रास्वपाको प्रदर्शनबारे एमालेले भन्यो 'रविमाथि छानबिन भइरहँदा प्रधानमन्त्रीविरूद्ध गालीगलौज गर्नु अत्यन्त दुःखद'

रास्वपाको प्रदर्शनबारे एमालेले भन्यो 'रविमाथि छानबिन भइरहँदा प्रधानमन्त्रीविरूद्ध गालीगलौज गर्नु अत्यन्त दुःखद'

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पक्राउ परेपछि पोखरामा रास्वपा कार्यकर्ताले गरिरहेको विरोध प्रदर्शनका सन्दर्भमा एमालेले गम्भीर ध्यानाकर्षण भएको बताएको छ ।

एमालेले बिहीबार एक विज्ञप्ति जारी गर्दै सहकारी संस्थाको बचत रकम ठगी प्रकरणमा संसदीय समितिको प्रतिवेदनअनुसार छानबिन गर्दा प्रधानमन्त्री केपी शर्मा ओली र सरकारविरूद्ध गालीगलौज भइरहेको भन्दै त्यसप्रति आपत्ति जनाएको छ।

एमालेका महासचिव शंकर पोखरेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ, 'संसदीय छानबिन समितिले सर्वसम्मत रूपमा औंल्याएको विषयमा छानबिनको प्रक्रिया अघि बढिरहेको अवस्थामा सम्माननीय प्रधानमन्त्री र नेपाल सरकारका जिम्मेवार व्यक्ति र निकायका विरुद्धमा जिम्मेवार व्यक्तिहरूबाटै अमर्यादित अभिव्यक्ति दिने, गालीगलौच गर्ने र गलत आक्षेप लगाउँदै छानबिनको प्रक्रियालाई प्रभावित गर्ने गरी भ्रम सिर्जना गर्ने र अस्वस्थ वातावरण सिर्जना गर्ने काम हुनु अत्यन्त दुःखद विषय हो।'

राष्ट्र सेवकलाई कानुनबमोजिम तोकिएको काम गर्न नदिन वा कर्तव्य पालना गर्न नदिने हिसाबले पाँच जना भन्दा बढीको भेला गर्नु गराउनु आफैंमा कसुर भएको भन्दै एमालेले यस्ता भेलामा सहभागी नहुन प्रहरीले गरेको अनुरोधको अवज्ञा गर्ने प्रत्येक व्यक्ति कसुरदार मानिने कानुनी व्यवस्था भएतर्फ प्रदर्शनरत रास्वपा कार्यकर्तालाई सचेतसमेत गराएको छ। 

'सरकार र त्यसको नेतृत्वलाई जोडेर चर्चा गर्नु, अनुसन्धान र अभियोजन प्रक्रियालाई अनुचित प्रभाव पार्ने कार्य न्यायिक दृष्टिकोणबाट अनुपयुक्त हो। संविधानले प्रत्येक नागरिकलाई संविधान र कानुनको पालना गर्नुपर्ने भनी नागरिकका कर्तव्य पहिचान गरेको छ र सबैले कानुनको पालना गर्नु र गराउनु पर्दछ। मुलुकी अपराध संहिताले सार्वजनिक पद धारण गरेको व्यक्तिले कर्तव्य पालना गर्ने क्रममा कसैले बाधा पुर्याउने वा निजलाई कुनै गैरकानुनी काम गर्न लगाउने नियतले कुनै काम गरेमा त्यस्तो कार्यलाई दण्डनीय मानेको छ, विज्ञप्तिमा उल्लेख छ।  

कात्तिक ७, २०८१ बिहीबार १४:२९:०७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।