अदालतको पक्राउ अनुमतिपछि रविको दाबी ‘अब सहकारी पीडितको आवाजको नेतृत्व हामीले गर्ने छौँ’

अदालतको पक्राउ अनुमतिपछि रविको दाबी ‘अब सहकारी पीडितको आवाजको नेतृत्व हामीले गर्ने छौँ’

काठमाडौँ : सहकारीमा रहेको बचतकर्ताहरूको रकम अपचलनमा संलग्न रहेको आरोपको अनुसन्धानका लागि न्यायिक हिरासतमा राख्न प्रहरीले मागेको अनुमति अदालतले स्वीकार गरेपछि रवि लामिछानेले प्रधानमन्त्री केपी ओलीमाथि प्रहार गरेका छन्।

 ‘तपाईँको  हातमा तस्करले दिएको करोडको घडी ,मेरो हातमा हतकडी?’ उनले सामाजिक सञ्जालमा लेखे ‘तपाई बिचौलियाको सेवा गरे बापत लाखौँको चस्मा र जुत्ता लगाउने, मुद्दा मैले खेप दिनुपर्ने?’

उनले राज्यका भए भरको शक्ति लगाएर अनुसन्धान गर्दा पनि केही नभेटेको दाबी गरेका छन्। तर पक्राउको आधार उनी गोर्खा मिडियाको प्रबन्ध निर्देशक हुँदा शुर्यदर्शन सहकारीबाट प्रालिमा गएको रकम र त्यसको खर्चमा उनको संलग्नता देखिन्छ।

उनले दुई तिहाइको सरकार जोगाइदिन आफूलाई बली चढाउन खोजेको दाबी समेत गरेका छन्। उनले नेताहरू मिलेर सहकारीबाट ८७ अर्ब रकम अपचलन गरेको तर आफूलाई सहकारी ठग भनेको दाबी समेत गरेका छन्।

प्रधानमन्त्री ओलीलाई सम्बोधन गर्दै उनले लेखेका छन् ‘ओलीजी, भ्रष्टाचारी समाउन मैले प्रधानमन्त्रीको अफर लत्याए, तिनै  भ्रष्टाचारी जोगाउन  तपाईँले  त्यही अफर रातारात बिचौलियालाई साक्षी राखेर लिनुभयो। वाचा स्वरूप तपाईँले मेरो बली चढाउने सम्झौता त्यसै रात गर्नु भएको थियो। यो मलाई राम्रोसँग थाहा छ। तपाईँको मन्त्रीमण्डल त्यसको साक्षात् प्रमाण हो’।

उनले एमालेका नेता /कार्यकर्ता प्रमाणित सहकारी ठग रहेको र त्यसमा कोही जेलमा त कोही फरार रहेको भन्दै तिनलाई जोगाउन लागेको र  पीडितले न्याय नपाउने तर्क समेत गरेका छन्।

उनले अब सहकारी पीडितको आवाजको नेतृत्व आफूले गर्ने दाबी समेत गरेका छन्।

उनले सरकारको दिनगन्ती सुरु भएको खुसीयालीमा कानुनलाई पुरै सघाउने भन्दै नयाँ पुस्तालाई एक एक गर्दै सक्काउँदै जाने कुनियतले चाँडै रसातलमा पुर्याएको देशले चाँडै देख्ने दाबी समेत गरेका छन्।

‘सुरुवात तिमीहरूले गर्यौ,अन्त्य हामी गर्नेछौ, नेपाली जनताले गर्नेछन्,  छिट्टै गर्नेछन्’ उनले लेखेका छन्।

कात्तिक १, २०८१ शुक्रबार १८:५९:१९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।