हरि र तोसिमालाई 'सरकार मरेको' जुठो लाग्दा स्वर्णिम र सुमनालाई लागेन !
काठमाडौँ : संगठित रूपमा सहकारीमा रहेको बचतकर्ताको रकम अपचलन गरेको आरोपमा पक्राउ गर्न कास्की जिल्ला अदालतबाट पक्राउ आदेश जारी भएसँगै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सामाजिक सञ्जालमा लेखे'हाम्रो लागि सरकार मर्यो, जुठो पर्यो।'
सायद सभापतिको त्यही अराजनीतिक टिप्पणी अनुसरण गरेकाले होला आइतबार पोखरामा भइरहेको प्रदर्शनमा पार्टी नेता हरि ढकाल, तोसिमा कार्की लगायतका नेताहरू टाउकोमा सेतो कपडा बेरेर सहभागी भए।
अदालतको अनुमतिमा पक्राउ परेका व्यक्तिको रिहाइ गर्न दबाब बढाउन सडकमा भेला भएकाहरूले चर्का नाराबाजी गरेका थिए। स्थानीय प्रशासनले भेला हुन, विरोध प्रदर्शन गर्न रोक लगाएको स्थानमा रास्वपाका नेता तथा कार्यकर्ता भेला भएर रविको रिहाइको माग गर्दै नाराबाजी गरिरहे। त्यसमा नेताहरू पनि सहभागी भए।
रविलाई प्रहरीले काठमाडौँमा पक्राउ गरेर पोखरा लगेसँगै केन्द्रीय तहका नेताहरू पोखरा गएर उतै अड्डा जमाएर बसेका छन्। त्यसमा उपाध्यक्ष डीपी अर्याल, स्वर्णिम वाग्ले सहित सुमना श्रेष्ठ, बिराज भक्त श्रेष्ठ लगायतका नेताहरू पोखरामै छन्। निरन्तर विरोध प्रदर्शन गरेर रविलाई अनुसन्धानको दायराबाट बाहिर ल्याउन उनीहरू सक्रिय भइरहे।
तर कात्रोको सवालमा सबै नेताहरूले जुठो बारेनन्। हरि र तोसिमासहितका प्रदर्शनमा सहभागीहरूले टाउकोमा सेतो कपडा बेरेर प्रदर्शनमा सहभागी हुँदा डीपी अर्याल, स्वर्णिम वाग्ले, बिराज अनि सुमनाहरुले भने 'कात्रो' बाँधेको देखिएन।
निरन्तर विरोध, प्रहरीसँग मुठभेड भए पनि अदालतमा त्यसको प्रभाव देखिएन। अनुसन्धान प्रक्रिया अगाडि बढाउन प्रहरीलाई कानुनी बाटो खुल्ला गर्दै आइतबार अदालतले ६ दिनको म्याद दियो।
कात्तिक ४, २०८१ आइतबार २०:२४:५४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।