डा. श्रीरामको उपचार अनुभव : आठ वर्षदेखि ढाडको दुखाइले थला परेका बिरामी शल्यक्रियापछि ठमठम हिँड्न थाले
डा. श्रीराम खाती स्पाइन सर्जन हुन्। विशेषगरी मेरुदण्डसम्बन्धी समस्या भएका, नसा च्यापिएका र हाडजोर्नीसँग सम्बन्धित समस्या भएका बिरामीको औषधि उपचार तथा शल्यक्रिया गरी सञ्चो बनाउनु उनको चिकित्सकीय धर्म र कर्म हो।
उनले मेजर (जटिल) र माइनर (सामान्य) गरी करिब पाँच हजार व्यक्तिको हाडजोर्नीसँग सम्बन्धित शल्यक्रिया गरिसकेका छन्। उनै डा. श्रीरामले चिकित्सकीय पेशाको शिलशिलामा देखे भागेका अनुभव उकेरासँग साटे :
000
थला परेका एम्बुलेन्स चालक शल्यक्रिया गरेको भोलिपल्ट चमत्कारिक रुपमा ठमठम हिँड्न थालेपछि...
आठ वर्षदेखि ढाड दुखेर थला परेका एक जना एम्बुलेन्स चालक मेरुदण्डको शल्यक्रिया गरेको भोलिपल्ट नै चमत्कारिक रुपमा ठमठम हिँडेको प्रसंग सम्झँदा डा. श्रीरामलाई आनन्द लाग्छ।
प्रसंग तीन हप्ताअघिको हो। करिब ३५ वर्षका पुरुष कैलालीको धनगढीस्थित निसर्ग अस्पताल पुगे। ती पुरुष ढाड दुख्ने समस्याले आठ वर्षदेखि थला परिरहेका थिए। सुदूरपश्चिमको एक अस्पतालमा एम्बुलेन्स चालकको रुपमा काम गर्ने ती पुरुषले ढाड दुख्ने समस्याकै कारण एम्बुलेन्स चलाउन छाडेको पनि चार वर्ष भइसकेको थियो।
उपचारको खोजीमा ती पुरुषले नेपाल अनि भारतका विभिन्न अस्पताल चाहरी सकेका थिए। उनले ढाड दुख्ने समस्या पहिचानका लागि ४/५ पटक त एमआरआई मात्रै गरिसकेका थिए। ढाड दुखाइको उपचारका लागि उनको करिब २० लाख खर्चसमेत भइसकेको थियो। जसले गर्दा आर्थिक रुपमा पनि ती पुरुष कमजोर बन्दै गइरहेका थिए।
एकिन समस्या थाहा नहुँदा चिकित्सकको सल्लाह अनुसार ती पुरुषले ढाड दुख्ने समस्याको उपचार विधिका रुपमा सुई लगाउने, औषधि सेवन र फिजियोथेरापी विधि अपनाए।
डा. श्रीरामले पनि त्यो बेला औषधि सेवन र फिजियोथेरापी गर्न नै सल्लाह दिए। तर, औषधि उपचार गरुन्जेल मात्रै दुखाई कम हुने अनि औषधि उपचार गर्न छाडेपछि ढाड दुख्ने समस्या जस्ताको त्यस्तै हुने भएपछि ढाड दुखाइको पीडाले ती पुरुषको दैनिक जीवन नै कष्टकर बनिरहेको थियो।
केही महिनाको अन्तरालपछि एक दिन ती पुरुष पुनः डा. श्रीरामलाई भेट्न पुगे। जतिबेला उनी भारतको महाराष्ट्रस्थित ‘सेन्टर फर इन्डोस्कोपिक स्पाइन सजरी’ नामक अस्पतालमा पुगेर ६ महिना विशिष्टिकृत तह (एडभान्स)को ‘इन्डोस्कोपिक स्पाइन सर्जरी’ सम्बन्धी ज्ञान तथा सीप सिकेर नेपाल फर्किएका थिए।
त्यसपछि भने डा. श्रीरामले ती पुरुषको ढाड दुख्ने समस्याको समाधानको एकिन समस्या र समाधानको उपाय पत्ता लगाए। स्वास्थ्य परीक्षण गर्दा ती पुरुषको ढाडमा भएको ‘डिस्क’ खिइएर भित्री बनावटमा खराबी आएको थाहा भयो। यस्तो समस्यालाई चिकित्सकीय भाषामा ‘इन्टरनल डिस्क डिस्रप्शन’ भनिन्छ। मेरुदण्डको हड्डीको बीचको चक्कालाई ‘डिस्क’ भनिन्छ। डिस्कले मेरुदण्डलाई चलायमान बनाउने लगायतको काम गर्छ।
तर, ढाडको मेरुदण्डको डिस्कमा नै खराबी आएकाले ती पुरुषको ढाड लगायत शरीरको भार राम्रोसँग धान्न सकेन। जसले गर्दा ती पुरुष लामो समय बस्न सक्दैन थिए, निहुरिएर काम गर्न सक्दैनथे। बिहान उठ्दा धेरै दुखाई हुने अनि बिहान सुतेर उठिसकेपछि करिब आधा घण्टा ढाड सिधा गर्नै सक्दैनथे।
ती पुरुषको सबै एकिन समस्या थाहा पाइसकेपछि डा. श्रीरामले आफूले सिकेको चिकित्सकीय ज्ञान तथा सीपको आधारमा ती पुरुषको ढाड दुखाइको दीर्घकालिन समाधानको उपाय अपनाए। उनले ती पुरुषलाई कि त आफूले यस्तो शल्यक्रिया सम्बन्धी तालिम लिएको ठाउँ (भारत)मा जान सल्लाह दिए, या त आफैँसँग उपचार गर्न सुझाव दिए। रोग अनि पैसाको खर्चले हैरान भएका ती पुरुषले डा. श्रीरामसँग नै ढाडको शल्यक्रिया गराउन तयार भए।
त्यसपछि डा. श्रीरामले ती पुरुषको शल्यक्रियाको चाँजोपाँचो मिलाए। उनले आधुनिक उच्च प्रविधि ‘इन्डोस्कोपिक स्पाइन सर्जरी’ विधि अपनाई मेरुदण्डमा करिब एक सेन्टिमिटरको सानो प्वाल बनाएर दुरविनको सहायताले ती पुरुषको मेरुदण्डको शल्यक्रिया सुरू गरे। दुरविनको सहायताले मनिटरमा नसा देखाएर हेरेर उनले शल्यक्रिया गरे। शल्यक्रिया सफल भयो।
यसरी ‘इन्डोस्कोपिक स्पाइन सर्जरी’शल्यक्रिया गर्दा मांसपेशी तथा हड्डी काट्न परेन अनि शरीरको मांसपेशी लगायत शरीरको अंगमा क्षति पनि भएन।
मेरुदण्डको शल्यक्रिया गरेको भोलिपल्टै ती पुरुष हिँडडुल गर्न सक्ने भए। अनि अस्पतालबाट डिस्चार्ज भएर घर फर्के। ती एम्बुलेन्स चालकको पेशा गर्ने पुरुषको ढाड दुख्ने समस्या ठिक भयो। उनी त ठमठम हिँड्न थालिहाले।
केही दिनअघि मात्रै पनि ती पुरुष फलोअपमा आएको डा. श्रीरामले सुनाए। त्यसबेला ती पुरुषले मुस्कुराउँदै ‘यो सर्जरी त चमत्कारिक नै रहेछ नी डाक्टरसाप, अहिले त ढाड दुख्ने समस्या चैट भइगयो नी’ भनेको सम्झन्छन्, डा. श्रीराम। अहिले त ती पुरुषको सामान्य बाहेक ढाड दुख्ने समस्या ठिक भइसकेको छ। पूर्ण रुपमा ठिक हुने क्रममा नै रहेको उनले सुनाए।
ती पुरुष आफू ठिक भएपछि अरू पनि ढाड दुख्ने समस्या भएका बिरामीहरूलाई उपचारका लागि पठाइरहेको डा. श्रीरामले अनुभव सुनाए।
६० वर्षे घाइते आमैले पाएको त्यो दुःख
प्रसंग करिब तीन वर्षअघिको हो। करिब ६० वर्षका आमैलाई अस्पताल पुर्याइयो। आमैको रुखबाट घाँस झार्दा लडेर ढाड र दुवै खुट्टाको घुँडा भाँचिएका रहेछन्। बाहिरबाट हेर्दै ठूलो घाउ थियो। ती आमैको घुँडाको जोर्नी भन्दा तलको भागको हड्डी भाँचिएका थिए।
लडेर घाइते भएका आमैको अस्पतालमा प्राथमिक र आकस्मिक उपचार गरियो। त्यहाँ आकस्मिक उपचारपछि ती आमै थप उपचारका लागि नेपालगञ्ज मेडिकल कलेज गए। नेपालगञ्ज मेडिकल कलेजमा केही उपचार भयो। तर, ती घाइते आमैलाई एक हप्तापछि पुनः डा. श्रीराम भएको ठाउँमा नै उपचारका लागि ल्याइयो। त्यहाँ उनले दुवै खुट्टाको शल्यक्रिया गरी प्लेट राखिदिए।
शल्यक्रियापछि ती आमैको दायाँ खुट्टाको हड्डी राम्रोसँग जोडियो। तर, बायाँतर्फको खुट्टाको हड्डीको भने संक्रमण भयो। संक्रमण ठिक गर्नका लागि घाउको सरसफाइ लगायतको उपचारात्मक काम गरियो। अझै संक्रमण ठिक नै भएन। त्यसैले बायाँतर्फको खुट्टामा राखिएको प्लेट नै निकालियो। प्लेट निकाल्दासमेत संक्रमण ठिक भएन।
त्यसैले संक्रमण भएको खुट्टाको भागको हड्डी शल्यक्रिया गरी काटेर फालियो। त्यसपछि नयाँ हड्डी बनाउने प्रक्रिया सुरू भयो। बिस्तारै ती आमैको खुट्टाको हड्डीको समस्या ठिक हुँदै गयो। करिब डेढ वर्षको औषधि उपचारपछि ती आमैको खुट्टाको समस्या ठिक भयो।
करिब ६ महिनाअघि ती आमै फलोअपमा अस्पताल पुगेका थिए। त्यसक्रममा सामान्य हिँडडुल गर्न सक्ने र दैनिक सामान्य काम गर्न सक्ने भएको डा. श्रीरामले सुनाए।
अध्ययनमा अब्बल, माओवादीको डर
श्रीराम २०४६ मा बाजुराको हालको बुढिगंगा नगरपालिका वडा नम्बर-४ मा जन्मिएका हुन्। उनले आठ कक्षासम्म स्थानीय रेम्बो इङ्ग्लिस बोर्डिङ स्कुलमा पढे। तत्कालीन विद्रोही माओवादी र सरकार पक्षबीच भएको सशस्त्र द्धन्द्धका कारण गाउँमा पढ्ने वातावरण नै भएन। कतिखेर माओवादीले अपहरण गर्ने हो, कतिखेर कतै भीडन्तमा परेर मरिने हो भन्ने ठेगान भएन।
त्यसैले श्रीरामले कैलालीको धनगढीमा आएर ऐश्वर्य विद्या निकेतनमा नौ कक्षामा भर्ना भएर पढ्न थाले। उनले त्यहीँबाट २०६२ मा उच्च श्रेणी (डिस्टिङसन)का साथ एसएलसी गरे। एसएलसीपछि प्लसटु अध्ययनका लागि उनी काठमाडौं आए। अध्ययनमा तीक्ष्ण उनले काठमाडौं आएर नयाँ बानेश्वरस्थित हिमालयन ह्वाइट हाउस इन्टरनेश्नल कलेजबाट विज्ञान संकायमा डिस्टिङसनकासाथ नै प्लसटु गरे।
छात्रवृत्तिमा एमबीबीएस र एमएस अध्ययन
श्रीरामलाई डाक्टर पढ्ने इच्छा थियो। त्यसैले उनले एमबीबीएस अध्ययनका लागि तयारी गरे। सुनसरीको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस अध्ययनका लागि प्रवेश परीक्षा दिए। प्रवेश परीक्षामा उनी सफल भए। त्यसैले श्रीराम वीपी प्रतिष्ठानमा एमबीबीएस अध्ययनका लागि सन् २००९ मा भर्ना भए।
इन्टर्नसिपसहित सन् २०१५ मा उनको एमबीबीएस अध्ययन पूरा भयो। उनले सरकारी छात्रवृत्ति कोटामा नै एमबीबीएस अध्ययन गर्ने मौका पाए। एमबीबीएसपछि डा. श्रीराम अछामको बयलपाटा अस्पतालमा मेडिकल अधिकृतका रुपमा करार जागिरे भएर एक वर्ष काम गरे।
डा. श्रीरामलाई थप अध्ययन गर्नु त छँदै थियो। त्यसैले उनी अछाममा काम गरिसकेपछि थप अध्ययनका लागि भारत पुगे। भारतको जवाहरलाल मेडिकल इन्स्टिच्युट (जिपमर)मा एमएस (मास्टर्स इन सर्जरी) विषय अध्ययन गर्नका लागि उनी छनोट परीक्षामार्फत पहिलो नम्बरमा नै छनोट भए। हुन त त्योबेला उनी लोकसेवा मार्फत चिकित्सातर्फ आठौं तहको सरकारी स्थायी जागिरे पनि भएका थिए। तर, उनले सरकारी जागिर नखाएर अध्ययनकै बाटो रोजे।
छनोटपछि उनी सन् २०१७ मा भर्ना भएर चिकित्सा शास्त्रको स्नातकोत्तर तहको ‘अर्थोपेडिक सर्जरी’ विषयमा छात्रवृत्ति कोटामा नै एमएस अध्ययन गर्न थाले। त्यस विषय अध्ययन गरेका चिकित्सकलाई ‘हाडजोर्नी रोग विशेषज्ञ’का रुपमा चिनिन्छ। सन् २०१९ को अन्त्यमा उनी तीन वर्षे एमएस अध्ययन सकेर नेपाल फर्के।
आधुनिक प्रविधि दुरविनको सहायताले मेरुदण्डको शल्यक्रिया गर्ने सीप
एमएस अध्ययन सकेर नेपाल फर्किएपछि डा. श्रीराम भर्खर खुलेको धनगढीको निसर्ग अस्पतालमा सन् २०२० बाट काम गर्न थाले। त्यहीँ काम गरिरहेकै बेला डा. श्रीराम भारतकै महाराष्ट्रस्थित ‘सेन्टर फर इन्डोस्कोपिक स्पाइन सजरी’नामक अस्पतालमा पुगे। त्यहाँबाट सन् २०२३ मा ‘इन्डोस्कोपिक स्पाइन सर्जरी’ विधामा एक महिने फेलोसिप गरी ज्ञान तथा सिप सिकेर उनी नेपाल फर्के। भारतको त्यो अस्पताल दुरबिनको प्रयोग गरेर मेरुदण्डको शल्यक्रिया हुने ठूलो अस्पताल भएको उनले सुनाए।
‘इन्डोस्कोपिक स्पाइन सर्जरी’ मेरुदण्ड सम्बन्धी समस्याको उपचारका लागि दुरबिनको माध्यमबाट शल्यक्रिया गर्ने उच्चतम प्रविधि भएको उनले डा. श्रीरामले सुनाए। यो विधा स्पाइन सर्जरी भित्रको पनि विशिष्टिकृत विधा हो।
भारतबाट ‘इन्डोस्कोपिक स्पाइन सर्जरी’ सम्बन्धी ज्ञान तथा सीप सिकेर नेपाल फर्किएसँगै भारतबाटै शल्यक्रियाको सामग्री ल्याएर नेपालमा पनि निसर्ग अस्पतालमा ‘इन्डोस्कोपिक स्पाइन सर्जरी’ सुरू गरेको उनले सुनाए। नेपालमा यस्तो सर्जरी गर्न उपकरण लगायत व्यवस्थापनका लागि खर्चिलो भएकाले सुरुमा निक्कै चुनौती भएको उनको अनुभव छ।
उनले त्यतिमा मात्रै चित्त बुझाएनन्। ‘इन्डोस्कोपिक स्पाइन सर्जरी’ सम्बन्धी थप विशिष्टिकृत ज्ञान तथा सीप सिक्ने इच्छा भयो। त्यसैले डा. श्रीराम भारतकै महाराष्ट्रस्थित ‘सेन्टर फर इन्डोस्कोपिक स्पाइन सर्जरी’ नामक अस्पतालमा नै पुगेर ६ महिना विशिष्टिकृत तह (एडभान्स)को ‘इन्डोस्कोपिक स्पाइन सर्जरी’ सम्बन्धी ज्ञान तथा सीप सिकेर सात महिनाअघि नेपाल फर्के।
नेपालमा यो विधिको ज्ञान तथा सीप सिकेका चिकित्सक संख्या नगन्य छ।
मेरुदण्डको उपचार गर्ने विभिन्न किसिमका शल्यक्रिया विधि हुन्छन्। जसमध्ये करिब दश सेन्टिमिटरसम्म चिरेर पनि शल्यक्रिया गरिन्छ। यस्तो शल्यक्रियालाई ‘ओपन स्पाइन सर्जरी’ भनिन्छ। ‘ओपन स्पाइन सर्जरी’ शल्यक्रियामा बिरामीले अलि बढी दुःख पाउने लगायतको समस्या हुने भएकाले प्रविधिको विकाससँगै यस किसिमको शल्यक्रिया आजकाल कम हुँदै गएको उनले सुनाए।
प्रविधिको विकाससँगै ‘ओपन स्पाइन सर्जरी’पछि ‘माइक्रोस्कोप सर्जरी’ विधिबाट पनि मेरुदण्डको शल्यक्रिया गरिन्छ। यस्तो प्रविधिको प्रयोग गरेर गर्ने शल्यक्रियामा माइक्रोसकोपको सहायताले करिब चार सेन्टिमिटरसम्म चिरेर मेरुदण्डको शल्यक्रिया गरिने डा. श्रीरामले सुनाए। त्यसपछि ट्युबको सहायताले गरिने शल्यक्रियाको विकास भएको उनले सुनाए।
आजकाल उच्च प्रविधिको आधुनिक ‘इन्डोस्कोपिक स्पाइन सर्जरी’ विधि अपनाई करिब एक सेन्टिमिटरको सानो प्वाल बनाएर दुरविनको सहायताले मेरुदण्डको शल्यक्रिया गर्न सकिने डा. श्रीरामले सुनाए। दुरविनको सहायताले मनिटरमा शल्यक्रिया गरिने ठाउँको नसा देखाएर हेरेर शल्यक्रिया गरिन्छ।
‘इन्डोस्कोपिक स्पाइन सर्जरी’ विधिको यस्तो ज्ञान तथा सीप उनीसँग छ। र, डा. श्रीरामले यही विधिबाट मेरुदण्ड सम्बन्धी शल्यक्रिया गर्नुपर्ने बिरामीको शल्यक्रिया गरी उपचार गर्छन्। यसरी ‘इन्डोस्कोपिक स्पाइन सर्जरी’ शल्यक्रिया गर्दा शल्यक्रिया गरिने ठाउँको मांसपेशी तथा हड्डी काट्न नपर्ने उनले सुनाए। यस्तो शल्यक्रियाको विधिले शरीरको मांसपेशी लगायत शरीरको अंगमा क्षति हुने सम्भावना अत्यन्तै कम हुन्छ।
‘इन्डोस्कोपिक स्पाइन सर्जरी’ विधि अपनाई मेरुदण्डको शल्यक्रिया गरेको भोलिपल्टै बिरामी हिँडडुल गर्न सक्ने र बिरामी थला पर्ने समस्या पनि कम हुने डा. श्रीरामले सुनाए। त्यसैगरी यस्तो विधि अपनाई शल्यक्रिया गर्दा बिरामीको समस्या ठिक हुने सम्भावना पनि उच्च हुने उनले अनुभव सुनाए।
हाल डा. श्रीरामले अस्पतालमा ‘इन्डोस्कोपिक स्पाइन सर्जरी’ सम्बन्धी छुट्टै युनिट नै खडा गरेर विशेषगरी मेरुदण्डसम्बन्धी समस्या भएका र नसा च्यापिएका बिरामीको उपचारको काम गरिरहेको सुनाए।
त्यतिमात्रै हैन, कुनै पनि दुर्घटनाजस्ता कारण हाडजोर्नीमा चोटपटक लगायतसमस्या भएका बिरामीको उपचार गर्नु उनको चिकित्सकीय अध्ययनको विधा हो। त्यसैगरी चोटपटकका कारण मांसपेशी, जोर्नी, नसा लगायत हाडजोर्नीमा भएका समस्याको औषधि उपचार तथा शल्यक्रिया गरी बिरामीलाई सञ्चो बनाउने कोशिश गर्नु उनको दैनिकी हो।
भदौ २१, २०८१ शनिबार २२:००:४६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।