रास्वपाको नीति : अदालत फकाउने, सरकार तर्साउने, ओलीको सहयोगप्रति रवि कृतघ्न भएको एमाले नेताको आरोप

रास्वपाको नीति : अदालत फकाउने, सरकार तर्साउने, ओलीको सहयोगप्रति रवि कृतघ्न भएको एमाले नेताको आरोप
तस्बिर : निशेधित क्षेत्र घोषणापछिको पोखरा (आदर्श समाज) र म्याद थपका लागि अदालत लगिएका रवि (विकास आचार्य)

पोखरा : आफ्नो पक्राउको विरोधमा आन्दोलनको आव्हान गरिरहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आइतबार आन्दोलनलाई सरकारको विरोधमा केन्द्रित गर्न आग्रह गरे।

सहकारी ठगीमा संलग्न रहेको भन्दै ठगी र संगठित अपराधमा अनुसन्धानका लागि प्रहरी हिरासतमा रहेका उनलाई आइतबार प्रहरीले म्याद थपका लागि जिल्ला अदालत कास्कीमा पुर्याएको थियो।

प्रहरीको गाडीबाट अदालत परिसरमा झरेका उनले सञ्चारकर्मीहरूसँग कुरा गर्दै आफूलाई न्यायालयप्रति विश्वास रहेको तर केपी ओली सरकार रहिरहने हो झुटा मुद्दामा मान्छेलाई फसाउने काम गरिरहने दाबी गरे।

प्रहरी हिरासतमा रहेकालाई प्रहरीले प्राय सञ्चारकर्मीसँग कुरा गर्न दिँदैन। तर रविका हकमा प्रहरीले कुनै अवरोध गरेन। रविले सञ्चारकर्मीहरूसँग कुरा गरिरहँदा प्रहरी छेउछाउ उभिएर सुरक्षा दिएका थिए।

उनले आफू न्यायालयलाई सघाउन आएको दाबी गर्दै सरकारविरुद्ध देशभरबाट सडकमा उत्रिन पार्टी कार्यकर्तालाई आह्वान गरे।

राष्ट्रिय स्वतन्त्र पार्टीको प्रतिनिधि शिशिर खनाल समेत रहेको संसदीय छानबिन समितिको प्रतिवेदन र जिल्ला प्रहरी कार्यालय कास्कीमा शुर्यदर्शन सहकारीका पीडितको पूरक जाहेरीका आधारमा पक्राउ परेका रवि र उनका पार्टीका नेता तथा कार्यकर्ताहरूले झुटो मुद्दामा पक्राउ गरेको दाबी गरिरहेका छन्।

शनिवारको आन्दोलनमा रास्वपाका नेताहरू सत्ताधारी दल नेपाली कांग्रेसका महामन्त्री गगन थापाको विरोधमा केन्द्रित भएका थिए। कांग्रेस विपक्षमा रहँदा सहकारी ठगीमा रविको संलग्नताबारे छानबिन गर्न संसदीय समिति गठनको माग गरेको थियो। त्यसको नेतृत्व गगनले गरेका थिए।

कांग्रेसले आफ्नो माग पुरा नभएको भन्दै निरन्तर संसद् अवरुद्ध गरेपछि एमालेका सांसद सूर्यबहादुर थापाको नेतृत्वमा छानबिन समिति गठन भएको थियो। समितिमा रास्वपाबाट शिशिर समेत संलग्न थिए।

समितिको प्रतिवेदनमा व्यक्तिगत रूपमा सहकारीबाट रकम निकाल्ने वा ऋण लिन रवि प्रत्यक्ष संलग्न नदेखिएको तर गोर्खा मिडिया प्रालिको नाममा रवि प्रबन्ध निर्देशक रहेको बेलामा गैर कानुनी रूपमा पैसा आएको देखिएकाले उनको भूमिकाबारे अनुसन्धान गर्न सिफारिस गरेको थियो। सो प्रतिवेदनमा रास्वपाका सांसद शिशिरले समेत हस्ताक्षर गरेका थिए।

निषेधित क्षेत्रमा प्रदर्शन गरेपछि रास्वपाका समर्थकलाई हटाउन पानीको फोहोराको प्रयोग गर्दै प्रहरी। तस्बिर : एनएनबीसोही प्रतिवेदन कार्यान्वयनका लागि सरकारले प्रक्रिया अगाडि बढाएदेखि नै रास्वपाका नेताहरू रवि निर्दोष रहेको दाबी गर्न सक्रिय भएका थिए। प्रतिवेदनकै आधारमा गोर्खा मिडियाका तत्कालीन सञ्चालक छविलाल जोशी पक्राउ परेपछि रास्वपाका नेताहरू रवि पक्राउ पर्ने भयले रक्षात्मक भएका थिए।

शुक्रवार पक्राउ परेपछि उनीहरू अदालतप्रति नरम बनेका छन्। कांग्रेस र एमालेका नेता विशेषको सवालमा भने आक्रामक देखिएका थिए।

आइतबार रविले आफ्नो पक्राउको विरोधमा सुरु भएको प्रदर्शनलाई सरकारको विरोधको आन्दोलनमा बदल्ने प्रयास गरे।

‘मलाई जस्तो डेढ वर्ष लगाएर केपी ओलीलाई छानबिन गर्ने हो भने सबैभन्दा बढी भ्रष्टाचारको जगमा उभिएको मानिस केपी ओली हो’, उनले प्रहरी घेराबाट भने ‘ यो सरकार रहेसम्म आन्दोलन जारी राख्नुहोला।’

रास्वपा आफू विरुद्ध केन्द्रित भएपछि यता प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओली पनि सक्रिय भए। आइतबार उनले अराजकहरूले भ्रम फैलाएको भन्दै भ्रम चिर्न सक्रिय हुन एमाले कार्यकर्ताहरूलाई निर्देशन दिए। एमालेका नेताहरू सामाजिक सञ्जालमा ‘जसले दुई पटक उपप्रधान तथा गृहमन्त्री बनायो उसैको विरोधमा उत्रिएको’ भन्दै ओलीको प्रतिरक्षामा सक्रिय भइसकेका छन्।

एमालेका केन्द्रीय सदस्य विष्णु रिजालले सामाजिक सञ्जालमा कानुनी प्रतिरक्षाबाहेक रास्वपाका नेता–कार्यकर्ता (विशेषगरी पूर्वकांग्रेसी) हरुले जति व्यक्तिगत गालीगलौज गर्छन्, त्यति गाह्रो मात्रै पर्दै जाने’ चेतावनी दिए।

निषेधित क्षेत्रमा प्रदर्शन गर्न नदिन परिचालित प्रहरी। तस्बिर :   राससउनले लामिछाने पक्राउ परेपछि प्रधानमन्त्री केपी शर्मा ओलीका विरुद्ध नाराबाजी हुनु र गालीगलौज गर्नु अत्यन्त आपत्तिजनक रहेको भन्दै ‘व्यक्तिगत रूपमा दुई पटक रविजीलाई गृहमन्त्री र उपप्रधानमन्त्री बनाइदिने र संसदीय छानबिन समिति बनाउँदा पनि व्यक्तिको नाम किट्नु पर्दैन भन्ने नेताविरुद्ध व्यक्तिगत तहको गालीगलौजमा उत्रिनु कृतघ्नताको नमुना’ भएको दाबी गरेका छन्।

‘रविजीलाई सहकारी ठगीमा कारबाही हुनैपर्छ भनेर संसद् अवरुद्ध गर्ने तत्कालीन प्रमुख प्रतिपक्षी दलका प्रमुख सचेतक गृहमन्त्री हुनुहुन्छ।  साथै, रविजी गृहमन्त्री हुँदा कैलाश सिरोहियालाई पक्रेर जनकपुर पठाएँ, अब फलानीलाई पक्रेर ट्रकमा हालेर टिकापुर पुर्याउँछु भन्ने दम्भ सुन्नेहरू पनि होलान्।

यी सबैका बाबजुद अदालतको अनुमति लिएर मात्र अघि बढ्ने प्रहरीको कानुनसम्मत कदम (रविजीका पालामा कैलाश सिरोहियालाई जस्तो पहिले पक्रेर पछि अदालतबाट अनुमति लिएको होइन) सुझबुझपूर्ण र परिपक्व छ ’ उनले लेखेका छन्।

कात्तिक ४, २०८१ आइतबार १५:२४:०२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।