डिभी परेपनि शैक्षिक योग्यता नपुगेपछि नक्कली प्रमाणपत्र पेस गरे, आरोपी चारजना पक्राउ

डिभी परेपनि शैक्षिक योग्यता नपुगेपछि नक्कली प्रमाणपत्र पेस गरे, आरोपी चारजना पक्राउ

काठमाडौं : नेपालस्थित अमेरिकन दूतावासमा इलेक्ट्रोनिक विविधता भिसा (इडिभी)का लागि नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेको अभियोगमा प्रहरीले चार जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ। 

ललितपुर महालक्ष्मी नगरपालिका-८ घर भई हाल महालक्ष्मी-४ इमाडोल बस्ने ३२ वर्षीया गोमा पाण्डे, सर्लाही लालबन्दी नगरपालिका-१० घर भई हाल महालक्ष्मी-५ टिकाथली बस्ने २८ वर्षीय अनिलकुमार महतो, झापा अर्जुनधारा नगरपालिका- घर भई हाल ललितपुरको इमाडोल बस्ने ५० वर्षीय गोपालप्रसाद घिमिरे र सङ्खुवासभा खाँदवारी नगरपालिका-९ घर भई हाल भक्तपुर मध्यपुरठिमी नगरपालिका-५ बस्ने ४३ वर्षीय सुवास ढकाललाई पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका सूचना अधिकारी एसपी काजीकुमार आचार्यले जानकारी दिए। 

उनीहरूलाई नेपालस्थित अमेरिकन दूतावासमा इडिभी प्रयोजनका लागि एसइई र प्लसटुको नक्कली शैक्षिक प्रमाणपत्र बनाइ पेस गरेको भन्ने सूचनाका आधारमा अमेरिकी दूतावाससँगको समन्वयमा पक्राउ गरिएको हो। 

उनीहरूलाई अमेरिकाको डिभी परेको थियो। तर, उनीहरूसँग भिसा प्रक्रियाका लागि चाहिने न्यूनतम् शैक्षिक योग्यता थिएन। त्यसपछि उनीहरूले नक्कली शैक्षिक प्रमाणपत्र बनाएर पेस गरेको प्रहरीले जनाएको छ। 

अमेरिकन राजदूतावास नजिकबाट पक्राउ परेका उनीहरुलाई लिखितसम्बन्धी कसुरमा आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर भद्रकालीमा पठाइएको सूचना अधिकारी आचार्यले बताए।  

भदौ २३, २०८१ सोमबार १५:२३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।