प्रधानमन्त्री ओलीले सम्झिए सरकारको सय दिनका ७ हजार दुर्घटना, रुकुम-जाजरकोट भूकम्प पीडित एक वर्षदेखि अलपत्र

प्रधानमन्त्री ओलीले सम्झिए सरकारको सय दिनका ७ हजार दुर्घटना, रुकुम-जाजरकोट भूकम्प पीडित एक वर्षदेखि अलपत्र

काठमाडौँ : एमाले-कांग्रेसको गठबन्धनबाट केपी शर्मा ओली प्रधानमन्त्री भएको सय दिनको बिचमा नेपालभर सात हजार एक सय ३५ विपद्जन्य दुर्घटना सम्झिए ओलीले। यसमा विमान दुर्घटना, हेलिकोप्टर दुर्घटना, बस दुर्घटनादेखि बाढी पहिरोसम्म छन्।

प्रधानमन्त्री ओलीले बुधवार सार्वजनिक गरेको सरकारको सय दिने उपलब्धिको विवरणमा विपद्का विवरणहरू समेत समेटिएको छ। उनले विपद्का कारण सय दिनमा गर्छु भनेको सत् प्रतिशत काम हुन नसके पनि ७० प्रतिशत भने भएको दाबी गरेका थिए।

‘नयाँ प्रधानमन्त्रीको रूपमा शपथ लिँदै थिएँ, त्यसको केही दिन अघिदेखि नै हामी त्रिशूली नदीको सिमलतालमा तीर्थयात्री बोकेको बस यात्रुसहित बेपत्ता भएको दुःखद घटनाबाट शोकमा थियौँ,’ प्रधानमन्त्री ओलीले विवरण सार्वजनिक गर्दै भने ‘त्यसको केही दिनपछि सौर्य विमान दुर्घटना, नुवाकोटमा हेलिकप्टर दुर्घटना र भारतीय पर्यटक बस दुर्घटना भयो।’

असोज १० देखि १३ गते अकल्पनीय बाढी पहिरोसहित सय दिनको अवधिमा देशभर ७ हजार १ सय ३५ वटा विभिन्न प्रकारका विपद्जन्य दुर्घटनाहरू भएको विवरणमा उल्लेख छ।

प्राकृतिक विपत्तिले धनजनको ठुलो क्षति गरेसँगै कृषिबाली, पशुचौपाया एवम् सडक, पुल, खानेपानी, सञ्चार, विद्यालय, विद्युत् लगायतका भौतिक संरचनामा ठुलो नोक्सानी पुर्याएको उनले बताए। 

बाढी पहिरोको विपद्मा प्रभावित नागरिक सरकारहीन अवस्थामा पुगेका थिए। प्रधानमन्त्री ओली अमेरिका भ्रमणमा थिए भने कार्यवाहक प्रधानमन्त्रीदेखि गृहमन्त्रीसम्म वाल्ल परेर बसेका थिए। मुख्यसचिव आफ्नै गाउँमा मुख्यसचिव भएकोमा सम्मान लिन व्यस्त थिए। विपद्मा परिचालित हुने नेपाल प्रहरीका प्रहरी महानिरीक्षक विदेश भ्रमणमा थिए।

प्रधानमन्त्री ओलीले सय दिनको उपलब्धिमा विपत्तिबाट प्रभावित नागरिकहरूको परिवारहरूलाई तत्काल उद्धार, राहत, अत्यावश्यक भौतिक पूर्वाधार र सेवाको सञ्चालनलाई प्राथमिकतामा राखेर काम अघि बढाएको भन्दै झुट बोले।

‘पीडित परिवारको राहत, घाइतेहरूको उद्धार र निःशुल्क उपचार, मृतकको परिवारलाई आर्थिक सहयोग र प्रभावित नागरिकको सुरक्षित पुनर्स्थापनामा सरकारलाई केन्द्रित गर्यौ,’ उनले दाबी गरे ‘बाढी पहिरोका कारण मृत्यु भएका ३ सय ९१ जनाको परिवारले २ लाखका दरले राहत पाएका छन्। बाढी पहिरोबाट प्रभावित २ हजार ५ सय ५५ परिवारलाई ४ करोड ५० लाख रुपैयाँ तत्काल राहत प्रदान गरिएको छ। सङ्कटग्रस्त क्षेत्रका ७१ वटा स्थानीय तहमा ४३ करोड रुपैयाँ विनियोजन गरिएको छ।’

उनले प्रारम्भिक क्षतिको आकलन गरी अस्थायी वासस्थानको प्रबन्ध गर्ने कामलाई प्राथमिकतामा राखेको र बाढी पहिरोले क्षति पुर्याएका भौतिक संरचनाहरूको निर्माणका कार्य योजना सहित काम गरिरहेको दाबी गरे।

सङ्कटग्रस्त क्षेत्र घोषणा गरिएका जिल्लाको खानेपानी, विद्युत्, सडक, सञ्चार लगायतका अत्यावश्यक सेवा १५ दिनभित्र सञ्चालनमा ल्याउन जिल्ला विपद् व्यवस्थापन कोष मार्फत रकम उपलब्ध गराइसकेको उनले बताए।

भूकम्प प्रभावित नागरिक एक वर्षदेखि अलपत्र

सरकारले विपद् प्रभावित नागरिकको पक्षमा काम गरेको दाबी गरेका प्रधानमन्त्री ओलीको सय दिने उपलब्धिभित्रै एक वर्षअघि जाजरकोट, पश्चिम रुकुम, बझाङ, बाजुरा र डोटीमा गएको भूकम्प प्रभावितहरू अहिलेसम्म अलपत्रै रहेको तथ्य स्वीकार गरिएको छ।

ती स्थानहरूको पुनर्निर्माण कार्य सुरु नै भइसक्नु पर्ने भए पनि स्रोत व्यवस्थापनको लागि गर्नै पर्ने क्षतिको विस्तृत आकलन (डिडिए) नहुँदा अस्थायी वासको लागि दिइने २५ हजार राहत मैँ पुनर्निर्माण कार्य अल्झिएको विवरणमा उल्लेख छ।

‘हामीले यस समस्यालाई समेत सम्बोधन गर्ने गरी विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठकबाट क्षतिको विस्तृत आकलन पूरा गर्दै, ती ठाउँमा स्थायी निजी आवास पुनर्निर्माणको काम अघि बढाउन आवश्यक बजेट १५ दिनभित्र उपलब्ध गराउने निर्णय गरिसकेका छौँ,’ उनले भने ‘हाम्रो उद्देश्य पीडित जनताको जीवनमा स्थिरता र सुरक्षा फिर्ता ल्याउनु हो।’

उनले अब, एक वर्षअघिको भूकम्पले क्षतिग्रस्त भएका घरहरू र यस वर्षको बाढी र पहिरोले पीडित नागरिकहरूको आवास पुनर्निर्माण सँगसँगै अघि बढ्ने बताए।

कात्तिक ६, २०८१ बुधबार १६:५४:१९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।