छक्कापञ्जा ५, ज्वाइँ साब अनि १२ गाउँ :  समीक्षकको नजरमा कुन फिल्म, केमा पास, केमा फेल ?

छक्कापञ्जा ५, ज्वाइँ साब अनि १२ गाउँ :  समीक्षकको नजरमा कुन फिल्म, केमा पास, केमा फेल ?

काठमाडौँ : दशैँको फूलपाती पारेर तीन नेपाली फिल्म छक्कापञ्जा ५, ज्वाइँ साब अनि १२ गाउँ रिलिज भए। प्रदर्शनको एक सातामा व्यापारिक रूपमा तीनै फिल्म सफल देखिए। ग्रस कलेक्सनमा पहिलो नम्बरमा छक्कापञ्जा, दोस्रोमा १२ गाउँ अनि तेस्रोमा ज्वाइँ साब देखिएका छन्।

पाएको शो सङ्ख्याको आधारमा दर्शकको चाप तीनै फिल्ममा देखिन्छ। एकै पटक रिलिज भएका तीन नेपाली फिल्मले गरेको यो व्यापारिक आँकडा उत्साहजनक देखिन्छ।

तर फिल्मको सफलताको मापनको आधार व्यापार मात्रै हैन, हुन सक्दैन। पूर्ण फिल्म हुनका लागि सो फिल्मको कथा कस्तो छ, पटकथा अनि संवाद कस्तो छ?, छायाङ्कन र सम्पादन लगायतका प्राविधिक पक्ष, कलाकारको अभिनय, चरित्र चित्रण, ब्याकग्राउन्ड म्युजिक अनि सङ्गीतको प्रयोगसँगै प्लट निर्माण र क्लाइमेक्सलाई समेत फिल्मको सफलताको मूल आधार मानिन्छ।

व्यापारिक रूपमा सफल देखिएका यी तीनै फिल्म अन्य विधामा कति सफल/ कति असफल ?

कथासार

छक्कापञ्जा ५ : सामाजिक कथामा फिल्म बनेको हो। फिल्मले नेपाली समाजमा व्याप्त भ्रष्टाचार, राजनीतिक हस्तक्षेप, र इमानदार व्यक्तिहरूले भोग्नुपर्ने कठिनाइको कथामा हास्य रसको तड्का मिसाएर प्रस्तुत गर्ने प्रयास गरेको छ।

१२ गाउँ : जनरा एक्सन भए पनि कथा सामाजिक परिवेशमा निर्माण भएको छ।  आपराधिक गतिविधि सञ्चालन गर्न एक पात्रले नियन्त्रणमा लिएको १२ वटा गाउँ अनि त्यसको साम्राज्य भत्काउन प्रवेश गर्ने पात्रबीचको द्वन्द्व नै यो फिल्मको मूल कथा हो। 

ज्वाइँ साब : पूर्ण सामाजिक कथामा निर्माण भएको फिल्म। सम्पत्तिको लोभमा धनी परिवारको छोरी विवाह गर्न राजी भएका पात्र जसको श्रीमती सुहागरातमा भाग्छिन्। त्यसपछि उत्पन्न हुने द्वन्द्व र ज्वाइँ पात्रको जीवनको उतारचढाव नै यो फिल्मको मुख्य कथा हो।

कथा र कथ्य शैलीका आधारमा ज्वाइँ साबले नयाँ प्रयोग गरेको देखिन्छ।

अभिनय

छक्कापञ्जा ५ : मूल पात्र दीपकराज गिरीको अभिनय मध्यम छ।  दीपकको बाबु बनेका प्रकाश घिमिरेको अभिनय राम्रो छ।

छक्कापञ्जा सिरिजमा अब्बल अभिनय गर्दै आएका केदार घिमिरेको अभिनय कमजोर छ। वर्षा शिवाकोटी, राजाराम पौडेल लगायत अन्य पात्रको अभिनय मध्यम।

१२ गाउँ : डेब्यु फिल्ममै समीर भट्टले आशायोग्य अभिनय गरेका छन्। विराजको अभिनय मध्यमखालको छ। मुरलिधर लगायतका पात्रको कमजोर अभिनयका बिचमा कनिज कोइरालाको अभिनय बलियो छ।

ज्वाइँ साब : जितु नेपालको अभिनय निकै बलियो छ। हास्य विधामा जमेका उनी गम्भीर चरित्रको अभिनयमा समेत बलियो देखिएका छन्। निती शाह लगायतका सहायक कलाकारको अभिनय मध्यम खालको छ।

तीन फिल्मको पात्रको अभिनयको तुलना गर्दा समीर भट्टले पहिलो फिल्मबाटै सम्भावना देखाएका छन्। जितु नेपालले अभिनयको परिचय बदल्ने प्रयास गरेका छन्।

निर्देशन

छक्कापञ्जा ५ : कथाको गति, सम्पादन, र केही पात्रहरूको विकासमा सुधार गर्न सकिने भए पनि निर्देशकले ध्यान दिन सकेको देखिएन।  फिल्म निर्देशन दीपाश्री निरौलाको रहर मात्र हो भन्ने उनले पुन यो फिल्ममा दोहोर्याएकी छिन्। न पात्रको चरित्र चित्रणमा विविधता छ न त कथ्य शैलीमा नै विविधता। एक रेखीय छ उनको निर्देशन।

१२ गाउँ : यो फिल्मको सबैभन्दा कमजोर पक्ष नै निर्देशक हुन्। विराज भट्ट निर्देशनका लागि तयार भइसकेका छैनन् भन्ने यही फिल्मले पुष्टि गरेको छ। अभिनय गर्दैमा अभिनय गराउन सक्षम भइँदैन भन्ने यो फिल्म गतिलो उदाहरण हो।

ज्वाइँ साब : कथा निर्माण र कथ्य शैलीमा  निर्देशक वसन्त निरौलाले नयाँ प्रयोग गर्ने प्रयास गरेका छन्। अभिनयमा उनले कलाकारहरूलाई माझ्ने प्रयास गरेका छन्। तर पटकथामा उठाइएका प्रश्नको उत्तर दिनबाट उनी चुकेका छन्। कथा अनि पटकथामा गाँठो पारे तर फुकाउन नसक्दा फिल्म केही कमजोर बन्यो।

तीन फिल्मको निर्देशनको आधारमा निरौला सफल देखिए।

प्राविधिक पक्ष

छक्कापञ्जा ५ फिल्मको छायाङ्कनदेखि लिएर सम्पादनसम्म सामान्य नै देखिन्छ। फिल्मको कलरिङमा समस्या देखिन्छ। हलमा फिल्मको गुणस्तर केही धमिलो देखिएको थियो। प्राविधिक पक्षमा कुनै नयाँ वा रचनात्मक प्रयोग देखिँदैन। फिल्म अनावश्यक रूपमा तन्काइएको छ। सम्पादन पनि मध्यमतहको देखिन्छ। ब्याकग्राउन्ड म्युजिक र गीतहरू पनि मध्यमखालकै छ।

१२ गाउँ : फिल्मको छायाङ्कन बलियो देखिन्छ। फाइट सिन अनि जङ्गलको यात्राको दृश्य खिच्न छायाकारले गरेको मिहेनत फिल्म हेर्दा अनुभव हुन्छ। फिल्म सम्पादन निकै फितलो देखिन्छ। ब्याकग्राउन्ड म्युजिक बलियो छ। तर गीत अनावश्यक देखिन्छ।

ज्वाइँ साब  छायाँकनमा उल्लेख गर्नुपर्ने विषय पक्ष छैन। सम्पादनमा समेत समस्या देखिन्छ। अनावश्यक दृश्य काँटछाँट गर्न यसका निर्देशक र सम्पादक पनि लोभिएको देखिन्छ। फिल्मको गीत र प्रयोग ठिकै छ। ब्याकग्राउन्ड म्युजिक मध्यम नै छ।

तीन फिल्ममध्ये साङ्गीतिक रूपमा 'छक्कापञ्जा ५' बलियो देखिन्छ। छायाङ्कनमा '१२ गाउँ' बलियो छ।

क्लाइमेक्स

छक्कापञ्जा ५ छक्कापञ्जा ५ को सबैभन्दा कमजोर पाटो नै क्लाइमेक्स हो। यसमा कुनै सरप्राइज छैन। निकै फितलो र झ्याउँलाग्दो क्लाइमेक्सको निर्माण भएको छ।

१२ गाउँ : यसमा पनि सरप्राइज गराउने कुनै क्लाइमेक्स निर्माण भएको छैन। क्लाइमेक्स सामान्य नै छ।

ज्वाइँ साब  क्लाइमेक्स निर्माणमा मिहेनत गरेको देखिन्छ। तर दृश्य निर्माणसँगै क्लाइमेक्सलाई अर्थपूर्ण भावनात्मक बनाउन निर्देशक चुक्दा अलि फिस्स बन्न पुगेको छ।

तीन फिल्मको क्लाइमेक्समा 'ज्वाइँ साब'को बलियो देखिन्छ।

निष्कर्ष

छक्कापञ्जा ५ : बलियो ब्रान्ड, कमजोर क्लाइमेक्स, मध्यम अभिनय। मध्यम फिल्म।

१२ गाउँ : बलियो एक्सनका साथ 'एक्सन जनरा' ब्यूँताउने प्रयास। कमजोर निर्देशन। चरित्र चित्रण/ पटकथा र संवादका कारण  फितलो फिल्म।

ज्वाइँ साब :  बलियो कथ्य शैली र कथावस्तु तर निर्देशनमा अल्मलिदा बन्यो मध्यम फिल्म।

तीनै फिल्मको विस्तृत समीक्षा

असोज २९, २०८१ बुधबार २२:५३:१० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।