रविलाई हाजिर जमानीमा छुटाउने प्रयास असफल, थपियो ६ दिनको म्याद

रविलाई हाजिर जमानीमा छुटाउने प्रयास असफल, थपियो ६ दिनको म्याद
म्याद थपका लागि अदालतमा पूर्याइएका रवि अदालतको परिसरमा पत्रकारहरुसँग कुरा गर्दै।

पोखरा : ठगी र संगठित अपराधको अनुसन्धानमा रवि लामिछानेलाई ६ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ। आइतबार जिल्ला अदालत कास्कीमा प्रहरीले पहिलो पटक पाँच दिन हिरासतमा राख्ने अनुमति माग्दै पेस गरेको थियो।

रविका पक्षका कानुन व्यवसायीहरूले हाजिर जमानीमा छाड्न माग गरे पनि अस्वीकार गर्दै न्यायाधीश नवराज दाहालको इजलासले पहिलो पटक ६ दिनको म्याद दिएको हो।

रविको तर्फबाट अधिवक्ता डा.नारायण कँडेल, यज्ञमणि न्यौपाने लगायतले बहस गर्दै सरकारी निकायले पहिल्यै अनुसन्धान गरिसकेकाले प्रमाण नष्ट गर्ने अवस्था नरहेको, उनी भाग्ने सम्भावना नरहेको र उनी सहकारीको रकम अपचलनमा संलग्न रहेको कुनै प्रमाण समेत नभएको तर्क गर्दै हाजिर जमानीमा छाड्न माग गरेका थिए। 

सरकारी पक्षले प्रमाण संकलनको काम बाँकी रहेको, बयानको काम बाँकी रहेको लगायतका तर्क गर्दै न्यायीक हिरासतमा राख्न म्याद थपको माग गरेकोमा अदालतले सरकारीपक्षको तर्कमा सहमतहुँदै पहिलो पटकका लागि ६ दिनको म्याद दिएको हो।

सो म्याद पक्राउ परेको दिन अर्थात् शुक्रवारबाट बाटै गणना हुन्छ। सो अनुसार उनलाई मङ्गलवारसम्म हिरासतमा राख्न प्रहरीले अनुमति पाएको छ।

सुर्यदर्शन सहकारीमा रहेको बचतकर्ताहरूको रकम अपचलन गरी गोर्खा मिडिया प्रालीमा लगेको आरोपमा गोर्खा मिडियाका तत्कालीन प्रबन्ध निर्देशक रहेका रवि पक्राउ परेका हुन्।

यही अभियोगमा प्रालीका अर्का तत्कालीन सञ्चालक तथा नेपाल प्रहरीका पूर्व डिआइजी छवीलाल जोशी पनि प्रहरी हिरासतमा छन्। प्रालीका अध्यक्ष जीवी राई भने फरार छन्।

रविको रिहाइको माग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका नेता तथा कार्यकर्ताहरू पोखरामा विरोध प्रदर्शनमा सक्रिय छन्। उनीहरूले पक्राउको विरोध गरेर रिहाइको माग गरे पनि अदालतले भने ठगी र संगठित अपराधमा अनुसन्धानका लागि पहिलो पटक म्याद दियो।

संगठित अपराधको अभियोगको अनुसन्धानमा प्रहरीले ९० दिनसम्मको म्याद पाउन सक्छ। यस्तो अभियोगको अनुसन्धान प्रतिवेदन तीन महिनाभित्र जिल्ला सरकारी वकिलको कार्यालयमा पेस गरेर अभियोग पत्र दर्ता गर्नुपर्ने कानुनी प्रावधान रहेको छ।

कात्तिक ३, २०८१ आइतबार १७:३१:२३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।