झुटै झुटको भूमरीमा फसेका रवि लामिछाने

झुटै झुटको भूमरीमा फसेका रवि लामिछाने

काठमाडौं : सहकारी संस्था रकम दुरुपयोग सम्बन्धी संसदीय छानबिन विशेष समितिमा रवि लामिछानेले दिएको बयान झुटो भएको देखिएको छ।

सहकारी रकम अपचलनका आरोपी लामिछानेले भदौ ७ गते शुक्रबार अपरान्ह चार बजेपछि नौ घण्टा दिएको बयान झुटो बोलेको देखिएको हो। समिति समक्ष बयानमा उनले आफू ग्यालेक्सी टेलिभिजनको कार्यक्रम सञ्चालन र उत्पादनमा मात्र जिम्मेवार रहेको बयान दिएका थिए।

सोही बयानमा उनले मिडियाका सम्पूर्ण आर्थिक पाटो गितेन्द्रबाबु राई (जीबी)ले हेर्ने गरेको बताएको समिति सभापति सूर्यबहादुर थापाले सञ्चारकर्मीलाई जानकारी दिएका थिए। उनीसँग करिब ५० वटा प्रश्नहरू सोधिएकोमा मिडियामा आएको रकमका बारेमा जीबी राईलाई सोध्नुपर्ने बताएका थिए।

तर, सोमबार प्रतिनिधि सभामा पेश भएको समितिको प्रतिवेदनमा भने उनले आर्थिक पाटो समेत हेर्ने गरेको निष्कर्ष निकालेको छ। रविसहित छबिलाल जोशी र गितेन्द्रबाबु राईको हस्ताक्षर चल्ने भए पनि एक जनाको हस्ताक्षरले मात्र पनि मान्य हुने भनिएको छ। त्यसरी रविको एकल हस्ताक्षरमा कयौं चेकहरू काटिएको प्रतिवेदनमा उल्लेख छ।

‘यसले तीनै जनाले गोरखा मिडिया नेटवर्कको आन्तरिक वित्तीय परिचालनको अधिकार राखेको देखिन आयो। समितिमा प्राप्त चेकहरूमा रवि लामिछानेका एकल हस्ताक्षरका जारी चेकहरू धेरै रहेका छन्’, समितिले निष्कर्षमा भनिएको छ।

समिति सभापति सूर्य थापाले एक मिडियालाई दिएको अन्तर्वार्तामा उनले कम्पनीको नामबाट करोडौंको चेक काटिएको बताएका छन्।

‘त्यो समयमा जीबी, रवि, छविका नाममा गोर्खा मिडियाको संयुक्त बैंक खाता सञ्चालन भएको देखिन्छ। अझ, तीन जनामध्ये एक जनाले मात्र हस्ताक्षरमा चेक साट्न सकिने व्यवस्था गरिएको देखिन्छ। हामीले नमुनाका रूपमा चेक जम्मा गरेका छौँ, यसमा रवि लामिछानेका नामबाट करोड करोडका चेक काटिएको छ।’

रविले कार्यक्रम सञ्चालन र उत्पादनको मात्र पाटो हेर्ने बताए पनि समितिले भने उनलाई विभिन्न चार आधार देखाएर कम्पनीको जिम्मेवार भूमिकामा रहेको ठहर गरेको छ।

निष्कर्षमा भनिएको छ, ‘चेकहरूमा हस्ताक्षरलगायतको सम्पूर्ण प्रक्रियामा सहमति रहनु, आन्तरिक प्रशासन सञ्चालनमा प्रभावकारी भूमिका रहनु, सञ्चालकमध्येका रवि लामिछानेको नामबाट लेखापरीक्षण प्रतिवेदनमा उल्लिखित इक्युटी शेयर क्यापिटल शीर्षकमा रकम समेत जम्मा भएको देखिनु र समितिसमक्ष सोधपुछका क्रममा उक्त रकम पेश्की लिई जम्मा गरेको हुँ भन्ने व्यहोरा लेखिएता पनि पेश्की लिएको खुल्ने आधार प्रमाण पेश गर्न सकेको नदेखिएको समेतको आधार प्रमाणबाट निज सञ्चालकहरू कम्पनीको जिम्मेवार भूमिका रहनु भएको देखिन्छ।’

जीबीसँगको सम्बन्धबारे पनि बोलेका थिए झुट
भदौ ९ गते शनिबार भरतपुर पुगेका रविले गोरखा मिडियासँग आफू संलग्न हुनुअघि जीबी राईको विषयमा बेलैमा राम्ररी थाहा पाउन नसक्नु आफ्नो भएको भन्दै स्वीकार गरेका थिए।

त्यसको अघिल्लो दिन संसदीय समितिको बैठकमा बयान दिँदै उनले दोस्रो पटक अर्थात् २०८० मंसिर १० अगाडि जीबी राईको बदमासीबारे जानकारी नै नभएको दाबी गरेका थिए। जबकि रवि जीवीसँग २०७८ अगाडिबाटै जोडिएका थिए।

समिति समक्ष उनले जीबीको बदमासीबारे २०८० वैशाख १० को संसदीय उप-निर्वाचनमा पुन: जितेपछि मात्रै जानकारी पाएको दाबी गरेका थिए।

विवादित नेचर हर्ब्सको कार्यालयमा जीबी र रवि (रातो घेरामा) सँगै छबिलाल जोशी।

तर सार्वजनिक विवरणहरूले भने रविले बोलेको झुट प्रमाणित हुन्छ। जीबी नेटवर्किङ शैलीको अवैध कारोबार र सहकारी ठगीमा संलग्न रहेको विवरण रविले ग्यालेक्सी छाडेपछि नभएर ग्यालेक्सी टेलिभिजन औपचारिक रूपमा सुरु नहुँदा नै सार्वजनिक भएको थियो।

जीबी सहकारी ठगीमा संलग्न रहेको विवरण त रवि पहिलो पटक सांसद बनेर सर्वोच्चबाट पद खारेज हुनु अगाडि नै सार्वजनिक भएको थियो। सुप्रिम सहकारी ठगीमा जीबीको संलग्नताबारे उकेराले २०७९ मंसिर १७ मै सार्वजनिक गरेको थियो, जसमा दीपेश पुन पनि जोडिएका थिए।

समाचार प्रकाशित भएपछि उकेराको सिएमएसमा अनधिकृत प्रवेश गरेर समाचार समेत उडाइएको थियो।

०००

जीबीबारे सहकारी ठगीमा संलग्न रहेको औपचारिक जाहेरी २०८० भदौमा दायर भएको हो। तर, उनको बदमासी २०७४ देखि नै सार्वजनिक भइरहेका थिए।

ग्यालेक्सी टिभी शुरु हुनुअघि सेतोपाटीमा नेचर्स हर्ब्ससको नाममा जीबीले गरेका बदमासी श्रृंखलाबद्ध छापिँदा रवि बाहिर मौन देखिए। आन्तरिक रूपमा भने टेलिभिजन आउन लागेपछि बदनामको प्रयास गरेको ब्रिफिङ गरे।

प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रमुख अतिथि बनाएर रविले भब्य कार्यक्रमकाबीच ग्यालेक्सी फोरके टेलिभिजनको प्रसारण सुरु गरे २०७८ असोज १६।

नेपालमा प्राय सबै क्षेत्रका सेलिब्रिटीहरू जम्मा पारेर प्रसारण शुभारम्भका अवसरमा आयोजित कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव पनि सहभागी थिए।

टेलिभिजन प्रसारण सुरु भएको कार्यक्रममा टेलिभिजनका अध्यक्ष जीबी राईले उच्चतम प्रविधि र दक्ष जनशक्तिको बलमा नागरिकलाई सही सूचना र मर्यादित मनोरञ्जन दिन स्पष्ट सोच र योजनासहित टेलिभिजन सुरु गरेको दाबी गरेका थिए। तर, उनीहरूको स्पष्ट सोच एकै वर्षमा धुलो भयो। टेलिभिजन बन्द भयो।

०००

न्युज२४ टेलिभिजनमा ‘सिधाकुरा’ कार्यक्रम चलाउँदा चलाउँदै उनी आफैँ प्रबन्ध निर्देशक भएर ग्यालेक्सी फोरके टेलिभिजनको प्रसारण सुरु गरेका थिए।

गोर्खा मिडिया प्रालि माउ संस्था रहेको टेलिभिजनको अध्यक्ष थिए गितेन्द्रबाबु उर्फ जीबी राई। तर उनी पृष्ठभूमिमा थिएनन्। हर्ताकर्ता थिए रवि। टेलिभिजनको ब्रान्डिङ नै रविको टेलिभिजनको रूपमा भएको थियो।

उता जीबी एपीवान, नागरिकखबर डटकमहुँदै ग्यालेक्सी टेलिभिजन खोल्न आइपुगेका थिए। उपाध्यक्ष नेपाल प्रहरीका पूर्व डिआईजी छबिलाल जोशी थिए। प्रहरी संगठनमा रहँदा नै भ्रष्ट छवि रहेका छबिलालकै प्रयासमा जीबी-रविको मिलन भएर ग्यालेक्सी टिभीसम्मको योजना बनेको जानकारहरू दाबी गर्छन्।

ग्यालेक्सी टिभी खोल्ने रणनीतिकै चरणमा संलग्न स्रोतका अनुसार जस्तोसुकै अवस्थामा पनि पाँच वर्ष सहकार्य नतोड्ने सर्तमा जीवी टेलिभिजनमा लगानी गर्न सहमत भएका थिए।

लगानीको मोडालिटीमा ‘एक पैसा विज्ञापन नआए पनि पाँच वर्ष सहकार्य गर्ने र त्यसमध्ये तीन वर्षको सञ्चालन खर्च जीबीको र दुई वर्षको सञ्चालन खर्चको जिम्मा रविको हुने’ भद्र सहमति भएको थियो। तर जीबीले तीन वर्षमा जति खर्च हुने अनुमान गरेका थिए त्यो रकम प्रारम्भिक चरणमै सकियो।

पाँच वर्ष सहकार्य गर्ने सर्तमा सहकार्य गरेको भनिए पनि रवि टेलिभिजन सुरु भएको आठ महिनामै टेलिभिजनबाट अलग भएर राजनीतिमा लागे। रवि टेलिभिजनबाट बाहिरिएपछि ग्यालेक्सी आर्थिक संकटमा पर्दै गयो। जीबीको ओरालो यात्रा सुरु भयो। उता रविलाई राजनीति फाप्यो।

जीबी र उनको श्रीमतीको नाममा रहेको कम्पनी।

रविले टेलिभिजन छाडे पनि जीबी र रविको सम्बन्ध भने घनिष्ठै थियो। रवि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति भएर चितवन क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभाको उम्मेदवार बनेपछि उनलाई सघाउन जीबी चितवनमै बसेर तन, मन अनि धन सबैबाट सहयोग गरिरहेका थिए। रविको कोर टिमको बास चितवनमा रहेको जीबीकै रिसोर्टमा थियो।

रवि सांसद हुँदै उपप्रधान तथा गृहमन्त्री बन्दा उता जीबी भने निरन्तर आर्थिक संकटमा फस्दै गए। सहकारी ठगीमा उनी जोडिँदै गए। शुर्यदर्शन सहकारीको संस्थापक अध्यक्षको रूपमा सहकारी क्षेत्रमा प्रवेश गरेका उनले दाइ, भाइ, सहयोगी सबैका नाममा सहकारीहरू खोल्दै आठ बढी सहकारीमा रहेका बचतकर्ताको रकम दुरुपयोग भएको सार्वजनिक भए पनि जीबीभागिसकेका थिएनन्। उनलाई रविको राम्रै साथ थियो।

निकटकाले जीबीसँगको सम्बन्ध तोड्न सुझाव दिँँदा, ‘आफ्नै कारण टिभीमा फसेको’ भन्ने जवाफ दिन्थे रवि।

२०७९ मंसिरबाटै उकेराले बुटवलको सुप्रिम सहकारीमा जीवी राई र उपराष्ट्रपतिका छोरा दीपेश पुनको संलग्नताबारे शृङ्खलाबद्ध समाचार प्रकाशित गरिरहेको थियो। सुप्रिमले बचतकर्ताहरूको रकम फिर्ता नगर्दा विवाद भइरहेको थियो।

सुप्रिमबाट सहकारी ठगीमा जोडिएका जीबी सूर्यदर्शन, स्वर्णलक्ष्मी, सानोपाइला, सहारा लगायतका सहकारीमा समेत संलग्न रहेको सार्वजनिक भयो। उकेराले रविको नागरिकता निष्क्रिय रहेको समाचार प्रमाणसहित सार्वजनिक गर्यो। २०७९ मंसिर ४ को निर्वाचनमा रवि निर्वाचित भए।

तर निष्क्रिय नागरिकताको विवाद सर्वोच्च अदालतमा पुग्यो। २०७९ माघ १३ मा अदालतबाट उनको नागरिकता निष्क्रिय रहेको ठहर भयो। एकै पटक गृहमन्त्री, सांसद र राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिको पद गुम्यो।

रिक्त भएको चितवन २ मा निर्वाचन आयोगले २०८० वैशाख १० मा उप-निर्वाचन हुँदा पार्टीबाट रवि नै उम्मेदवार बने र निर्वाचित भए। निष्क्रिय नागरिकता सक्रिय बनाए। दोहोरो राहदानीको प्रयोग सत्ताशक्तिको प्रयोग गराएर महान्यायाधिवक्ताको कार्यालयबाट मुद्दा नचल्ने निर्णय गराए।

०००

बचतकर्ताको रकम फिर्ता नगरेको विवाद बढ्दै जाँदा जिल्ला प्रहरी कार्यालय कास्कीमा २०८० भदौमा सुर्यदर्शनका सञ्चालकविरुद्ध जाहेरी दर्ता भएर जीबीसहितको नाममा पक्राउ आदेश जारी भएपछि जीबी अर्ध भूमिगत भए। कुमार रम्तेल पक्राउ परेपछि भने उनी देशै छाडेर भागे।

सूर्यदर्शनबाट रविको नाममा पुलेको कर्जा शीर्षकमा ऋण प्रवाह भएको विवरण सार्वजनिक भएसँगै सहकारी ठगीमा रवि पनि जोडिए।

सुप्रिमबाट पनि उनको नाममा पैसा गएको र गोर्खा मिडिया प्रालिमा विभिन्न सहकारीको ८० करोड बढी रकम गएको आरोप लाग्यो। रवि १५ प्रतिशत सेयरसहित त्यसको प्रबन्ध निर्देशक रहेको खुलेसँगै रवि पनि सहकारी ठगीमा जेलिए।

यद्यपि सहकारी संस्थाबाट गोरखा मिडियामा रकम प्रवाह गराउन  उनी संलग्न रहेको प्रमाण समितिले फेला नपारेपछि प्रतिवेदनमा उनी संलग्न नरेहेको निष्कर्ष निकाल्यो।

समितिले आफ्नो प्रतिवेदनको निष्कर्षमा भनेको छ, ‘सहकारी संस्थाबाट रकम गोरखा मिडिया नेटवर्क प्रालिमा आउने सम्पूर्ण प्रक्रियामा रवि लामिछानेको संलग्नता पुष्टि हुने कागज प्रमाण रहेको नभेटिए तापनि सोही रकम गोरखा मिडियामा आइसकेपछि सोको परिचालन र खर्च प्रक्रियामा उहाँको सहभागिता देखिन्छ।’

समितिले उनीविरुद्ध कानूनअनुसारको कारबाही प्रक्रिया अघि बढाउन समेत सिफारिस गरेको छ। उनले पटक-पटकका झुटबारे पर्दाफासले भइरहँदा उनीप्रति जनताकाे विश्वास समेत घट्दै गइरहेको छ। त्यसले उनलाई मात्र नभएर उनको पार्टी रास्वपालाई समेत प्रभाव पार्ने पक्का छ।

सम्बन्धित समाचार

भदौ ३१, २०८१ मंगलबार १४:२७:१९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।