रानी ऐश्वर्यले पोलियोले बिग्रिएको खुट्टा उपचारका लागि वीर अस्पताल ल्याएपछि 'रानीको मान्छे' भनेर गंगालाई हेर्न आउनेको भिड लाग्यो
स्याङजाको दार्सिङ दहथुममा वि.स.२०११ सालमा जन्मिएकी गंगा कर्माचार्य पौडेल सानैबाट पोलियोबाट ग्रस्त बनिन्। पहिल्यैबाट कविता लेखन राम्रो भएकी उनी पोखराको पृथ्वीनारायण क्याम्पसमा वादविवाद प्रतियोगितामा प्रथम भइन्। त्यो कार्यक्रमको प्रमुख अतिथि रानी ऐश्वर्यराज्यलक्ष्मी शाहको हातबाट स्वर्ण पदक ग्रहण गरिन्। रानीले कुप्रो परेर आएकी गंगालाई देखेपछि सोधपुछ गरेर आफ्नै अनुरोधमा वीर हस्पिटलमा उपचार गराइन्।
वीर हस्पिटलमा उनको उपचार रानीको रोहबरमा भएपछि उनलाई भेट्न थुप्रैको भिड लाग्थ्यो। कोही आफूलाई सरुवाको लागि आउँथे त कोही जागिरका लागि। महिला साहित्यकार नहुने त्यसबेला अस्पतालमा केटी मान्छे पनि कवि छिन् रे भन्ने सुनेपछि उनलाई भेट्न थुप्रै साहित्यकारहरू पनि आए।
त्यहीबेला आएका साहित्यकार हेम पौडेलले बिस्तारै गंगालाई मन पराए। पञ्चायती व्यवस्थाकाबीच अन्तर्जातीय विवाह गर्नुहुँदैन भन्ने समयमा उनलाई पौडेल (ब्राह्मण)ले विवाहको लागि प्रस्ताव गरे। पौडेलले आफूलाई प्रस्ताव राखेको कुरा घरमा सुनाएपछि सुरुमा उनलाई बुबाले हुन्न भन्ने कुरा गरे। तर, आमाले समर्थन गरेपछि उनले गुह्रेश्वरीमा ३४ सालतिर विवाह गरिन्।
उनले आफूले भोगेका देखेका र अनुभव गरेका कुरालाई उकेराको नियमित स्तम्भ हिजोको कुरामा यसरी सुनाइन् :
छोरीलाई पढाउनु हुँदैन भन्दा घिस्रिएरै ३ घण्टाको स्कुल
स्याङ्जा जिल्लाको तत्कालीन दार्सिङ दहथुम गाविस अहिले भिर्काेट नगरपालिका वडा नम्बर १ मा पर्छ। मेरो जन्म २०११ मा त्यहीं भयो। तीन दिदीबहिनीमा म कान्छी हो। मैले थाहा पाउँदा छोरी पढाउने चलन थिएन। पढाउन नसकेर होइन, चलन नै नभएकाले छोरीहरूले पढ्न पाएनन्। अनि स्कुल पनि खासै थिएन।
एउटा दहथुम स्कुल भन्ने थियो, हाम्रो घरबाट ३ घण्टा टाढा। आधा घण्टा उकालो चढेपछि अनि सिधा-साधा बाटो आउँथ्यो। नत्र उकालो-आरोलो गर्दै ३ घण्टा हिँडेपछि बल्ल स्कुल पुगिन्थ्यो। स्कुलमा पढ्ने विद्यार्थीहरू पनि निकै कम थिए। मलाई पनि बुबाआमाले पढाउने कुरा गर्नुभएको थिएन।
हाम्रो घर मूल सडकमै भएकोले केटाहरू अनि केही दिदीहरू कपडाको झोला बोकेर स्कुल जाने-आउने गर्थे। त्यो देखेपछि म पनि स्कुल जान्छु भनेर बुबाआमासँग जिद्दी गरें।
मेरो जन्मँदै देब्रे खुट्टामा पोलियो भएको हो। त्यही भएर म राम्ररी हिँड्न सक्दैनथेँ। खुट्टा लतारेर अनि कुप्रो परेर हिड्थें। त्यसैले पनि घरको काम गर्नुपर्दैन थियो।
३/४ वर्षको भएपछि मलाई पनि स्कुल जाउ-जाउ लाग्ने। अनि बुवाआमालाई म पनि स्कुल जान्छु भन्दा 'तँ हिँड्नै सक्दिनस् कसरी जान्छेस्?' भन्नुहुन्थ्यो।
त्यतिबेलाको समयमा स्कुलभरिमा १०/१२ जना जति केटीहरू हुन्थे। केटीहरूलाई पढाउने चलन थिएन नै, पढाई हाले पनि ५ कक्षासम्म मात्र हो। १२/१३ वर्षको उमेरमा त बिहे नै गरिदिन्थे।
अनि म र मेरो अप्सरा, यचु, धन भन्ने गट्टा खेल्ने साथीहरू थिए। उनीहरू पनि स्कुल जान्थे। मैले रोएर अति गरेपछि मेरो माइली दिदी र त्यही गट्टा खेल्ने साथीहरूको साथमा लगाएर बुबाआमाले मलाई स्कुल पठाइदिनुभयो। तर, मेरो माइली दिदीले एक महिना पनि पढ्नु भएन।
अनि म साथीहरूसँग स्कुल जान थालें। हिँड्न नसकेर बाटोमा बुङ्लुङ-बुङ्लुङ लड्थेँ। पहिलाको बाटो अहिलेको जस्तो राम्रो हुँदैन थिए। कान्ला-कुन्ली हुन्थ्यो। कुनै कुनै ठाउँमा त तिनै साथीहरूले बोकेर लैजान्थे। स्कुल पुगेपछि पनि कक्षा कोठामा म मात्रै केटी हुन्थेँ। १ कक्षादेखि नै म एक्लै केटी थिएँ, अरू सबै केटै-केटा।
स्कुलको कुरा गर्ने हो भने, अहिलेको जस्तो पानी पर्दा नभिज्ने, पक्का कहाँ हुन्थ्यो र त्यतिबेला! दुईपाखे छानाको थियो, पानी पर्दा छुट्टि दिन्थे, नपर्दा धुलै-धुलो। पालमुनी मेरो कक्षाकोठा थियो, ढुङ्गामा बस्नुपर्ने। कहिलेकाँही त म बस्दै आएको ढुङ्गा नै केटाहरूले मिल्काइदिन्थे।
केही समयपछि यचु चाहीँ खै के भएर हो, १२ वर्षको उमेरमा नै बिति, अप्सरा र धनाको विहा गरिदिए। उनीहरुको बिहे भएपछि म स्कुल जाने पनि एक्लै भएँ। अनि त लड्दै-लड्दै स्कुल जान्थेँ। खुट्टाको भर थिएन। खल्च्याङ-खल्च्याङ गर्दै स्कुल जाँदा-आउँदा खुट्टा भरि घावै-घाउ हुन्थ्यो।
त्यतिबेला अहिलेको जस्तो औषधि मलम हुँदैन थियो। कहिले झार कुटेर आमाले लगाइदिनु हुन्थ्यो भने कहिले नौनी घिउमा बेसार राखेर दलिदिनु हुन्थ्यो। त्यसरी स्कुल जाँदा केटाहरूले धानकुटी आइ भनेर जिस्क्याउँथे। ठुलो हुँदै गएपछि सायद उनीहरूमा पनि चेतना आयो क्यारे भन्न छोडे।
उनीहरूको कुराले सुरुसुरुमा त खासै वास्ता लाग्दैन थियो। जब म मज्जाले बुझ्ने भएँ, अनि धानकुटी आइ भन्दा सारै चित्त दुख्थ्यो। अनि घरमा आएर 'आमा मलाई केटाहरूले धानकुटी भने' भनेर सुनाउँथेँ। आमाले उनीहरुलाई कुट्नुहोला भनेको त उल्टै 'तिमी स्कुल नजाउ भन्दा मान्दिनौँ, अब ति केटाहरूसँग लडेर होइन पढेर जित्देउ न, भन्नुभयो। आमाको शब्दले एकदमै मन छोयो।
मैले सोचे, मेरो समस्या म आफैंले समाधान गर्नुपर्छ। त्यसपछि मैले मजाले पढेँ। अनि म स्कुलमा सधैँ पहिलो हुन थालेँ। पूर्णामृत हाइस्कुलबाट २७ सालमा एसएलसी दिएँ। थर्ड डिभिजनमा पास गरें। त्यतिबेला हाम्रो स्याङ्जा जिल्लाबाट एसएलसी दिने केटीहरूमा ६ जना र पर्वत जिल्लाको ३ जना गरेर ९ जना थियौँ।
एसएलसी पास नहुँदै स्कुल पढाउन अफर
मैले एसएलसी दिएको मात्रै थिएँ, घरमै जागिरको लागि अफर आयो। एसएलसीको जाँच सकिएको भोलिपल्टै जिल्ला सभापतिले घरमै मान्छे पठाएर स्याङ्जामा बोलाउनुभयो। म त्यहाँ पुगेपछि जिल्ला सभापतिले 'एसएलसी पढेको मान्छे घर बस्ने तिमी? आएर यहाँ बाल मन्दिरमा पढाइदेउ’ भन्नुभयो।
त्यतिबेला स्कुल पढाउने मान्छे थिएनन्। म त के भन्नु भयो। बुबा जस्तो मान्छेले भनेपछि नाइँ भन्न पनि अप्ठ्यारो। आउन-जान मलाई सहज पनि छैन। हिँड्नलाई नै गाह्रो छ।
त्यतिबेला नै मेरो नागरिकता पनि बन्यो, टिचिङ लाइसेन्स पनि पाइयो। अनि भोलिपल्टबाट पढाउन थालें। त्यहाँबाट १ वर्ष पढाएपछि विराटनगरमा तालिममा पठाइयो। त्यतिबेला स्कुलमा पढाउने शिक्षक-शिक्षिकाको लागि तालिमको पनि व्यवस्था हुन्थ्यो। त्यतिबेला तालिममा जाने दुई जना थियौं, सरस्वती थापा र म। अहिले उहाँ पश्चिमाञ्चल विश्वविद्यालयको कुलपति गणेश गुरुङकी श्रीमती हुनुहुन्छ। उहाँ र म विराटनगरको त्यो तालिम जाँदा त सबैभन्दा थोरै पढ्नेमा परेछु।
विराटनगर पुगेपछि सबैभन्दा थोरै पढ्ने शिक्षिका म नै रैछु भन्ने लागेपछि एक महिनाको तालिम सकेर फर्केँ। अनि ३ महिना जति पढाएर छोडें। अनि पोखराको पृथ्वीनारायण क्याम्पसमा कमर्स विषय लिएर आइएमा भर्ना भएँ। पहिलो वर्षमा एउटा विषयमा फेल भएँ। कहिल्यै फेलको अनुभव नभएको मलाई फेल भएपछि सार्है तनाव भयो। डिप्रेसन जस्तै भयो। अनि अर्को वर्ष मैले मानविकी तर्फ भर्ना भएँ। यताको विषयमा भने म रेगुलर नै पास भएँ। मैले ३३ सालमा बिहे पास गरेको हो।
रानी ऐश्वर्यले दिएको त्यो गोल्ड मेडल
म कक्षा ६ बाट नै साहित्य लेखनमा थिएँ, जानी-नजानी कविता, गीत, गजल लेख्थेँ। कसरी लेखिन्छ, छन्द के हो, केही थाहा छैन। त्यै पनि म लेखिरहेकै हुन्थेँ। स्कुलको कविता प्रतियोगितामा सहभागी हुन्थेँ।
केटीहरूमा कोही कविता लेख्ने नभएर होला,प्रायजसो म प्रथम हुन्थेँ। सबैले तिमीले त राम्रो लेखिछौ भनेर मलाई फुर्क्याउँथे। अनि राम्रो लेखेको कविता स्कुलको भित्तामा गोबरले टाँसिन्थ्यो।
३३ सालमा अन्तर क्याम्पस वादविवाद प्रतियोगिता भएको थियो, त्यसमा म पहिलो भएँ। यो पुरस्कार वितरण गर्न प्रमुख अतिथि तत्कालीन रानी ऐश्वर्य राज्यलक्ष्मी शाह आउनु भएको थियो। उहाँको हातबाट मैले स्वर्ण पदक पाएँ।
त्यो सुनको पदक लिन जाँदा रानीले खल्च्याङ-खल्च्याङ गरेर आएको देखेपछि रानीले मलाई लिन पठाउनु भएछ। उहाँहरूले मलाई गाडीमा राखेर रानी बसेको ठाउँमा लग्नुभयो। अनि रानीले तपाईंको खुट्टामा के भएको हो? भनेर सोध्दा मैले 'सेती नाग लागेको' भनेँ।
त्यतिबेला सबैले सेती नाग लागेको भन्ने गर्थे, अरूले जे भने मैले रानीलाई त्यही सुनाएँ। मेरो कुरा सुनेपछि रानी मुसुक्क हाँस्नुभयो। किनभने त्यतिबेला मेरो खुट्टा के भएको हो भन्ने कुरा थाहा थिएन। आमाबुबाले यो खुट्टा निको पार्न सेतो पाठी, कुखुरा कति काटियो-काटियो। कति झारफुक गरियो साध्य छैन।
अनि रानीले उपचार गरेको छ कि छैन भनेर सोध्नुभयो। मैले धामी-झाँक्री,ओखती-मुलो सबै गरियो अरु छैन भनेँ। उहाँले भोलि डाक्टरकोमा देखाम भन्नुभयो। मैले हुन्छ भनेँ। त्यति भनेपछि मलाई मेरै डेरामा छोड्न पठाउनुभयो। अनि भोलिपल्ट बेलायतबाट आएको डाक्टरले मेरो खुट्टा हेर्नुभयो। उहाँले 'यो पोलियो हो, यो पुरा ठिक त हुँदैन तपाईंलाई हिँड्न सहज हुन्छ। त्यसका लागि तपाईं बेलायतको अस्पताल जानुपर्छ' भन्नुभयो।
मैले रानीलाई पोलियो भएको रे भन्ने कुरा सुनाएपछि रानीले काठमाडौं हिँड भन्नुभयो। मैले 'हुँदैन एक वर्ष पढाई हुन बाँकी छ' भनेपछि उहाँले 'हुन्छ तिमी पढाई सकेर आउ' भनेर ठेगाना दिनुभयो।
मेरो ब्याचलरको पढाई सकियो। काठमाडौं आएँ। अनि रानीले दिएको फोन नम्बरमा कल गरें।
उहाँले मलाई वीर हस्पिटलमा भर्ना गरिदिनुभयो। यो मेरो खुट्टाको उपचार खर्च रानीले नै व्यहोर्नु भएको थियो। म बीर हस्पिटलमा एक वर्ष बसेँ।
रानीको मान्छे भनेपछि मलाई हेर्ने र सरुवा गर्दे भन्नेको भिड लाग्थ्यो। तर, रानीसँग न मेरो भेट हुन्थ्यो न कुराकानी नै। मलाई 'सरकारलाई भनेर सरुवा गर्दे' भन्दै आउँथे। कोही 'मेरो बढुवाका लागि भन्दे' भन्दै आउँथे। मलाई भेट्नेको घुइँचो नै लाग्थ्यो।
म त भर्खरको केटाकेटी जस्तो मान्छे, केहो-केहो। एक वर्ष उपचारपछि बल्ल मेरो खुट्टा यतिको भएको हो। रानीले नै भारतबाट मलाई अलिक सहजताका लागि वैशाखी दिनुभएको थियो। जुन अहिलेसम्म पनि टेकेर हिँडिरहेको छु।
अस्पतालको बेडबाट नै कविताबाट प्रेमपत्रको जुहारी
त्यो एक वर्ष बीर अस्पतालको बेडमा हुँदा लमजुङको दीपक सोती आउनुभएको थियो। उहाँसँग मेरो पहिला नै पोखरामा भेट भएको थियो। अस्पतालमा आएर उहाँले अब किताब निकालौँ भन्नुभयो। उहाँ आफैले मेरो कविता कलेक्सन गरेर, कविता संग्रह तयार पार्नुभयो। अनि कभर बनाउनुपर्ने भयो। कभरका लागि कलाकार चाहियो। अनि हेम पौडेलसँग कुराकानी गरेर कभर बनाएर लगिदिनुभयो।
३३ सालमा ‘गंगाका केही छालहरू’ नामक किताब छापियो। कभर बनाएपछि हेम पौडेल पनि मलाई भेट्न आउनुभयो। कविहरूको थुप्रै भेट हुन्थ्यो। त्यतिबेला केटीहरूले कविता, गीत, गजल लगायतका पुस्तकहरू लेख्नै हुँदैन थिए। महिलाहरू साहित्यकार हुँदैनन् भन्ने थियो। त्यही भएर केटी मान्छे पनि कवि छन् रे भन्ने सुनेपछि हेर्ने र भेट्नेको भिड लाग्थ्यो।
यही क्रममा के आकर्षण बढ्यो कुन्नि, हेम पौडेलले कवितामा नै प्रेमपत्र लेख्न थाल्नुभयो। प्रेमपत्र पनि कसरी भने अलिकति रेक्पेक्ट किसिमले लेख्नुभएको थियो। मलाई अहिले पनि त्यो हरफ थाहा छ। फूलको गुच्छासहितको पेपरमा ‘ओठका मुस्कान मात्र होइन, आँसु पनि बाँड्ने गर, आजका दिनमा मात्र होइन भोलिका कल्पना सुनाउने गर। अञ्जुली अञ्जुलीबीच विष पिएर तिमीलाई जिहाइदिन्छु’ लेख्नुभएको थियो। कति अर्थपूर्ण, रहस्यमय कविता थियो।
मैले उहाँको भनाई बुझेँ। 'तपाईंको इच्छा चाहना मैले बुझेको छु, जुन मैले पुरा गर्न सक्दिन' भनेर निकै समयपछि मैले पनि कवितामा नै हरफ फर्काएँ। कवितामा नै झण्डै हाम्रो एक वर्ष दोहोरी चल्यो। कुराकानी हुन थालेपछि घर पुगेको समयमा आमाबुबालाई सोधेँ। बुबाले बाहुन क्षेत्रीसँग विवाह गर्नु हुँदैन भन्नुभयो। आमाले तिमीले 'जे गर्नु छ गर, म बुबालाई समाल्छु' भनेपछि गुह्वेश्वरी मन्दिरमा विवाह भएको हो।
मलाई मागेर नै बिहे गरेको हुनाले यताको तर्फबाट मलाई केही असर गरेन। किनभने यताको परिवारले छोराले बिहे गर्यो भनेर खुशी हुनुभएको थियो। विवाहपछि मेरो जम्ल्याहा छोराछोरी जन्मिए। अनि केही समयपछि जागिरमा लागें।
सरकारसँग तराईमा जग्गा माग, बैंकमा जागिर भन भनेर अर्हाउँथे
रानीले मेरो उपचार र हेरचाहमा खर्च गरिदिनुभएको हुनाले कोही 'रानीसँग तराईमा जग्गा माग न' भनेर अर्हाउथेँ। कोही 'तिमीलाई हिँड्न कस्तो गाह्रो छ गाडी माग न' भन्थे। कोही सरकारी जागिर, कोही बैंकमा जागिर माग भन्थे। मेरो इच्छा सानैबाट नै सेवामा लाग्छु भन्ने थियो।
रानीसँगको भेटमा अब के गर्ने बिचार छ भनेर सोध्नुभएको थियो। मैले 'समाजसेवाका साथै जागिर सरकार' भनेको थिएँ। किनभने पुरा समाजसेवा गर्न मसँग पैसा छैन। काठमाडौंमा बसेपछि भात त खानुपर्यो।
मैले भनेजस्तै नै जागिर पाएँ। नारी समन्वय समिति भन्ने संस्था थियो, भृकुटीमण्डप छेउमा। त्यहाँ केही समय जागिर खाएपछि चक्रपथमा रहेको कुष्ठरोग निवारण केन्द्रमा अधिकृत भएर २५ वर्ष सेवा गरें। त्यो सरकारी जागिरे भने होइन, कुष्टरोग लागेका आमाबाबुका छोराछोरी ल्याएर पालन पोषण गर्ने संस्था हो।
भदौ १९, २०८१ बिहीबार २१:०९:४२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।