पोखरामा आफूविरूद्ध सहकारी पीडितले नाराबाजी गरेपछि के भने रविले?

पोखरामा आफूविरूद्ध सहकारी पीडितले नाराबाजी गरेपछि के भने रविले?

काठमाडौं : मंगलबार राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पार्टीको प्रदेशस्तरीय प्रशिक्षणमा सहभागी हुन पोखरामा थिए। तर, रवि आएको थाहा पाएपछि पोखराकै सुर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाका पीडितले उनीविरूद्ध नाराबाजी गरे। पीडितले रविलाई कालो झन्डा पनि देखाए। 

सहकारी पीडितले घेराउ गरेपछि रविलाई कडा सुरक्षा दिइयो। रविलाई स्कटिङसहित कार्यक्रम स्थलमा लगेपछि त्यहाँ कसैलाई प्रवेश गर्न दिइएन। बाहिर रविविरुद्ध चर्को नाराबाजी भइरहँदा भित्र ढोका बन्द गरेर कार्यक्रम सञ्चालन गरियो।

त्यसपछि पार्टीको त्यस बैठकलाई सम्बोधन गर्दै लामिछानेले सहकारी पीडितलाई अरूले नै उचालेर आन्दोलन गरेको बताए। अपराधमा संलग्न नै नभएको मान्छेविरुद्ध आन्दोलन गरेको उनको तर्क रह्यो। 

‘सहकारी पीडितको लागि लड्नुभएको छ भने मेरो सलाम छ, तर जो मान्छे अपराधमा संलग्न छैन, उसैलाई कसैले उक्साएको भरमा दोषीझैं गरी तपाईंहरूले विरोध गर्नुभएको छ’, उनले भने।

उनले आफूलाई कालो झण्डा देखाएर नाराबाजी गर्ने पीडितप्रति संकेत गर्दै अझै पनि पीडितका पक्षमा लड्न आफू तयार भएको बताए। 

आफूविरूद्ध प्रमाण ल्याए रास्वपाको विस्तारित बैठक चलिरहेको पोखराको ग्यालेक्सी ब्याङ्क्वेटबाटै राजनीति त्याग्न तयार भएको उनको भनाई छ। 

‘मलाई यहीँ प्रमाणित गर्नुस् यही हलबाट राजनीति अन्त्य गरेको घोषणा गर्छु। आजैबाट त्यागेर जान्छु। बुझाउँछु घण्टी,’ उनले भने। 

लामिछानेले कसैले उचालिदिएको भरमा र गलत कुरा भनिदिएको भरमा आफूविरुद्ध आन्दोलन भएको आरोप लगाए। 

‘कस्तो संघर्ष समिति हो, अपराध गर्दै हुनुहुन्छ तपाईहरु, लाखौं सहकारी पीडितमाथि अन्याय गर्दै हुनुहुन्छ, गलत मान्छेलाई टार्गेट गरेर’, उनले भने।

गोर्खा मिडिया प्रालिमा हुँदा संस्थामा कसरी रकम आइरहेको छ भन्नेबारे आफूलाई थाहा नभएको उनले दोहोर्याए ।

‘लगानीकर्ताले सहकारीबाट ल्याएर पैसा हाल्यो कि, खल्तीबाट हाल्यो कि तपाईंलाई जतिखेर थाहा भयो त्यतिखेर मलाइ पनि थाहा भयो। म एकाउन्टेन्ट होइन, लगानीकर्ता होइन, म सञ्चारकर्मी हो’, उनले भने। 

भदौ २४, २०८१ मंगलबार १९:१३:३८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।