ज्वाइँ साब : जितुको ‘सरप्राइज’ अभिनय
लोकप्रिय फ्रेन्चाइज ‘छक्कापञ्जा’ अनि आफ्नै छोरालाई एक्सन अवतारमा नेपाली फिल्ममा स्थापित गर्न बिराज भट्टले निर्माण गरेको फिल्म ‘१२ गाउँ’सँगै फिल्म रिलिज गर्नुको कारण कि ‘फिल्म राम्रो बने दर्शकले साथ दिइहाल्छन्’ नि भन्ने भरोसा कि ‘डुबे डुबोस्’ भन्ने लापरबाही त हो।
कर्पोरेट जगतसँगको समन्वय अनि नकारात्मक प्रचारलाई नि फिल्मको माइलेजमा प्रयोग गर्न सक्ने खुबी भएको ‘छक्कापञ्जा’ अनि ‘साइबर सेना’ शैलीमा फिल्मको प्रचार गरिदिने समर्थक भएको ‘१२ गाउँ’सँग एकै दिन रिलिज गर्ने निर्णयको कारण लापरबाही हैन दर्शकप्रति भरोसा देखियो र केही हदसम्म निर्माण टिमको भरोसा सही पनि देखियो।
नेपाली समाजका कुरीति, पारिवारिक तनाव र व्यक्तिगत सङ्घर्षलाई निर्देशक वसन्त निरौलाले जितु नेपाल लगायतका कलाकारमार्फत पर्दामा उतारेका छन्। फिल्मले हास्यरससहित घर ज्वाइँको जीवनमा आइपर्ने उतारचढावमार्फत समाजलाई स्पर्श गर्ने प्रयास गरेको छ, तर कमजोरीसहित।
निर्देशक निरौलाले पुरानै सामाजिक कथालाई ‘ज्वाइँ साब’मार्फत नयाँ शैलीको कथा वाचनको प्रयोग गरेका छन्। तर, आधुनिक कथा वाचनमा निर्देशक बेलाबेलामा किन पुरानो शैलीमा फर्किन्छन्!
निति शाहको चरित्रको विकास फिल्मको सबैभन्दा कमजोर पक्ष हो। जसरी जितुको पात्र विकासमा मिहिनेत देखिन्छ त्यो मिहिनेत नीतिको पात्रको चरित्र निर्माणमा देखिन्न।
कथानकको राम्रो प्लटसँगै त्यसलाई दृश्य भाषामा सहज रूपमा देखाउन सकेको भए, सस्पेन्सको निर्माणसँगै त्यसको समाधानमा निर्देशक उत्तिकै सचेत भएको भए फिल्म रिलिज अगाडि जसरी दीपा-दीपक टिम ‘ज्वाइँ साब’सँग डराएका थिए त्यो सार्थक हुन्थ्यो।
कथासार:
फिल्मको कथा गोवर्द्धन (जितु नेपाल) को जीवनमा केन्द्रित छ। गोवर्द्धनको जीवनमा त्यतिबेला ठुलो परिवर्तन आउँछ जब उनका बुबाले तीन जना छोराछोरीसहित कान्छी आमा लिएर आउँछन्। यो घटनापछि गोवर्द्धन घरबाट निस्कन बाध्य हुन्छन्। त्यसपछि उनी आफ्ना साथीहरू हिमेश र बुद्धिसँग मिलेर जीवनयापन गर्न थाल्छन्।
जब गोवर्द्धन र उनका साथीहरूले भिमफेदीका धनाढ्य भिमसेन दास (रमेश बुढाथोकी) की एक्ली छोरी लक्ष्मी (नीति शाह) को लागि आयोजित ज्वाइँ खोज्ने प्रतियोगितामा भाग लिन्छन् कथामा मोड त्यतिबेला आउँछ।
विभिन्न प्रतिस्पर्धाहरू पछि गोवर्द्धन विजयी हुन्छन् र लक्ष्मीसँग विवाह पनि गर्छन्। तर, विवाहको पहिलो रातमै लक्ष्मी भाग्छिन्, जसले गर्दा गोवर्द्धनको जीवनमा थप जटिलता आउँछ। लक्ष्मी कहाँ भागिन्? सम्पत्तिको लोभमा घर ज्वाइँका लागि राजी भएका गोवर्धन ससुरालीमै बस्छन् या अन्य बाटो अपनाउँछन्? फिल्म यसै प्रश्नको वरिपरि घुमेको छ।
पात्र र अभिनय:
जितु नेपाल : गोवर्द्धनको भूमिकामा जितुले उत्कृष्ट अभिनय गरेका छन्। यो फिल्मको सबैभन्दा सरप्राइजको पक्ष नै जितुको अभिनय हो। यस अगाडिका केही फिल्ममा मौका पाउँदा पनि ओभर एक्टिङले डुबेका जितुले अभिनयमा कमजोरी हुन दिएका छैनन्। उनले कमेडी र गम्भीर दृश्यहरूमा समान रूपमा प्रभावकारी अभिनय गरेका छन्।
नीति शाह : लक्ष्मीको भूमिकामा अभिनय गरेकी नीतिले अभिनय गरेर रिलिज भएको यो दोस्रो फिल्म हो। पहिलो फिल्मको उनको अभिनयसँग ज्वाइँ साबको अभिनय दाँज्ने हो भने सुधारिएको छ। तर पूर्ण भने छैन।
सहायक पात्र : हिमेश पन्त र बुद्धि तामाङले गोवर्द्धनका साथीहरूको रूपमा ठिकै अभिनय गरेका छन्। फिल्मको हास्यरस बढाउन उनीहरूको पात्र प्रभावकारी देखिन्छ। छक्कापञ्जा ५ मा हराएको वानलाइनर पञ्चलाई उनीहरूले ज्वाइँ साबमा भित्र्याएका छन्। भिमसेन दासको भूमिकामा रहेका रमेश बुढाथोकीको अभिनयमा खोट छैन।
प्राविधिक पक्ष:
छायाङ्कन : फिल्मको छायाङ्कन मध्यमस्तरको छ। फिल्मको विषयवस्तु र भावनालाई सहयोग गर्ने खालको छायाङ्कन छ। ग्रामीण र शहरी परिवेशको चित्रण सन्तुलित छ।
सम्पादन: फिल्मको सम्पादनमा समस्या देखिन्छ, मुख्य गरेर फिल्मको अनावश्यक दृश्य छोट्याउन निर्देशकले लोभ गरेको देखियो। विशेषगरी गोवर्द्धन र उनका साथीहरू भिमफेदी जाँदाको यात्रा दृश्य अनावश्यक रूपमा लामो छ। ज्वाइँ छनौट प्रतियोगिताका दृश्यहरू लम्ब्याउँदा फिल्म लिकबाट हल्का बाहिरिएको छ। एकै शैलीका दृश्यले दर्शकको ध्यान फिल्मबाट बाहिरिने जोखिम छ।
संगीत: फिल्ममा दुई वटा गीतहरू समावेश गरिएका छन्। 'कसम बत्ती' गीत दर्शकहरूले याद गर्ने खालको छ। अर्को गीत फिल्मको कथामा फिट त छ तर प्रभावशाली हुन सकेन। ब्याकग्राउन्ड म्युजिक मध्यम हो। फिल्मको मुड र भावनालाई राम्रोसँग समर्थन गरेको अनुभव भएन।
सबल पक्ष :
हास्यरसमा गम्भीर विषय : हल्काफुल्का सामाजिक विषयमा हास्य रस मिसाएर फिल्म निर्माण गर्ने हास्य कलाकारहरूको ब्रान्ड बनिसकेको छ। ज्वाइँ साबमा पनि हास्यरसको तड्का राम्रै छ। तर फिल्मको कथा गम्भीर छ। फिल्मले पारिवारिक सम्बन्ध, सामाजिक दबाब, र व्यक्तिगत सङ्घर्ष जस्ता गम्भीर विषयहरूलाई हास्यरसमा हराउन दिएको छैन। दर्शकहरूलाई मनोरञ्जन गराउँदै समाजका नकारात्मक पक्ष सुधारमा सोच्न बाध्य गराउने प्रयास समेत गरेको छ।
जितुको सरप्राइज अभिनय: मुन्द्रेको ब्रान्ड बनाएका जितु नेपालले गोवर्द्धनको चरित्रमा जस्तो अभिनय गरेका छन् त्यो यो फिल्मको सबैभन्दा बलियो सरप्राइज हो। उनले आफ्नो अभिनय क्षमताको नयाँ पाटो देखाएका छन्। निर्देशकले पात्रको अभिनयमा मिहेनत गर्ने हो भने सरप्राइज गराउन सकिन्छ भन्ने जितुको अभिनयले देखाएको छ।
सामाजिक मुद्दाहरूको सटीक चित्रण: फिल्मले नेपाली समाजमा रहेका बहुविवाह, घर ज्वाइँको अवस्था, र पारिवारिक तनावहरूलाई यथार्थपरक ढङ्गले प्रस्तुत गर्ने प्रयास गरेको छ।
अन्त्यसम्म कौतूहलको निर्माण : फिल्मको कथा विकास र अन्त्यमा राखिएको सस्पेन्सले दर्शकहरूलाई अन्त्यसम्म आकर्षित गर्न निर्देशकले सक्दो प्रयास गरेका छन्।
कमजोरी :
अपरिपक्व चरित्र निर्माण : फिल्ममा महत्त्वपूर्ण पात्र त राखियो तर उनीहरूको चरित्र निर्माणमा निकै हतार गरिएको देखिन्छ। जस्तै प्रहरी इन्स्पेक्टर (सन्दीप क्षेत्री), को भूमिका र चरित्र निर्माण कमजोर बन्दा निर्माण टिमले सन्दीपमार्फत फिल्मले पाउन सक्ने अटेन्सनको निर्माण गर्न सकेन। बुद्धि तामाङको बलियो पक्षमा केन्द्रित हुन निर्देशक चुकेका छन्।
अनावश्यक दृश्यको उल्झन : फिल्मका यात्रा सम्बन्धी दृश्यहरू अनावश्यक रूपमा लामो राखिएको छ। यसले फिल्मको गतिलाई सुस्त बनाएको छ।
नीतिको पात्र निर्माणमा अन्योल : जुन रूपमा जितुको अभिनयमा सरप्राइज छ त्यो नीतिको हकमा छैन। शाहको पात्र अनुसार चरित्र निर्माणमा निर्देशक चुकेका छन्। फिल्मको पहिलो भागमा लक्ष्मीको पात्र महत्त्वपूर्ण छ। तर अन्तिम भागमा उनको अनुपस्थितिले कथा नै अपुरो देखिन्छ।
अन्योलमा निर्देशक : घर ज्वाइँका लागि जितु कसरी छानिए? सुहागरातको दिन निती कोसँग भागिन् ? निर्देशकले अनुमानको जिम्मा दर्शकलाई नै दिएका हुन् या सस्पेन्स निर्माण गरेर गाँठो फुकाउन नसकेका हुन्? उनले अपुरै छाडेका छन्। यसले फिल्मलाई बलियो बनाउन सकेन।
सुहागरातमा भागेर अर्कैको गर्भ बोकेर नागरिकता बनाउन आएकी छोरी र अभिभावकबीच जुन तहको द्वन्द्व हुनुपर्ने हो त्यसको निर्माणमा पनि निर्देशक सफल भएनन्। सामान्य रूपमा छोरी आउँछे, नागरिकता बनाउँछे अनि जान्छे।
सुहागरातमा भागेकी श्रीमती अर्कैको बच्चासहित भेटिदा श्रीमानमा जुन आश्चर्य, आक्रोशको जन्म हुन्छ अनि वास्तविकता थाहा पाएपछि जुन करुणाको निर्माण हुनसक्छ त्यो पक्ष सबैभन्दा कमजोर हुँदा बलियो क्लाइमेक्स हुनसक्ने दृश्य पनि फ्यास्स बनिदियो।
तर हास्यरसको माध्यमबाट पनि गम्भीर सामाजिक मुद्दाहरूलाई उठाउन सकिन्छ भन्ने गतिलो सन्देश बोक्न फिल्म सफल छ। हास्यरसको फिल्म भन्दैमा फन्टुस कथानकै चाहिन्छ भन्ने हैन है भन्ने प्रमाणित गरेका छन् निर्देशकले। फिल्मले दर्शकहरूलाई हँसाएको मात्रै छैन समाजका केही पक्षबारे सोच्न पनि बाध्य बनाउने प्रयास गरेको छ।
'ज्वाइँ साब' ले हास्यरस र गम्भीर विषयवस्तुबीच सन्तुलन कायम गर्न सफल छ। वनलाइनर पञ्चलाइन मन पराउने दर्शकका लागि ‘ज्वाइँ साब’ फिल्म फिट छ। कथालाई अगाडि बढाउँदा भएका कमजोरीले फिल्मको बिचबिचमा ‘किरकिर’ नलाग्ने हैन, तर जितुको सरप्राइज अभिनयका कारण ‘ज्वाइँ साब’ हेर्दा थकथक भने लाग्दैन।
असोज २८, २०८१ मंगलबार १२:०२:०२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।