जनप्रतिनिधिले अदालतको आदेश नटेर्दा एउटै वडाको दुईटा कार्यालय

जनप्रतिनिधिले अदालतको आदेश नटेर्दा एउटै वडाको दुईटा कार्यालय

सुर्खेत : जिल्लाको चौकुने गाउँपालिकाका जनप्रतिनिधिले अदालतको आदेशका कार्यान्यवनमा अटेर गरेका छन्।

१८ मध्ये १७ गाउँको जनचाहना र कानून विपरीत वडा नम्बर १ को कार्यालय सारिएपछि सुर्खेतस्थित उच्च अदालतले त्यसलाई रोक लगाएर पुरानै स्थान धनरासबाट वडा कार्यालय सञ्चालन गर्न दिएको अन्तरिम आदेश गाउँपालिका अध्यक्ष र वडा अध्यक्षले अटेर गरेका हुन्।

अदालतको आदेश कार्यान्वयन नगर्दा उनीहरूविरुद्ध अदालतको अवहेलनाको मुद्दा लाग्ने त अवस्था त छ नै, स्थानीय जनताले समेत सास्ती भोगिरहेका छन्। साथै सरकारी सम्पत्ति समेतमा बढी खर्च भइरहेको छ।

अहिले स्थानीयले न वडाध्यक्षले सारेको ठाउँ साताबाट सेवा पाएका छन्, न त अदालतले पुरानै ठाउँबाट सेवा देऊ भनेको धनरासबाट नै सेवा पाएका छन्।

वडाध्यक्ष जिरक बडुवालले अहिले २ नम्बर वडा कार्यालयबाट आफ्नो कामकाज गरिरहेका छन्। यसले सामान्य सिफारिसका लागि समेत स्थानीयले निकै सास्ती पाएका छन्।

०००

वडाको गैलुका ३२ वर्षीय टंक कठायत छोराको जन्मदर्ता बनाउन नयाँ सारिएको भनिएको वडा कार्यालय साता पुग्दा त्यहाँबाट काम हुन सकेन।

नयाँ भनिएको वडा कार्यालयमा ताला लागेको थियो भने वडा सचिवलाई फोन गर्दा ’पालिकाले नगर्नु भनेको छ’ भन्दै पन्छिए। नेताको प्रतिष्ठाको लडाइँमा जनताले सास्ती पाउन नहुने भन्दै उनले आफूहरूलाई सहज रूपमा सेवा दिनुपर्ने माग गरे।

त्यस्तै तीन घण्टा पैदल हिँडेर नयाँ वडा कार्यालय सातासम्म आएर पनि सेवा पाउन नसकेपछि तालागाउँका देवबहादुर सावँद खाली हात घर फर्किए।

‘छोराको अपाङ्ग भत्ताको नविकरणका लागि गएको थिएँ। कामै भएन,’ सावँदले भने, ‘वडामा ताला लागेको थियो, वडाध्यक्ष र सचिवले पनि फोन उठाएनन्।’

टंक र देवबहादुर मात्र होइन, वडा नम्बर १ का अधिकांश स्थानीयले वडा कार्यालयबाट पाउने सेवा पछिल्लो तीन सातादेखि प्रभावित भइरहेको  छ।

वडाध्यक्ष बडुवालले सामाजिक सुरक्षा भत्ताको लागि कार्ड नवीकरण गर्न भन्दै धामीसेनको विद्यालय र वडा नम्बर २ को कार्यालयमा घुम्ती शिविर राखेका छन्। धामिसेन वडा नम्बर १ मै रहेको धनरास नजिकैको गाउँ हो।

पुरानो कार्यालय भएको स्थान धनरासमा पुग्न बाटो लगायतका समस्या भएकाले तत्कालका लागि आफूहरूले दुई स्थानबाट काम गर्न लागेको बडुवालको भनाइ छ।

‘अदालतले साताबाट काम नगर भन्छ। पुरानै ठाउँ धनरास जान अहिले बाटो लगायतका समस्या छन्। कहिँ नेटवर्क छैन, कतै सोलार छैन,’ उनले भने, ‘पालिकाकै सल्लाहमा अहिले हामीले ती दुई ठाउँबाट काम गर्न लागेका छौँ। पछि केही व्यवस्था भए धनरासबाट नै सेवा दिने योजनामा छौँ।’

०००

वडा नम्बर १ का वडाध्यक्ष जिरक बडुवालले घरपायक पर्ने सातामा वडा कार्यालय सार्न गरेको सिफारिसलाई कार्यपालिका बैठकले स्वीकृत गरेपछि १७ गाउँमा स्थानीयको प्रतिनिधित्व गर्दै लछिराम आलेले वडाध्यक्षविरुद्ध उच्च अदालतमा मुद्दा दायर गरेका थिए।

साउन १५ गते उच्च अदालत सुर्खेतले चौकुने गाउँ कार्यपालिकाका नाममा कारण देखाऊ आदेश जारी गर्दै वडा कार्यालय सार्ने असार १० गतेको गाउँ कार्यापालिकाको निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गर्दै साउन २७ गतेसम्मका  लागि अर्को पेशी समेत तोकेको थियो।

साउन २७ गतेको पेशीमा गाउँ कार्यपालिकाबाट पारित असार १० को निर्णय, वडा नम्बर १ को सम्पूर्ण सिमाना खुल्ने अधिकार प्राप्त निकायबाट जारी नक्सा सहितको सक्कल फाइल पेश गर्न अदालतले आदेश दिएको थियो। तर सो पेशीमा पालिका र वडाले सोसम्बन्धी सक्कल कागजातहरू पेश गर्न सकेनन्।

त्यसपछि उच्च अदालतका न्यायधीशद्वय कृष्णलाल भट्टराई र मदन पोख्रेलको संयुक्त इजलासले साउन १५ गतेकै अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिँदै पुरानै स्थान अर्थात धनरासबाटै वडा कार्यालयको कामकाज गर्न आदेश दिएको थियो।

साउन २७ गतेको इजलासमा समेत अदालतले गाउँपालिका अध्यक्ष र वडाध्यक्षलाई अदालतको आदेश कार्यान्वयन नगरेकोमा झपारेको थियो। तर, उक्त आदेशपछि पनि वडा कार्यालय धनरासमा सारिएको छैन।

पाल्पाघाट, देवल, धामीसेन, तालागाउँ, जारिमे, सिमली, काप्रीकाँडा, पग, गैलु, चाहाबोट, केलाबोट, सोता, तोलीसेन, नेटेकाँडा, बडासेन, पोखरे, धनरास र साताको केन्द्र धनरासमा पर्छ।

सम्बन्धित समाचार:-

भदौ ५, २०८१ बिहीबार ११:०१:१५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।