरियलमा स्कुलमा पढेँ। पढाइमा अलि ट्यालेन्ट नै थिएँ।

स्कुल लेबलदेखि नै गीतसंगीतमा सक्रिय भएँ। हरेक शुक्रबार गीत संगीतको कार्यक्रममा सहभागी हुन्थेँ। एक दिन मैले होमवर्क नगर्दा गणित पढाउने शिक्षिकाले नमीठो तरिकाले भन्नुभयो, ‘तैले अब बजाएर, गीत गाएर खाने हो। अब पढ्नुपर्दैन।’

शिक्षिकाले त्यसो भनेपछि मेरो कलिलो दिमागले पढेर पनि संगीतकार बन्छु भनेर झन् बढी मेहनत गर्न थाले। अनि एसएलसी सकेपछि तिनै शिक्षिकाको अगाडि उभिएर धन्यवाद दिएँ। उहाँले मलाई त्यसो नभनेको भए पढाईमा त्यति अब्बल सायद हुँदैनथेँ कि!

त्यो घटना सम्झँदा जीवनमा घृणा, आलोचना र गाली गर्ने मानिस हुँदा उनीहरूले पनि ऊर्जा दिने रहेछन् भन्ने महसुस गरेँ।

१५/१६ वर्षको उमेरमा केटीको बिहे भइसक्थ्यो
मैले थाहा पाउँदा अहिलेका जस्ता ठूला बोर्डिङ स्कुल थिएनन्। भानुभक्त मेमोरियल, बालकुमारी लगायत स्कुलहरू थिए। अर्को त्रिभुवन आदर्श स्कुल फर्पिङमा थियो। तर नाम चलेका संगीतकार, गीतकार, गायक तथा फिल्मकर्मी तथा ठूल्ठूला मान्छेहरू पढ्ने भनेको पद्मोदय सेकेण्डरी स्कुल हो।

सरकारी स्कुलमा विद्यार्थीहरू भरिभराउ हुन्थेँ। मैले स्कुल पढ्दाको समयमा साधारण परिवारदेखि विजनेशमेनका छोराछोरीहरू बोर्डिङभन्दा पनि सरकारी स्कुलमै पढ्ने गरेका थिए।

म स्कुल पढ्दा पढ्दै कति केटी साथीहरूको बिहे भएको देखेको छु। केटीहरू १५/१६ वर्षको उमेर अगाडि नै बिहे गर्दिने चलन थियो। पढ्नका लागि उनीहरू ट्यालेन्ट भए पनि परिवारले बुझ्दैन थिए। केही साथीहरू त बिहेपछि पनि स्कुल पढ्न आउनु हुन्थ्यो।

बुवा रेडियो नेपालको बाद्यवाधक
मैले सानैबाट विभिन्न बाजागाजा बजाउँथे। साथीहरूले पनि मलाई राजुले भोलिका दिनमा केहि गर्छ है भनेर उकास्थे। मैले थाहा पाउँदा मेरो बुवा भगत सिंह रेडियो नेपालमा बाद्यवाधकका रूपमा कार्यरत हुनुहुन्थ्यो। बुवा वाद्यवाधकका रूपमा त्यतिबेला चर्चित हुनुभएकोले पनि होला, मलाई केही सहज वातावरण सिर्जना भयो।

मेरो बुवाले मलाई ‘तँ पढेको संगीतकार हुनुपर्छ। राम्रो संगीतकार बन्न पनि पढाइ गर्नुपर्छ। तैले आफ्नो संगीत सुन्नलाई पनि पढ्नुपर्छ’ भन्नुहुन्थ्यो। तर बुवाको चाहाना संगीतमा आओस् भन्ने थिएन। किनभने त्यतिबेला संगीत व्यावसायिक थिएन। संगीत गरेर अहिलेको जस्तो जिविका चलाउन नसकिने हुनाले पढ्यो भने त केही गर्ला नि भनेर होला पढ्न उक्साउनुहुन्थ्यो।

संगीतकर्मीहरू कोही नाचघरमा त कोही प्रज्ञा प्रतिष्ठान लगायतका संस्थाका कर्मचारीहरू थिए। केही मात्रै स्थायी रूपमा काम गर्थे। त्यो समयमा संगीतकर्मीहरूलाई आर्थिक हिसावले बलियो बनाउने माध्यम थिएन। त्यसैले होला, बुवाले मलाई पढाइमै जोड दिन लगाउनुभएको। संगीतसँगै त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्रमा डिग्री पनि गरेँ।

मलाई संगीतमा बुद्धि जंगम, सकुन्तला प्रधान, जितेन्द्र जोशी, मोहनकृष्ण कार्की ‘डली’ लगायतले सिकाउनुभयो। केही विदेशी गुरुहरूबाट पनि मैले शास्त्रीय संगीत सिक्ने मौका पाएँ। लण्डनको ट्रिनिनी कलेज अफ म्युजिकबाट डिप्लोमा गर्दा त्यहाँ हाब्रोनले संगीत सिकाउनुभयो। साढे तीन दशकको सांगीतिक यात्रा चुनौतीपूर्ण नै रह्यो।

रेडियो नेपालमा १० वर्षे करार जागिर
मैले रेडियो नेपालमा २०४६ सालमा वाद्यवादकका रूपमा काम गर्न थालेको हो। मैले एसएलसी दिएपछि रिजल्ट आउन ५/६ महिना लाग्थ्यो। त्यतिबेला बुवाले नातिकाजी लगायतलाई छोरोलाई यसो अल्झाइदिनुपर्यो भन्नुभयो। त्यो समय नै मेरा लागि स्वर्णिमकाल भयो। त्यो समयका जयनन्द लामा, गणेश परियार लगायत देशका अग्रज कलाकारहरू रेडियो नेपालमा भेला हुने भएकाले कलाकारका लागि रेडियो नेपाल तीर्थस्थल नै थियो।

नारायण गोपाल, तारादेवी, अरुणा लामादेखि पछिल्ला पुस्ताका कलाकारहरूसम्मलाई चिन्ने मौका पाए। मेरो बुवा नेपाली संगीतमा राम्रो वाद्यवादक भएकाले पनि मैले धेरैको माया पाएँ। त्यही मायाले नै होला, मैले २०४६ देखि २०५५ सालसम्म नै रेडियो नेपालमा करारमा काम गरेँ। रेडियो नेपालमा नै मैले धेरै कुराहरू सिक्ने मौका पाए।

यदि म म्युजिसियन भगत सिंहको छोरा नभइदिएको भए रेडियो नेपालमा सायदै ठाउँ पाउँथे होला। बाहिरको मान्छेलाई अहिलेको जस्तो सहज वातावरण पनि थिएन। बुवाको नाताले मैले सहज रूपमा रेडियो नेपालमा म्युजिसियनको रूपमा काम पाएँ।

संगीतकार बन्नका लागि संस्कार पनि चाहिने कुरा बुवाले सिकाउनुभयो। रेडियो नेपालमा मैले काम नगरेको भए या आवद्ध नभएको भए म कुनै कलेजमा अर्थशास्त्रको शिक्षक भएर विद्यार्थी पढाइरहेको हुन्थेँ होला। त्यस कारण पनि रेडियो नेपाल, नेपाल टेलिभिजनलाई म संगीतको आमा भन्न रुचाउँछु। यहाँ रहँदा मैले धेरै सिक्ने मौका पाएको थिएँ।

अग्रजको गीतमा वाद्यवादक
नातिकाजी, शिवशंकर, शम्भुजित बास्कोटा, सिके रसाइली लगायतका जति पनि संगीतकार र गायकगायिकाहरू आउनुहुन्थ्यो, उहाँहरूको गीतमा मैले सहकार्य गर्ने मौका पाए। यो मेरो जीवनको ठूलो उपलब्धि हो। मैले नातिकाजीका अधिकांश गीतमा भ्वाइलेन्स बजाउने अवसर पाएको छु।

बस्ने बितिक्कै गीतको धुनको तयार पार्न सक्ने क्षमता थियो नाजितकाजीमा। गीत रेकर्ड गराउँदा उहाँ आफैँ रेकिर्डङ स्टुडियोमा बस्नु हुन्थ्यो। सबै कुराको निरीक्षण र अनुगमन गर्नुहुन्थ्यो। मैले यही मेसोमा नातिकाजीको ‘छातिभित्र लुकाएको माया’मा एरेन्ज गर्ने मौका पाएँ। त्यसपछि नातिकाजीसँग ‘तिम्रो निश्चलतामा’बोलको गीतमा पनि सहकार्य गर्ने अवसर पाएँ।

बुलु मुकारुङको संगीतमा ठूले राईले गाउनुभएको मैले एकलौटी रूपमा एरेन्ज गर्ने मौका पाएँ।

शम्भुजित बास्कोटाको संगीत रहेको गीत ‘धेरै दिन भो तिम्रो झझल्को’मा मैले एरेन्ज भरेको छु। उहाँका थुप्रै गीतमा मैले एरेन्ज गरेको छु। अहिले पनि यो गीत सुन्दा आफैँलाई गर्व लाग्छ। मैले लोक गीत ‘खोला पारी निरमाया’बोलको गीतमा एरेन्ज गरेको छु। त्यो समयमा यो भाकालाई पदम बिष्ट र जलु गुरुङले गाउनुभएको थियो।

अहिले यही भाकामा केही गीतहरू समेत बजारमा आएको देखेको छु। यही गीत एकपटक पाल्पा घुम्न जाँदा बाटोमा ठुलो माइकमा घन्काइएको थियो। अनि यो गीत कहाँ सुनेको, कहाँ सुनेको जस्तो भइरहेको थियो। पछि पो थाहा भो यो गीतको एरेन्ज त मैले गरेको रैछु। कतिपय गीतमा स्वर नआउँदा पनि झुक्किने रैछ।

अर्को गीत तारादेवीको स्वरमा ‘छातीभित्र लुकेको माया’मा सहकार्य गर्ने मौका पाएको थिएँ। यो गीतलाई गणेश बहादुर थापाले लेख्नुभएको छ। त्यो समयमा मैले थुप्रै गीतहरूमा एरेन्ज गर्नेदेखि बाजा बजाउनेसम्मको काम गरेँ। अहिले ती कालजयी गीतमा आफूले सहकार्य गर्न पाउँदाको क्षणलाई एकदमै सम्झन्छु। म आफूलाई भाग्यमानी रैछु भन्ने पनि लाग्छ।

अर्को पन्नाकाजी ज्युको ‘तिरीरी मुरली बज्यो बनैमा’ गीतमा पनि उनले संगीतको नोटेसन गर्ने काम गरेका छन्। अघिल्ला र पछिल्ला पुस्तासम्मका गायक गायिकाहरूसँग मैले गीतसंगीतमा सहकार्य गर्ने काम अहिले पनि जारी रहेको छ। त्यसैले पनि आफूलाई म भाग्यमानी सम्झन्छु।

त्यो बेला जमघटमा गीतको सहकार्य हुन्थ्यो
मैले थाहा पाउँदा एउटा गीत निर्माण गर्दा लामो समय लाग्थ्यो। गीतकारले गीत लेख्थ्यो, संगीतकारले संगीत बनाएपछि मात्र गायकले गाउँथ्यो। सबै जनाको मेल हुन्थ्यो।

सबै जनाको छलफलपछि गीत रेकर्ड गरिन्थ्यो। अहिले त कसैले कसैलाई पनि चिन्दैन। गायक स्टुडियोमा जान्छ गीत गाउँछ बाहिरिन्छ। त्यतिबेला त गीत रेकर्डको लागि समय पाउन नै संघर्ष गर्नुपर्ने हुन्थ्यो। त्यही कारणले पनि पुराना गीतहरू कालजयी बनेका हुन् जस्तो लाग्छ।  

अहिले त संगीतकार विना नै गीत रेकर्ड भइरहेका छन्। गीतकार विना नै भइरहेका छन्। गीत रेकर्डका लागि त्यो बेलाको जस्तो सबैको भेट पनि भइरहेको छ। गीत रेकर्ड हुन्छ। डिजिटल सिस्टमले अलिकति प्रभाव पारेको महशुस गरेको छु।

कात्तिक ७, २०८१ बिहीबार १४:३६:५४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।