‘१२ गाउँ’ : छिपछिपे कथामा डाङडुङे एक्सन सिन

‘१२ गाउँ’ : छिपछिपे कथामा डाङडुङे एक्सन सिन

पछिल्लो समय नेपाली फिल्ममा हराएको एक्सन जनरालाई ब्यूँताउने प्रयास गर्दै विराज भट्टले छोरा समीर भट्टलाई डेब्यु गराउँदै ‘१२ गाउँ’ फिल्मको निर्माण र निर्देशन गरे। नेपाली फिल्म क्षेत्र हुँदै उनी लामो समय भारतको भोजपुरी फिल्म क्षेत्रमा काम गरे अनि पुन नेपाली फिल्ममा फर्किए। 

व्यापारिक दृष्टिकोणबाट फिल्म '१२ गाउँ' हिट भइसक्यो। तर फिल्मको गुणस्तरलाई फिल्म ‘हिट’ र ‘फ्लप’ को मापनको आधार मान्ने हो भने यो ‘फ्लप’ हैन  ‘सुपर फ्लप’ फिल्म हो। फिल्मको कथामा कुनै नयाँपन छैन। बरु नेपाली फिल्मका लेखक अनि निर्देशकले छाडिसकेको पुरानो उडन्ते ढर्राकै प्लटमा फिल्म बनेको छ। 

छायाँकन, ब्याकग्राउन्ड म्युजिक,  समीर अनि दिया मास्केको अभिनय फिल्मको सकारात्मक पक्ष हो। त्यसबाहेक कथा, पटकथा, संवाद, अन्य कलाकारको अभिनय सबै पक्ष कमजोर छ फिल्मको। एक्सनको सवालमा नेपाली फिल्ममा भइरहेको प्रयोग बदलिए झैँ देखिन्छ तर रचनात्मक र नयाँ प्रयोग हैन यो। भोजपुरी फिल्मको उडन्ते कमजोर कथा अनि साउथ इन्डियन फिल्मको डाङडुङ एक्सन मिसाउँदा बन्ने फिल्म ‘१२ गाउँ’ जस्तै नै हो। त्यस्तै बन्यो।

फिल्मको कथाले समय पनि बोल्छ। यो पनि एक प्रकारको इतिहासको अभिलेख हो। भोलिका दिनमा नेपाली समाजको अध्ययन गर्नेहरूले अहिलेको समाजलाई चित्रण गरेको फिल्मलाई सन्दर्भ सामग्रीको रूपमा लिन सक्छन्। यदि भोलिका दिनमा कसैले ‘१२ गाउँ’ लाई अध्ययनको सन्दर्भ सामग्री बनायो भने समाजको गलत चित्रण हुने पक्का छ।

कथासार

आपराधिक गतिविधि सञ्चालन गर्न एक पात्रले नियन्त्रणमा लिएको १२ वटा गाउँ अनि त्यसको साम्राज्य भत्काउन प्रवेश गर्ने पात्रबीचको द्वन्द्व नै यो फिल्मको मूल कथा हो। १२ वटा गाउँमा गजेन्द्र (मुरलिधर) नामक एक निर्दयी व्यक्तिको शासन हुन्छ। गजेन्द्रको अनुमतिबिना त्यो गाउँमा न कोही प्रवेश गर्न सक्छ न त बाहिरिन नै। उसको अनुमतिबिना बच्चा जन्मन पनि पाउँदैन।

नियन्त्रणको कारण हो ती गाउँहरूमा उसले स्थापित गरेको अपराध। गाँजादेखि अफिमसम्म उत्पादन गर्छ, मानव तस्करी गर्छ त्यो पात्रले। अनि त्यसैको बलमा उसले गाउँलाई आफ्नो कब्जामा लिएको छ।

कथामा मोड त्यतिबेला आउँछ जब अर्जुन (बिराज भट्ट) र अजय (समीर भट्ट) नामका दुई पात्र गाउँमा फर्किन्छन्। यी दुई पात्रहरू गजेन्द्रको अत्याचारको अन्त्य गर्न गाउँमा प्रवेश गर्छन्। फिल्मको मुख्य कथा यी दुई पात्रले कसरी गजेन्द्रको साम्राज्यलाई ध्वस्त पार्छन् भन्ने कुरामा केन्द्रित छ।

अभिनय

समीर भट्ट (अजय) : पहिलो फिल्मबाट समीर भट्टले सम्भावना भएका कलाकारको छवि बनाउन सफल भएका छन्। गतिलो निर्माण टिमसँग सहकार्य गर्ने अवसर पाए भने उनमा सफल ‘एक्सन हिरो’ हुने सम्भावनाहरू देखियो ‘१२ गाउँ’बाट।

एक्सनका लागि चाहिने शारीरिक फिटनेशमा उनी मिहिनेती देखिएका छन्। भावनात्मक दृश्यमा उनी कमजोर देखिएका छन्। पहिलो फिल्ममा देखिएको उनको नृत्य क्षमता अनि अभिनयमा सुधार गर्नुपर्ने पक्ष छन् तर निर्देशनको ज्ञान भएको निर्देशकसँग काम गर्न पाए भने यसमा सुधार हुने सम्भावना देखाएका छन्।

विराज भट्ट (अर्जुन) :   अभिनय भनेकै एक्सन त हो भन्ने पाराका फिल्ममा अभिनय गर्दै आएका बिराज भट्टले यसमा पनि एक्सनमा मात्रै ध्यान दिएका छन्। चर्को स्वरमा संवाद बोल्दा गजब हुन्छ भन्ने पुरानै ह्याङगलाई उनले यसमा निरन्तरता दिएका छन्।

उनको एक्सन शैलीमा नयाँपन देखिँदैन। भावनात्मक दृश्यहरूमा विराजको अभिनय पनि मध्यमस्तरको छ। चरित्र निर्माणमा उनी आफ्नै छोरा समीरमाथि पनि हावी हुने प्रयास गरेका छन्। तर चट् चट् चट् काट्नु पर्ने उनका दृश्यहरू हुन्।

मुरलिधर (गजेन्द्र) :  मुरलिधरको अभिनय पुरानै शैलीको देखिन्छ। उनको गेटअप नेपालीपन नै छैन, भोजपुरी फिल्मको भिलियनको प्रभाव प्रस्टै देखिन्छ। उनले अभिनय गरेका  फिल्मका अभिनय हेर्ने हो भने यसमा निकै कमजोर देखिन्छ। 

निर्देशकले उनको पात्रलाई बलियो र बहुआयामिक बनाउन सक्थे। कथामा त्यसको स्पेस पनि छ। तर विराजले अवसर गुमाए वा आफू र छोराको चरित्रमा मात्रै ध्यान दिए।  फलस्वरूप, गजेन्द्रको पात्र एकदमै सतही र अविश्वसनीय बन्न पुगेको छ।

न्यान्सी खड्का र सनिशा भट्टराई : दुवै नायिकाहरूको भूमिका सीमित र कमजोर देखिन्छ। उनीहरूलाई मुख्यतया पुरुष पात्रहरूको सहयोगीको रूपमा मात्र देखाइएको छ।  हिरो भएपछि हिरोइन पनि चाहियो नि भनेर दुवैको कामचलाउ चरित्र चित्रण गरिएको छ। यी दुवैको भन्दा बरु छोटो भए पनि दिया मास्केको चरित्र बलियो छ।

कनिज कोइराला र सुलेमान शङ्कर : सहायक पात्रहरूमध्ये कनिज कोइरालाको अभिनय बलियो छ। उनले आफ्नो सीमित स्क्रिन समयमा पनि प्रभावशाली अभिनय गरेका छन्। उनी आफ्नो पात्रमा फिट देखिन्छन्। सुलेमान शंकरको पात्रको चित्रण जबरजस्ती हँसाउने मसलाका लागि मात्र प्रयोग भएको छ।  उनको चरित्रले फिल्मको कथालाई अगाडि बढाउन भन्दा कथाको प्रवाहलाई उल्टो अवरोध पुर्याउँछ।

सिकारु निर्देशन

फिल्मको व्यापारले विराजमा ‘पिठोसँग चामल साट्ने’ क्षमता रहेको देखियो। तर निर्देशकमा हुनुपर्ने क्षमता उनमा देखिएन। उनमा न कथाको ज्ञान देखियो न त पटकथाको संरचना नै। पात्रको चरित्र चित्रण अनुसार कस्तो संवाद आवश्यक पर्छ, कस्तो गेटअप चाहिन्छ भन्ने सामान्य ज्ञानसम्म नभएको कमजोर निर्देशक हुन् उनी भन्ने ‘१२ गाउँ’ले नै पुष्टि गरेको छ।

विराजले एक्सन फिल्महरूमा अभिनय त गरे तर अभिनय गराउन निर्देशकमा चाहिने सामान्य ज्ञान पनि सिकेका रहेनछन्। अभिनय गर्नु र अभिनय गराउनु बिचको भिन्नता उनले बुझेका रहेनछन्। 

एक्सन फिल्मको सामान्य ज्ञानै देखिएन

एउटा सबल एक्सन फिल्ममा चाहिने आवश्यक तत्वमा फाइट सिन मात्रै हो त ? एक्सन जनराको फिल्ममा पात्रको पृष्ठभुमी, चरित्र चित्रण, भावनात्मक सम्बन्ध केही चाहिँदैन ?

बलियो खलपात्र जसले कहिँकतै अत्याचार गरिरहेको हुन्छ, नायकले उसँग प्रतिस्पर्धा गरेर जित्नु वा जीवनको अन्त्य गर्नु नै एक्सन फिल्मका न्यूनतम तत्वहरू हुन्।

क्लाइमेक्स सकारात्मक बनाउने हो भने खलपात्रसँगको कठिन प्रतिस्पर्धामा नायकको जित हुन्छ, दर्शक रोमाञ्चित हुँदै आफैँले जितेको अनुभवका साथ हलबाट बाहिरिन्छन्।

नकारात्मक क्लाइमेक्सका लागि खलपात्रलाई पराजित गर्न नायकले आफ्नो जीवन दाउमा राख्छ। अत्याचारको अन्त्यका लागि आफूभन्दा बलियो खलपात्रसँग प्रतिस्पर्धा गर्छ अनि पराजित पनि गर्छ। यो सङ्घर्षमा खलपात्रसँगै नायकको पनि मृत्यु हुन्छ।

खलपात्र पराजित भएकोमा दर्शक खुसी भए पनि नायकको मृत्युमा मनमा सहानुभूति र माया राख्दै हलबाट बाहिरिन्छन्।यसले एक्सन जनराको फिल्ममा पनि भावनात्मक सम्बन्धको महत्व देखाउँछ। तर १२ गाउँमा यसको ठूलै अभाव देखिन्छ।

अधिकांश एक्सन जनाराको फिल्मको प्रारम्भमा खलपात्र कमजोर हैन निकै शक्तिशाली हुन्छन्। उसको शक्तिको आधारमा दर्शकको मनमा पहिल्यै ‘अहो यसलाई कसले हराउन सक्ला’ भन्ने त्रास या डरको जन्म गराइन्छ। अनि उसलाई पराजित गर्न उ भन्दा केही कमजोर नायकले निकै सङ्घर्ष गर्छ।

नायकको सङ्घर्षमा हलको सिटमा बसेर फिल्म हेरिरहेका दर्शक भावनात्मक रुपमा मिसिन्छन्। उनीहरू खलपात्र पराजित भएको हेर्न चाहन्छन्। जब बलियो खलपात्रलाई नायकले पराजित गर्छ अनि दर्शक खुसी भएर सिठी र ताली बजाउँछन्। उनीहरुले आफैँले जितेको अनुभव हुन्छ।

‘१२ गाउँ’ लाई एक्सन जनराको यही सामान्य ग्रामरको फ्रेममा हालेर हेर्ने हो भने त्यसमा एक्सन बाहेक अन्य बलियो तत्त्व नै पाइँदैन।

मुख्य खलपात्र शक्तिशाली हैन प्रारम्भबाटै कमजोर देखिन्छन्। जब खलपात्र नै कमजोर देखिन्छन् उनलाई हराउन विराज र समीरले गरेको सङ्घर्षले दर्शकको मन छुँदैन। कमजोर खलपात्र दुई बलियो नायकबाट पराजित हुनु के नौलो भयो र!

दर्शकको मनमा खलपात्रको शक्तिबाट भय र उसँग प्रतिस्पर्धा गर्दा कतै नायक पराजित हुने त हैन भन्ने अन्योल वा डर केही उत्पन्न हुन्न। सिठी बज्ने भनेको विराज र समीर एकै फ्रेममा आउँदा हो। तर फिल्ममा त्यसको पनि विशेष अर्थ देखिँदैन।

फिल्मको पटकथा त चौपटै छ। फिल्म फ्रेम बाई फ्रेम चिप्लिएको छ। संवादले त फिल्मलाई निकै कमजोर बनाएको छ।

प्राविधिक पक्ष

फिल्मको कथा २२ वर्षको अवधिमा फैलिएको छ, तर २२ वर्षमा न पात्रहरूको उमेरमा कुनै परिवर्तन देखिन्छ न गाउँकै स्वरुप बदलिएको छ। नायक पात्र जन्मँदा मुलरिधर जस्ता थिए, उनको अत्याचार अन्त्य गर्न त्यही बच्चो पट्ठो भएर आउँदा पनि उस्तै देखिन्छन्।

फिल्मको सम्पादनमा निकै कमजोरीहरु देखिन्छन्। दृश्यहरू बिचको सम्बन्ध अस्पष्ट र अव्यवस्थित हुँदा कथाको प्रवाह पनि अवरुद्ध हुन्छ।

एक दृश्य दिउँसोको समयमा खिचिएको प्रस्टै देखिन्छ तर फिल्ममा राती आगो बालेर बसेको प्रसंगमा राखिएको छ। यस्ता धेरै दृश्यहरू छन् फिल्ममा। जङ्गलको पट्यार लाग्दो दृश्यहरू त्यति लामो किन राखेको होला ? जङ्गल यात्रा खिच्दा मिहिनेत त देखिन्छ। तर लामो दृश्यले दर्शक झिँजिने पक्का छ।

फिल्ममा दुई वटा गीत छन्, तर तिनीहरूको कथासँग कुनै सम्बन्ध देखिँदैन। यसै त कथा नै कमजोर, त्यसमा गीतले कथाको प्रवाहलाई थप अवरुद्ध गर्छ। केही दृश्यका ब्याकग्राउन्ड म्युजिक लाउड सुनिए पनि समग्रमा ठिकै छ।

फिल्मले लागूऔषधको व्यापार र नेपाली चेलीहरूको बेचबिखन जस्तो गम्भीर विषय उठाउने प्रयास गरेको छ। तर दुर्भाग्यवश, यी विषयहरूलाई गहिराइमा सम्बोधन गर्न सकेको छैन। छिपछिपे कथामा भरमार एक्सन सिन अनि समीरको सिक्सप्याक देखाएर ‘१२ गाउँ’ मा विराजले दर्शकलाई राम्रैसँग मूर्ख बनाए।

'१२ गाउँ' को सकारात्मक पक्ष हिरो हुन लायक प्याकेजसहितका समीरको प्रवेश हो। उनी हिरो हुन आवश्यक सबै तयारी गरेर फिल्मी क्षेत्रमा प्रवेश गरेको देखियो। गतिलो निर्देशकसँग काम गर्ने मौका पाए भने उनको थप क्षमता देखिन सक्छ।

निर्देशन, संवाद, पटकथाका आधारमा भने यो फिल्मले नेपाली सिने क्षेत्रलाई अगाडि बढाउँदैन, उल्टो दशक अगाडिको झुर प्लटतिर फर्काउने जोखिम छ।

कथासथा किन चाहियो, डाङडुङे फाइट सिन भए भइहाल्छ नि भन्ने सोच हो भने फिल्म बब्बाल लाग्न सक्छ। तर जुन जनरामा फिल्म बनेको हो त्यसको न्यूनतम ग्रामर त हुनुपर्छ भन्ने दर्शकका लागि यो फिल्मले सन्तुष्ट बनाउन सक्दैन।

यो पनि 

असोज २९, २०८१ बुधबार १९:३९:३२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।