रविको म्याद थप रोक्न रास्वपा रणनीति : बिहानै पत्रकार सम्मेलन, दिउँसो विरोध प्रदर्शन

रविको म्याद थप रोक्न रास्वपा रणनीति : बिहानै पत्रकार सम्मेलन, दिउँसो विरोध प्रदर्शन

काठमाडौं : सहकारी ठगी आरोपमा समातिएका रवि लामिछानेलाई पहिलो पटकै हिरासतमा राख्ने म्यादको सट्टा तारेखमा छुटाउने रणनीति असफल भएपछि राष्ट्रिय स्वतन्त्र पार्टीका नेता बिहिबार म्याद थप रोक्ने रणनीतिमा लागेका छन्।

छानबिन सहकारी ठगीमा संलग्नताको आधारमा भन्दा पनि राजनीतिक प्रतिशोध रहेको सन्देश दिन सक्रिय रहेका उनीहरूले त्यही रणनीति अनुसार बिहीबार बिहानै पोखरामा पत्रकार सम्मेलन गरे भने दिउँसो म्याद थप गर्न लैजादा विरोध प्रदर्शनको तयारी गरेका छन्।

रविलाई छुटाउन न्यायिक प्रक्रिया प्रभावित पार्नेगरि भइरहेको प्रदर्शनलाई पार्टीले सरकार विरुद्धको प्रदर्शन देखाउने प्रयास गरे पनि सफल भएका छैनन्। आन्दोलन चर्काउन स्थानीयको सहभागिता बढाउन पोखरामा घर दैलो गरे पनि त्यसको प्रभाव नपरेपछि उनीहरू हतास देखिन्छन्।

प्रारम्भमा पक्राउ नै गलत दाबी गरेका रास्वपा नेताहरूले बिहीबारको पत्रकार सम्मेलनमा बयान लिन ढिला गरेर हिरासतको अवधि लम्ब्याउने षड्यन्त्र गरेको दाबी गरे।

पत्रकार सम्मेलनमा रास्वपा उपसभापति स्वर्णिम वाग्लेले रविलाई १ सय २५ घण्टा हिरासतमा राखे पनि जम्मा ४-५ घण्टामात्र बयान लिइएको भन्दै मानमर्दन र अपमान गर्ने शैलीमा सरकार प्रस्तुत भएको बताए।

‘तेरो सेखी झार्छु, देखाइदिन्छु भन्ने शैलीमा सरकार प्रस्तुत भएको छ’, उनले भने।

अर्का उपसभापति डिपी अर्यालले लामिछानेलाई राजनीतिक प्रतिशोधले पक्राउ गरिएकाले बिहीबार वाई चोकमा विरोध प्रदर्शन गर्न लागेको बताए। उनले प्रदर्शन शान्तिपूर्ण हुने र घुसपैठ रोक्न प्रहरी प्रशासनलाई आग्रह गरिएको बताए।

कार्यवाहक प्रवक्ता मनिष झाले पत्रकार सम्मेलनमै एमाले र नेपाली कांग्रेसले रास्वपाको प्रदर्शनमा घुसपैठ गर्नका लागि योजना बुनेर सर्कुलर भइसकेको भन्दै म्यासेज समेत देखाए। घुसपैठका लागि नेविसंघको बैठक आज बिहान सात बजे बैठक बसेको उनको भनाइ थियो।

बयान सक्न दिएको दबाब काम लागेन
बुधबार हिरासतको अवधि सकिने र बिहिबार म्याद थपका लागि अदालत लैजाने प्रहरीको तयारीपछि रवि र रास्वपाका नेताहरूले बुधबारै बयान सक्न प्रहरीलाई दबाब दिएका थिए।

प्रहरीले संक्षिप्त बयान लिएर उनलाई हिरासत कक्षमा पठाउन खोजेपछि उनले बयान नसकिई नउठ्ने अड्डी कसे पनि केही लागेन।

प्रहरीले बुधबार बयान सक्न नखोजेपछि पोखरामा रहेका रास्वपाका नेताहरू दबाब दिन प्रहरी कार्यालय गएका थिए। प्रहरीले अनुसन्धान प्रक्रिया अनुसार नै भइरहेको जवाफ दिएपछि उनीहरू फर्किए। रवि हिरासत कक्ष फर्किए।

हिरासत लम्ब्याउने सरकारी रणनीति 
सहकारी ठगीमा रविको यो पहिलो बयान हैन। कास्कीकै प्रहरी काठमाडौं आएर पूरक बयान लिएको थियो। संसदीय छानबिन समितिमा उनले १० घन्टा बढी बयान दिइसकेका छन्।

प्रहरीले चाहने हो भने यी दुवै बयानलाई प्रमाणको रूपमा लिएर छिटो बयान सक्न सक्छन्। तर, उनीहरू बयानको अवधि लम्ब्याउने र हिरासतको म्याद थप्ने रणनीतिमा देखिए।

अदालतमा हिरासतमा राख्नुपर्नाको कारण नखुलाई म्याद थप्न गाह्रो हुने भएकालेप्रहरी बयानलाई लम्ब्याउने रणनीति देखिन्छ।

कात्तिक ७, २०८१ बिहीबार ११:२२:५२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।