आफूले इंग्लिस नजानेको लाजले चार कक्षामै पढाई छाडे, सन्तानको पढाइकै लागि दुबईसम्म पुगेर मजदुरी गरे
५२ वर्षअघि सिन्धुलीको सुनकोशीको गाउँपालिकामा जन्मिएका राजु बहादुर श्रेष्ठको इमाडोलमा चिया पसल छ। यो चिया पसल मुख्यतया उनकी श्रीमतीले चलाउँछिन्। राजु पेसाले ड्राइभर हुन्। उनको आफ्नै बुलेरो छ। कुनै समय दिनकै ३ हजारमाथि कमाउने उनी अहिले भने श्रीमतीले सञ्चालन गरेको चिया पसल हेर्छन्। प्राय उनको दैनिकी यतै बित्छ।
एक छोरा, एक छोरी रहेका राजुलाई परिवार हेर्नुपर्ने बाध्यता छैन। छोरा भर्खरै बाहिर गएर आएर फेरि उतै जानको लागि पढ्दै छन् भने छोरीको विवाह गराई दिइसकेका छन्। आफू र श्रीमती काठमाडौँ टिक्नको लागि मात्रै होटल सञ्चालन गरेर बसिरहेको राजु सुनाउँछन्।
‘यो होटल हामी दुई जनालाई काठमाडौँ टिकाउने खर्च धान्नलाई मात्रै खोलेको जस्तो भएको छ। प्राय चिया र अर्डर अनुसारको खाना मात्रै बनाउँछौँ। मान्छे पनि त्यति धेरै आउँदैनन्। कमाई पनि छैन’, उनले भने।
000
‘लाजले पढ्नै छोडि दिएँ’
सिन्धुलीको मध्यम परिवारमा जन्मिएका राजुका भाइहरू ४ जना थिए। परिवारको आर्थिक स्रोत खेतीपाती भएकोले खानलाई त्यतिधेरै दुख थिएन। त्यसैले बुवाले कमाउन भन्दा पढ्नमै ध्यान दिन आग्रह गर्थे राजुलाई। तर, उनी साथीको संगतले गर्दा ३ कक्षा पढ्दा पढ्दै काठमाडौँ हानिए।
‘३ कक्षा पढेर पास भएपछि साथीसंगतले गर्दा पढ्न पाइन। पढाइको चर्चा अहिलेको जस्तो चर्चा थिएन। कमैले पढ्ने गर्थे। तर, मलाई पढाइमा रोकावट चाहिँ थिएन। साथी संगतले गर्दा पढ्दा पढ्दै छाडेको,’ उनले सम्झिए।
उनको घर र स्कुल पनि धेरै टाढा थिएन। घरबाट हिँडेर जम्मा १ किलोमिटरको दुरीमा थियो। तर, पढ्नै मन नभएपछि कसको के लाग्नु!
उनलाई काठमाडौँ कति सालमा आएकोसमेत सम्झना छैन। त्यस्तै १३/१४ बर्षको आसपास आएको अनुमान लगाउँछन् छ उनको।
काठमाडौँ आएपछि राजुले त पढाई भुलिसकेका थिए। काठमाडौँमा काम गरे, भारत गएर ५ बर्ष बसे। तर, उनको बुवाले पछि नेपाल ल्याए। र छोरा पढोस् भनेर फेरि स्कुल भर्ना गरिदिए, कक्षा ४ मै।
त्यो बेला ४ कक्षाबाट मात्रै अंग्रेजी पढाउने व्यवस्था रहेछ। लामो समय पढाई छोडेका राजुलाई पढ्न मन लागेनछ। त्यसमाथि पनि कुनै समय आफैंसँग पढेका साथीहरू नै ८ कक्षा पुगेपछि भने उनको पढ्न मन नलाग्नुलाई थप बल पुग्यो।
पढाई छोड्नुको प्रमुख कारण चाहिँ अंग्रेजी नआउनु रहेछ।
‘अहिले पो सानैदेखि अंग्रेजी पढाउन थाले त, पहिला त्यस्तो थिएन। अनि पछि आफू सरहका साथीहरू ८ कक्षामा पुगिसकेका थिए। म चैं ४ कक्षामा पढ्न पर्ने, त्यहीमाथि इग्लिंस केही पनि नआउने। अनि लाजले आफैं पढ्न छोडिदिएँ,’ उनले सुनाए।
‘भागेर काठमाडौँ आएँ’
राजुले पढाई छोडेपछि घरबाट भागेर साथीहरूसँग काठमाडौँ आए। काठमाडौँ आएपछि यहाँ कसैसँग चिनजान थिएन। त्यसैले उनले काठमाडौँमा बाँच्नको लागि आफैंले काम खोज्नुपर्ने देखे। जसले गर्दा उनले काम पाए, होटलमा।
‘काठमाडौँ आउँदा पैसाको त्यति धेरै मतलव नै थिएन। काठमाडौँमा कसरी खाने, बस्ने भन्ने मात्रै चिन्ता थियो। अलिअलि पाइहालिन्थ्यो। तर तलब नै भनेर चाहिँ बसिएन। त्यतिबेला ठुलो उमेरको भए पो खर्च हुनु। त्यहिमाथि अहिलेको जस्तो महंगी पनि थिएन,’ उनले भने।
काठमाडौँ आएको ४/५ महिनापछि होटल छोडेर उनी मैतीदेवीको मिठाई पसलमा काम गर्न गए। त्यहाँ केही महिना काम गरे। अनि त्यही काम गर्ने भारतको विहार राज्यका मिस्त्रीसँगै भारत गए।
‘काठमाडौँ आएपछि होटलमा भाडा माझ्ने, टेबल सफा गर्ने गरियो। केही महिना काम गरेपछि मैतीदेवीको मिठाई पसलमा गएँ। त्यहाँ मिस्त्री विहारबाट आएको थियो’ उनी सुनाउँछन् ‘केही महिना मिठाई पसलमा काम गरेपछि ती मिस्त्रीको घरमा छोराको विवाहको लागि उ घर जाने भयो। त्यही बेला म पनि जान्छु भन्दै अड्डी कसे। अनि उनैले लिएर गए।’
तर, उनलाई कुन साल भारत गएको भन्ने याद नै रहेनछ। त्यहाँ पनि घरको काम पाए। भारतीय कांग्रेसको ठुलै नेताको घरमा काम गरेका उनी सम्झन्छन्। तर कुन नेताकोमा काम गरे भन्ने नाम चाहिँ उनको मानसपटलमा आउँदैन।
‘त्यो घरको साहु ठुलो कांग्रेसको नेता रहेछ। नाम चाहिँ था भएन तर, उसको राइस मिल थियो, ठुलै जमघट पनि हुन्थ्यो। ठुलो बंगला थियो। अहिले त्यो ठाउँमा गएभने अहिले पनि पहिल्याउन सक्छु,’ उनले भने।
राजुले करिब ५ बर्ष विहारमा बिताए। उनी अझै बस्थे होलान् वा उतैको बासिन्दा पनि हुन्थे होला तर पछि बुवाले उनको खोजी गरेछन्।
राजुले मैतीदेवीमा काम गर्दा गाउँको उनका एकजना दाइले पर्नेले देखेका रहेछन्। त्यसपछि उनकै सहारामा राजुका बावु काठमाडौँ आएर, मैतीदेवीको साहुलाई भनेर, मिस्त्रीको ठेगाना लिएर छोरा खोज्न विहार गए। अनि राजुलाई नेपाल फिर्ता ल्याउन सफल भए।
फेरि भारत
बुवाको पहलमा काठमाडौँ आएपछि उनले धागो उद्योगमा काम गरे। त्यो काम गर्दागर्दै उद्योगको मेसिन बनाउने जुन मिस्त्री थियो। त्यो मिस्त्रीसँगै उनी फेरि भारतको हरियाणा गए। त्यहाँ उनले काम सिक्न पाए।
‘बौद्धको एउटा धागो उद्योगमा काम गरें। त्यो मेसिन बनाउने मिस्त्री थिए, हरियाणाको उनैसँग काम सिक्न उतै गएँ,’ उनले भने।
४ बर्ष जति हरियाणा बसेर मेसिन बनाउने काम सिकेर उनी नेपाल आए। अनि धागो उद्योगमा मेसिन बनाउने नै काम गरे। उनको काम राम्रै चलिरहेको थियो। तर १० बर्षे माओवादी द्धन्द्धले गर्दा काम राम्रोसँग चल्ने पाएन।
‘त्यो काम गर्दा गर्दै माओवादी द्धन्द्ध चल्यो। कारखानाका मजदुरहरू सबै युनियनमा गए। त्यतिबेला म मिस्त्रीको साथै, साहुले ठेकेदार पनि बनाइदिएको थियो’ उनी भन्छन्, ‘आफ्नो सिफ्टमा बिग्रेको मेसिन पनि आफैंले बनाउने र अरू बेला ठेकेदारी पनि गरें। त्यो उद्योगमा २६ जना कामदार मात्रै थिए।’
माओवादी आन्दोलनले गरेर काम गर्न नसक्ने अवस्था आयो। बन्द हडतालको कारण उनले काम छोड्नु पर्ने। साहुले दिने ज्याला सीमित दिन्थे तर, माओवादी कार्यकर्ताले चन्दा भन्दै ज्याला भन्दा बढी पैसा माग्न थालेपछि उनले काम नै छोडिदिए।
‘यदि माओवादी आन्दोलन नभएको भए, म अहिले त्यही काममा हुन्थे होला। कमाई भन्दा बढी चन्दा दिनुपरेपछि भने मैले काम छोडिदिएँ। पहिला माओवादी गाउँमा मात्रै थियो पछि त सहरमै पसेपछि काम गर्नै गाह्रो भयो त्यसैले काम नै छोडिदिए’ उनले भने।
‘...अनि दुबई गएँ’
जब राजुले काम छोडे तब केटाकेटी कसरी हुर्काउने भन्ने चिन्ता थपियो। किनकी त्यसबेलासम्म उनले बिहे गरेर पनि छोराछोरी जन्मिसकेका थिए। काम छोडेको लामो समय उनी बेरोजगार हुनु परेपछि उनी २०६२ सालमा युएई (दुबई) गए। हेल्परको रुपमा काम गर्न गएका उनको त्यो बेला जम्मा ६ सय दिराम तलब रहेछ। त्यही तलबले खाने, घर परिवारलाई पठाउनेसम्मको खर्च गर्नु पर्थ्यो।
जसोतसो केही महिना उनले त्यही काम गरे। पछि भने कम्पनीको म्यानेजरले नै लाइसेन्स बनाएर गाडी चलाउन सुझाएछन्। तर राजुसँग भने लाइसेन्स बनाउनेसम्मको पैसा नभएपछि उनै म्यानेजरले पैसा हालिदएर सोही कम्पनीको गाडी चलाए।
‘त्यो कम्पनीको म्यानेजर सहयोगी भावनाको थियो। केरलाको थियो। त्यसले मलाई धेरै सहयोग गर्यो। दुबईको लाइसेन्स निकाल्नदेखी पेपर सबै बनाइदियो। खर्च पनि गरिदियो,’ उनले भने।
तर, त्यसपछि लामो समयसम्म कम्पनीको गाडी चलाएपनि पैसा बने बढेनछ। हेल्पर हुँदै ड्राइभर भएकोलाई र सिधै ड्राइभरको रुपमा आउनेलाई बढी तलब दिएपछि भने यहाँ बसेर पनि केही हुँदैन भन्ने लागेर ४ बर्षपछि नेपालै फर्किए राजु।
यता आएपछि फेरि विदेश जान उनलाई मन लागेन। बरू उताबाट आएपछि केही महिना बेरोजगार भएर बसे। अनि पछि केही काम गर्नुपर्छ भनेर सामान बोक्न गाडी किने। त्यही गाडी चलेको बेला उनको कमाई दिनकै ३ हजार भन्दा बढी हुन्थ्यो।
तर, बिस्तारै कमाई कम हुन थालेपछि भने उनले त्यो गाडी बेचेर बुलेरो किनेका छन्। त्यो पनि काम आएको खण्डमा मात्रै चल्ने रहेछ। होइन भने थन्किएर बस्ने बताउँछन् राजु।
‘धेरै बर्ष सामान बोक्ने गाडी चलाएँ। अहिले त्यसलाई पनि बेचेर बुलेरो लिएको छु, कमाई हुन्छ कि भनेर तर कोभिड पछि त त्यो पनि मलाई घाँडो भएको छ। सरकारलाई बर्षकै ५० हजार कर तिर्नुपर्छ। तर, कमाई भने छैन। देश नै कतातिर जाँदै छ था छैन,’ उनले भने।
‘अहिले यही होटलमा चलाएर बसेको छु’
राजु अहिले काम आएको बेला मात्रै बुलेरो चलाउँछन्। कोभिड पछि त उनी गाडी चलाउने भन्दा पनि होटलकै काममा व्यस्त हुन थालेका छन्। उनले २०७० सालमा इमाडोलमै होटल खोलेका थिए। केही घरका सामान र केही किनेर ल्याएपछि एउटा कोठामा चिया तथा खाजाको पसल सञ्चालन गरे।
तर, अहिलेसम्म पनि होटलबाट बुढाबुढीको खर्च भने नधान्ने उनी बताउँछन्।
‘यतै छेउछाउका पसलवालाहरुले चिया खाजा अर्डर गर्छन् र यसो बाटोमा हिँड्नेले चिया पिउन आउँछन् त्यतिले पसल चलेको छ। भाडा नै होटलको मात्रै १५ हजार छ, अनि दुईवटा कोठाको गरेर २५ हजार बढी पर्न जान्छ। होटलबाट त खर्च नै पुग्दैन नि, त्यहि पनि बसिबियालो गरेको छु। के गर्नु त?’ उनले प्रश्न गरे।
अब राजुलाई काठमाडौँ मात्रै ५ बर्ष जति बस्न पाए हुन्थ्यो भन्ने छ। हुन त काठमाडौँ बसेर ठुलै काम गरौँ भन्ने पनि चाहना होइन। तर छोरा, छोरीको राम्रो भएपछि सिन्धुली नै गएर खेतिपाती गर्ने योजना रहेको उनी सुनाउँछन्।
‘छोरा बाहिर जाने तयारीमा छ। ऊ बाहिर गएर राम्रो भयो भने यो अरूलाई भाडा तिरेर बस्न मन छैन। आफ्नै गाउँमा गएर खेतिपाती गर्छु। यहाँ अरूको घरमा भाडा तिरेर मात्रै के बस्नु, उनले भने।
कात्तिक ४, २०८१ सोमबार २०:००:१८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।