अदालतको आदेश र निरन्तरको दबाबपछि धनरासबाटै वडा नम्बर १ को कामकाज सुरू

अदालतको आदेश र निरन्तरको दबाबपछि धनरासबाटै वडा नम्बर १ को कामकाज सुरू

सुर्खेत : जिल्लाको चौकुने गाउँपालिका वडा नम्बर १ को वडा कार्यालयको कामकाज पुरानै स्थान धनरासबाटै सुरू भएको छ।

अदालतको आदेश उल्लंघन गरेको विषयमा स्थानीयको दबाब र खबरदारीपछि गाउँपालिकाले वडा नम्बर १ धनरासमा रहेको नेपाल राष्ट्रिय माध्यमिक विद्यालयको एउटा कोठाबाट सेवा थाल्न निर्देशन दिएपछि धनरासबाटै सेवा दिन थालेको हो।

अदालतको आदेश भएपछि पालिकाले निर्देशन दिइरहन नपर्ने भए पनि वडा कार्यालयले पालिकाबाट पत्र आएपछि मात्र कार्यालय सारेको हो।

वडा कार्यालय सारेर स्थानीयले पाएको सास्तीदेखि अदालतको आदेशसम्मको विषयमा अदालतले निरन्तर समाचार प्रकाशित गर्दै आएको थियो।

पालिकाका प्रमुख कार्यकारी अधिकृत सुमन अर्यालद्वारा हस्ताक्षरित पत्रमा साविकको वडा कार्यालय मर्मत नहुन्जेलसम्मका लागि विद्यालयबाट सेवा थाल्न भनिएको थियो। साउन २७ गते अदालतले आदेश दिए पनि पालिकाले पत्र काट्न १७ दिन ढिलाइ गर्दा स्थानीयले दु:ख पाएका थिए।

१८ मध्ये १७ गाउँको जनचाहना र कानून विपरीत वडा नम्बर १ को कार्यालय सारिएपछि सुर्खेतस्थित उच्च अदालतले त्यसलाई रोक लगाएर पुरानै स्थान धनरासबाट वडा कार्यालय सञ्चालन गर्न दिएको अल्पकालीन अन्तरिम आदेश गाउँपालिका अध्यक्ष र वडा अध्यक्षले अटेर गरेका थिए।

तर, भदौ १२ गते भने चौकुने गाउँपालिकाले सम्मानित अदालतको आदेशअनुसार धनरासबाटै सेवा प्रवाह गर्न वडालाई निर्देशन दिएको हो।

प्रमुख प्रशासकीय अधिकृत आचार्यले भने, ‘हामीले अदालतको आदेशलाई सम्मान गरेका छौँ। अहिले स्कुलको एक कोठाबाट सेवा दिने र पछि थप व्यवस्थापनहित कार्यालय स्थापना गरेर त्यहिँबाट सेवा दिनेगरी तयारी थालेका छौँ।’

चौकुने गाउँपालिका वडा नम्बर १ का वडा सचिव सत्यनारायण शाहले १२ गते पालिकाले निर्देशन दिएपछि १३ गते बाट पुरानै धनरासबाट सेवा दिइएको बताए।

‘पालिकामा १२ गते निर्णय भएर १३ गते चिठी आएपछि पुरानै वडा कार्यालयबाट हामीले सेवा दिएका छौँ,’ उनले भने, ‘अहिले विद्यालयबाट वडाको कामकाज गरिरहेको छौँ।’

वडाध्यक्ष जिरक बडुवालले वडा नम्बर १ को धामीसेन र २ नम्बर वडा कार्यालयबाट आफ्नो कामकाज गरिरहेका थिए। त्यसले सामान्य सिफारिसका लागि समेत स्थानीयले निकै सास्ती पाएका थिए।

वडाध्यक्ष बडुवालले सामाजिक सुरक्षा भत्ताको लागि कार्ड नवीकरण गर्न भन्दै धामीसेनको विद्यालय र वडा नम्बर २ को कार्यालयमा घुम्ती शिविर राखेका थिए। धामिसेन वडा नम्बर १ मै रहेको धनरास नजिकैको गाउँ हो।

वडाध्यक्ष बडुवालले घरपायक पर्ने सातामा वडा कार्यालय सार्न गरेको सिफारिसलाई कार्यपालिका बैठकले स्वीकृत गरेपछि १७ गाउँमा स्थानीयको प्रतिनिधित्व गर्दै लछिराम आलेले वडाध्यक्षविरुद्ध उच्च अदालतमा मुद्दा दायर गरेका थिए।

साउन १५ गते उच्च अदालत सुर्खेतले चौकुने गाउँ कार्यपालिकाका नाममा कारण देखाऊ आदेश जारी गर्दै वडा कार्यालय सार्ने असार १० गतेको गाउँ कार्यापालिकाको निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गर्दै साउन २७ गतेसम्मका  लागि अर्को पेशी समेत तोकेको थियो।

साउन २७ गतेको पेशीमा गाउँ कार्यपालिकाबाट पारित असार १० को निर्णय, वडा नम्बर १ को सम्पूर्ण सिमाना खुल्ने अधिकार प्राप्त निकायबाट जारी नक्सा सहितको सक्कल फाइल पेश गर्न अदालतले आदेश दिएको थियो। तर सो पेशीमा पालिका र वडाले सोसम्बन्धी सक्कल कागजातहरू पेश गर्न सकेनन्।

त्यसपछि उच्च अदालतका न्यायाधीशद्वय कृष्णलाल भट्टराई र मदन पोख्रेलको संयुक्त इजलासले साउन १५ गतेकै अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिँदै पुरानै स्थान अर्थात धनरासबाटै वडा कार्यालयको कामकाज गर्न आदेश दिएको थियो।

साउन २७ गतेको इजलासमा समेत अदालतले गाउँपालिका अध्यक्ष र वडाध्यक्षलाई अदालतको आदेश कार्यान्वयन नगरेकोमा झपारेको थियो। पाल्पाघाट, देवल, धामीसेन, तालागाउँ, जारिमे, सिमली, काप्रीकाँडा, पग, गैलु, चाहाबोट, केलाबोट, सोता, तोलीसेन, नेटेकाँडा, बडासेन, पोखरे, धनरास र साताको केन्द्र धनरासमा पर्छ।

भदौ १७, २०८१ मंगलबार १२:५१:१२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।