रविलाई कारबाही सिफारिस गरिएको प्रतिवेदन सार्वजनिक

रविलाई कारबाही सिफारिस गरिएको प्रतिवेदन सार्वजनिक

काठमाडौं : सहकारी संस्था बचत रकम दुरूपयोग सम्बन्धमा छानबिन गर्न गठित संसदीय छानविन विशेष समितिको प्रतिवेदन सार्वजनिक भएको छ।

संघीय संसद् सचिवालयले शुक्रबार प्रतिवेदन सार्वजनिक गरेको हो। यसअघि नै समितिले प्रतिवेदनको निष्कर्ष र सुझाव खण्ड बाहिरिइएको थियो।

भदौ ३१ गते प्रतिनिधिसभामा पेश भएको प्रतिवेदन सभामुख देवराज घिमिरेले सोही दिन कार्यान्वयनका लागि सरकारलाई पठाएका थिए।

भदौ २ गतेको मन्त्रिपरिषद् बैठकले प्रतिवेदन कार्यान्वयनमा लैजाने निर्णय गरिसकेको छ। प्रतिवेदन ११२४ पेजको छ। यसको पूर्णपाठ संसद सचिवालयको वेबसाइटमा गएर हेर्न सकिन्छ।

प्रतिवेदनमा रवि लामिछाने लगायतलाई सहकारीको रकम अपचलनमा संलग्न भएको ठहर गर्दै कारबाहीको सिफारिस गरेको थियो।

प्रतिवेदनको सुझावमा लेखिएको छ, ‘सहकारी संस्थामा रहेको बचतकर्ताको रकम अनियमित तवरबाट गोरखा मिडिया नेटवर्क प्रालि.को खातामा आइसकेपछि उक्त रकम खर्च गर्ने, गराउने प्रक्रियामा संलग्न रहेको देखिन आएकाले अध्यक्ष जीबी राई र सदस्य कुमार रम्तेल तथा तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछाने र सञ्चालक छविलाल जोशी कम्पनीमा साझेदारका रूपमा बहाल रहेको अवधिमा सहकारीबाट कम्पनीमा आएको रकमको हकमा जिम्मेवार रहेको हुँदा प्रचलित कानून बमोजिम कारबाहीका लागि नेपाल सरकारलाई सिफारिस गर्ने।’

असोज ३, २०८१ शुक्रबार १४:१९:३३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।