दर्शकको ‘वर्ड अफ माउथ’ले बढाउँदैछ फिल्म ‘ज्वाइँ साब’ को अकुपेन्सी, जितुको अभिनयको तारिफ

दर्शकको ‘वर्ड अफ माउथ’ले बढाउँदैछ फिल्म ‘ज्वाइँ साब’ को अकुपेन्सी, जितुको अभिनयको तारिफ

काठमाडौँ : जितु नेपालको सोलो अभिनय रहेको फिल्म ज्वाइँ साबको कथाले दर्शकहरूबाट प्रशंसा पाइरहेको छ। हास्य अभिनेताको रूपमा छवि निर्माण गरेका जितु मुख्य भूमिकासहित अभिनय रहेको फिल्मले हलमा स्थापित फ्रेन्चाइज छक्कापञ्जा अनि एक्सन जनारामा दक्षिण भारतीय फिल्मको स्वादको प्रयास गरिएको १२ गाउँसँगै प्रतिस्पर्धा गरिरहेको छ हलमा।

वान लाइनर पञ्च लाइन अनि जितुको गम्भीर अभिनय दर्शकहरूले मन पराइरहेका छन्। तर दुई फिल्मबीचको व्यापारिक प्रतिस्पर्धाले फिल्मको शो सङ्ख्या भने खुम्चँदै गएको छ।

टिकट प्रि बुकिङमै अन्य दुई फिल्मको तुलनामा कमै शो सङ्ख्या पाए पनि रिलिज भएको पाँचौँ दिनसम्ममा फिल्म २० शो सँगै हलमा लागिरहेको छ।

‘छक्का पन्जा ५’ र १२ गाउँ’ ले पाएको शो सङ्ख्याका आधारमा ज्वाइँ साबको शो  कम भए पनि पाएको शोहरुमा अकुपेन्सी भने राम्रो छ। कमेडी फिल्म त होला भनेर हलमा पुगेका दर्शकहरू वानलाइनर पञ्च अनि गम्भीर विषयको उठानबाट सन्तुष्ट देखिन्छन्।

दुई फिल्मलाई चर्चामा ल्याउन निर्माण टिमले गरेका नियोजित स्टन्ट अनि पेड क्याम्पेनिङका चेपुवामा रिलिजबाटै ज्वाइँ साब परेको थियो।

तर दुई फिल्मको चेपुवामा परे पनि फिल्म हेरेका दर्शकहरूबाट आउने सकारात्मक प्रतिक्रियाले बनाउने माहौल ‘वर्ड अफ माउथ’ का कारण फिल्म हेर्ने दर्शकहरूको सङ्ख्या बढिरहेको देखिन्छ।

फिल्मका निर्देशक वसन्त निरौला फिल्म प्रदर्शनको दिन आफ्नो फिल्मको अकुपेन्सी कम भए पनि सोमबारसम्म आइपुग्दा शोको अकुपेन्सी उत्साहजनक रूपमा बढेको दाबी गर्छन्।

‘पहिलो दिन ३० प्रतिशत मात्र अकुपेन्सी रहँदा तेस्रो दिनसम्म ८० प्रतिशत अकुपेन्सी बढेको छ। धेरै हलले शो पनि थपिरहनुभएको छ’, उनले भने।

नेपाली फिल्मका नियमित दर्शकहरूले ज्वाइँ साबमा जितुको अभिनय उनको अभिनय यात्राको सबैभन्दा बलियो अभिनयको रूपमा प्रशंसा गरिरहेका छन्। सार्वजनिक भएका समीक्षाहरूमा समेत जितुको अभिनयको तारिफ गरिएको छ।

सामान्य विषयवस्तुलाई जुन ढङ्गको कथा निर्माण गरेर फिल्मको निर्माण भएको छ त्यसको समेत प्रशंसा भइरहेको छ। कथा भन्ने क्रममा केही सस्पेन्सहरु सस्पेन्सै रहँदा केही दर्शकहरूले खल्लो अनुभव गरे पनि फिल्ममा कमेडीसँगै भावुक बनाउने दृश्यलाई दर्शकले मन पराएको निर्माण पक्षको दाबी छ।

राजकुमार पण्डित प्रस्तुतकर्ता र वसन्त निरौलाको निर्देशन रहेको फिल्ममा जितु नेपालसँगै, निती शाह, बुद्धि तामाङ, हिमेश पन्त, रमेश बुढाथोकी, निमा पाण्डे, शिशिर वाङ्देल, कविता आले, दीपक आचार्य, राजकुमार पण्डित, कमलमणि नेपाल, प्रकाश घिमिरेलगायतका कलाकारहरूको अभिनय रहेको छ।

असोज २७, २०८१ सोमबार २२:२८:२७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।