वर्षमा एक दिन खुल्ने तलेजु, पापमोचनका लागि ५४ राँगा र बोकाको बली, तीन थरकालाई मूल मन्दिरमा प्रवेशको अनुमति
काठमाडौँ : नवमीमा मात्र खुल्ने हनुमानढोका क्षेत्रमा रहेको तलेजु भवानीको दर्शन गर्न दर्शनथार्थीहरुको भिड लागेको छ। बिहानैबाट मन्दिर परिसरमा दर्शनार्थीहरु तलेजु भवानीको दर्शनका लागि लामबद्ध छन्। यो मन्दिर आज नवमीमा खुलेपछि अर्को वर्षको दशैँको नवमीमा मात्र खुल्छ।
यो मन्दिरको निर्माण मल्लकालमा भएको हो। कोतपर्वपछि तलेजु मन्दिरमा ५४ वटा राँगा र ५४ वटा बोकाको बलि दिने चलन अहिलेसम्म कायम छ। राणाकालमा पाप मोचनका लागि बलि दिने परम्परा शुरु भएको थियो। हरेक वर्षको दशैँमा सरकारले नै ५४ वटा राँगा तथा ५४ वटा बोका बलि चढाउने गरेको छ।
पहिले तलेजु मन्दिर प्रवेश गर्ने चारवटा गेट थिए। दक्षिणतिरको ढोकाबाट राजा, उत्तरतिरबाट भारदार, पूर्वतिरबाट भक्तपुर, ललितपुर तथा कीर्तिपुरका राजा अनि पश्चिमतिरबाट सर्वसाधारणले प्रवेश पाउँथे। देवी, देउता तथा कुमारीलाई पनि पश्चिमकै गेटबाट प्रवेश गराइन्थ्यो। सन् १९९० को भुइँचालोपछि अरू सबै गेट बन्द गरेर एउटै मात्र गेट खुला गरिएको छ।
तलेजु भवानीलाई नेवार समुदायमा इष्टदेवीका रूपमा पुज्ने गर्छन्। तलेजुलाई दैवीशक्ति वा मातृशक्तिका रूपमा पनि पुजिन्छ। नेपालमा कर्नाटवंशी राजा हरिहरसिंह देवले तलेजुलाई प्रवेश गराएको इतिहास छ।
उनी सिम्रौनगढका राजा थिए। मल्ल राजाहरूले यो मन्दिरलाई निजी प्रार्थना स्थलका रूपमा विकास गरेका थिए। तीनतलाको हनुमानढोकास्थित तलेजु मन्दिर १ सय २ फिट अग्लो छ।
सर्वसाधारणका लागि वर्षमा एकपटक खुला गरिए पनि मन्दिरमा दिनकै पूजाआजा हुने गरेको छ। बिहान साढे ८ बजेतिर मन्दिर छिर्ने पुजारी साढे १० बजेसम्म पूजाआजामै व्यस्त हुन्छन्। एउटा पूजा गर्न कम्तीमा ८ जना मानिस संलग्न हुन्छन्। त्यहाँ हरेक बेलुका आरती हुन्छ । मुख्य मन्दिर (देवीको मूर्ति राखिएको ठाउँ) मा कर्माचार्य, जोशी र राजवंशीले मात्र प्रवेश गर्न पाउँछन्।
राजभण्डारी, प्रधान, सुवाल, सिं, बज्राचार्य, राजोपाध्याय, खड्गी, महर्जन तथा परियारले मन्दिर परिसरमा प्रवेश गर्न पाउँछन्। थरअनुसार नै उनीहरूको कामको प्रकृति तोकिएको छ।
असोज २४, २०८१ शुक्रबार १५:१७:५२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।